+
+
साथीलाई पत्र :

समयले ‘तँ’बाट ‘तिमी’ बनाउँछ कि साथी ?

सुरज केसी सुरज केसी
२०७८ कात्तिक २८ गते १२:१२

प्रिय मित्र, सम्झना,

आज धेरै दिनपछि तँलाई सम्झेर लेख्दैछु । भनौं धेरै वर्षपछि । त्यसो त तेरो लागि कहिल्यै केही लेखिनँ, जन्मदिनमा फोटो सहितको एक दुइटा पोष्ट र संवादका बेलाको हाम्रा बोलीचाली बाहेक !

समयले हामीलाई कता पुर्‍यायो कता । ठाउँ फरक, परिवेश फरक, संघर्ष फरक, हुँदाहुँदा हाम्रा कथाहरू फरक हुँदैछन् । दिनचर्याका उठबसहरू फरक, तनावहरू फरक अनि फरक छ केही घण्टा समय पनि ।

पत्रको शुरुमा यति सहजै ‘तँ’ ले सम्बोधन गरिरहेछु, यही लेखिरहँदा पहिलो चोटि तँलाई गरेको ‘तिमी’ सम्बोधन याद भइरहेछ । जब घुलमिल भइयो, अनि असहजताका दिवारहरूमा भाइचारा र प्रेमको रङ्गिन बसन्ती लहराहरू फैलिन थाले, तब विस्तारै ‘तिमी’ असहज लागेर ‘तँ’ हलुका लाग्न थालेको थियो ।

उमेर, जिम्मेवारी, काम, दिनचर्या, संघर्षहरूबीच आएका दरार र फरकले कतै मलाई त्यही ‘तिमी’ सम्बोधनमा फर्काउने त होइन, शंका लाग्न थालेको छ। तँलाई मेसेन्जर र इन्स्टाग्राममा लेख्न नसकेर म शायद यो पत्र लेख्दैछु।

अझ यसरी बुझ्, तेरो र मेरो मित्रता बीचमा आएको यो एक भूगोल खाल्डोलाई म धमिलो मित्रता भोगिरहेका कैयौंको कथासँग जोड्न खोजिरहेको छु। तँ यसरी बुझ्, म यो सब लेखिराख्दा मेरो अघिको एस्ट्रेलाई कैयौंपटक हल्लाइरहेको छु अनि धुवाँभरि रुमल्लिरहेका तेरो नाम लेखिएको सोचलाई एक पाना कापीमा उतार्न खोज्दैछु।

यो काम कहाँ सजिलो छ र यार, तेरो साइडमा बसेर गफिनु नै सजिलो । छतमा डुब्दै गरेको घाम हेर्दै एकअर्काका जटिल सपनाहरू सुनेकै ठीक । अनि रामपुर क्याम्पसको बाटो घुम्दै कुरा गर्दै खुट्टा दुखाउनु नै रमाइलो ।

ब्याचलरका ती दिनहरू जहाँ म केही लेखेर तँलाई केही केही सुनाउँथे अनि तँ सधैं उडाउँथिस्, म त्यही समय सम्झन्छु । अचेल समय नै कहाँ छ यार हामीसँग । मेसेन्जरमा पेन्डिङ मेसेजहरूको लाइन छँदै पो छ । हामी दुवैलाई त्यो लाइन मिलाउने फुर्सद पो कहाँ छ ?

समय त धेरै बितेको छैन, उमेर त त्यति घर्केको होइन, तर मित्रतामा आउने उतारचढावका बहावहरूमा म डुबेर एक फेर निराश किन नहोउ ? तँलाई यो लाइन पढ्दा दिमागमा ‘तँलाई गफाडी’ भनेर सामान्यीकरण गर्ने कुरा आउला । मलाई थाहा छ- हामी बदलिन थालेका छौं ।

तैंले ‘के छ ओइ’ भन्दा आफ्नो खास हाल बताउन मन नलागेर ‘ठीकै छ यार’ भनेर गफ हानेको विस्तारै पत्तो नपाउने भएको छस् । बेलुका ६ बजे गरेको फोनको घन्टी नसुन्ने भएको छस् । पटक पटक गरेका भ्वाइस मेसेजहरू नहेर्ने भएको छस् ।

मैले तँलाई नै पठाउँछु भनेर खिचेका तस्बिरहरू अनि गइरहेछस् मेरो पकडको परिधिबाट बिस्तारै पर, मलाई यो सब थाहा भइरहेको छ, तर मभित्रको इगोले मलाई ‘वोइ, सुन न यार, तँ नभए म म, रहन्न जस्तो लाग्छ’ भन्न दिंदैन, यसो भनिहाले मलाई कति कमजोर सोच्ला यस्तो लाग्छ।

छोड्दे साँच्ची यो सब कुरा । तेरो मास्टर्स पढाइ कस्तो चलिरहेछ, अहिलेका साथीहरूसँग मसँग जिस्किने जसरी दिल खोलेर जिस्किन्छस् कि हाँस्नको लागि हाँस्छस्, बोल्नको लागि बोल्छस् यार ?

ब्याचलर्सका अन्तिम दिनहरूमा आफू खुब साथी बनाउन सक्ने मान्छे लाग्थ्यो । मानौं ममा कुनै अलौकिक मित्र बनाउने गुण छ, तर बिस्तारै थाहा पाउँदैछु । कति साथीहरूलाई समयले तानेर लैजाँदो रहेछ, कतिलाई जिम्मेवारीले बाँधेर अमूक बनाउँदो रहेछ, कतिलाई प्रेमले पन्छी बनाएर उडाएर टाढा पुर्‍याउँदो रहेछ ।

कतिलाई प्रगतिका बाछिटाहरूले छुन नमिल्ने गरी माथि पुर्‍याइदिंदो रहेछ । अनि कतिलाई हेर्न चिसोपनले तेरो र मेरो सम्बन्ध जस्तो बरफ बनाउँदो रहेछ।

सरल जिन्दगी, थोरै नातेदार, अझै थोरै साथीहरूबीचको मेरो सानो संसारलाई म किन सम्पादन गर्न सकिरहेको छैन, कहिलेकाहीं दिक्दारीले मन पोल्छ ।
मैले कैयौं रात तेरो मेरो ब्याच्लर्स दिन सम्झिंदै पफहरू भ्याएको छु । कैयौं केस्राहरू लेख्दै नोटबुकहरू बुढा भएका छन् । कैयौं पल यो चिसोपनलाई तताउने जुक्तिहरू बारे मनोविचारी बन्न प्रयत्न गरिरहेको छु, तर तँलाई यी सबबारे केही थाहा पनि छ र ? वा तँलाई कहिले लाग्छ, म तेरो बारे सोचेर केही लेख्दैछु ?

तँलाई त म घमण्डी लाग्न थालेको छ साथी किनकि म तेरो फर्मल बोलीचालीमा पुरानो मेरो साथी भेटाउन छोडेको छु । तेरो हरेक व्यस्त दिनका बीच मैले चियाउने तेरा पलमा मैले हाम्रा सुखदुःख कम, तेरो कार्य व्यस्तताका निन्याउरो अनुहार बढी देख्दैछु।

मेरो ड्याडी भन्नुहुन्थ्यो- ‘तँ ठूलो भइस् केटा, अब गम्भीर नभए कहिले हुन्छस् ।’ तेरो नजिक आफूलाई पाउँदा जहिले मदहोसी, उच्छृंखल र बेप्रवाही बढी पाउँथें !

अचेल ड्याडीको गम्भीर केटो त म भैसकेको छु, तर रङ्गिन मन, हावाको वेग बोकेका सपनाहरू, आवारा सुन्दर इच्छाहरू एकदम कम छन‌् मसँग।
परिपक्व भएर जिन्दगी सुखी हुन्छ लाग्थ्यो । गम्भीर भएर दिनरात व्यवस्थित हुन्छ लाग्थ्यो । तर, खोलाको ढुङ्गा माटोमा रमाउने बहावलाई, पाइपमा भरेर शहरी छतमा बगाउँदा कहाँ त्यो निश्चल पागलपन भेटियोस् ।

म त्यही खोली भएको छु । सम्झिन्छु हाम्रा एक्कासी बन्ने योजना, कल्पनालाई यथार्थ बनाउन कति निमेष नखर्चिने हाम्रा रमाइला रङ्गिन सन्ध्याहरू, कहिल्यै नसकियोस् लाग्ने रातहरू !

अचेल योजनाहरू बन्दैनन्, सन्ध्याहरू अल्छीपनामा अल्झिएरै बित्छन्, रातहरू मध्यरातमै बिहानी जस्तो लाग्छन् ।

तँसँग छुटेपछि तँ जस्तो तँ पाउन सकिनँ, म जस्तो म पाउन सकिनँ । प्रिय साथी के तैंले, खाजा टाइममा पिउने चियाका चुस्कीहरूमा मलाई मिस गर्छस् ? रामपुर क्याम्पसको पश्चिमी गेटबाट निक्लिंदै गर्दा हामीले रमाइलो गर्ने रोज क्याफेमा के मेरो झझल्कोले तँलाई अझै सताउँछ ?

कि ‘ह्या जिन्दगीमा कालो गए गोरो आउँछ’ भन्ने सम्झिंदै त्यही बाटोमा तैंले बाइक एकचोटि बेस्सरी घुईंक्याउँछस् अनि मलाई बिर्सेको बेहिसाब अभिनय गर्छस् ?

फ्र्याङ्कफर्ट, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?