+
+

‘द भ्वाइस किड्स’लाई दर्शकको सुखद् प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १४:१७

६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को प्रसारण शुरु भएको छ । शुक्रबार र शनिबार बेलुका ८ बजेदेखि हिमालय टीभीमा प्रसारण हुने शोको अहिले ‘ब्लाइन्ड अडिसन’ भइरहेको छ ।

‘ब्लाइन्ड अडिसन’को दुई भागमा १३ जना बालप्रतिभाले आफ्नो प्रस्तुति दिएका छन् । जसमध्ये दुई जना सहभागी बाहिरिएका छन् ।

काठमाडौंकी सात वर्षीया श्रेयशी आचार्यले ‘ब्लाइन्ड अडिसन’मा पहिलो प्रस्तुति दिएकी थिइन् । ‘कुसुमे रुमाल’ बोलको गीत गाएकी उनको प्रस्तुतिमा कोच राजु (राजु लामा) र कोच प्रविशा (प्रविशा अधिकारी) टर्न गरेका थिए । श्रेयशीले कोच प्रविशालाई रोजिन् ।

त्यस्तै, सुनसरीका १२ वर्षीय संयोग घिमिरेले ‘ब्लाइन्ड अडिसन’मा ‘संगी’ बोलको गीत गाए । उनको प्रस्तुतिमा प्रमोद खरेल, प्रविशा र मिलन नेवारले टर्न गरेका थिए । संयोगले कोच मिलनलाई रोजेका छन् ।

काभ्रेकी ८ वर्षीय प्राप्ति तामाङले ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीत गाउँदा प्रमोद, राजु र मिलन घुमेका थिए । प्राप्तिले कोच राजुलाई रोजिन् ।

झापाकी ९ वर्षीय अनुजा कडरियाले ‘कहिलेकाहीं मलाई पनि’ गाउँदा प्रमोद, मिलन र टिम प्रविशाको कुर्सी घुमेको थियो । अनुजाले कोच प्रविशालाई रोजिन् ।

‘ब्लाइन्ड अडिसन’को दोस्रो एपिसोडमा बाजुराका ९ वर्षीय सुप्रिम मल्ल ठकुरीले ‘नदेखिन्या घाउ लाग्छ’ गाउँदा चारैजना कोचको कुर्सी घुमेको थियो । सुप्रिमले कोच राजुलाई रोजेका छन् ।

ब्लान्ड अडिसनमा ललितपुरका १३ वर्षीय डेबिट खनालले ‘तिमी नै हौं’ गीत गाए ।  उनको प्रस्तुतिमा प्रमोदबाहेक अन्य कोचहरुको कुर्सी घुम्यो । डेबिटले कोच प्रविशालाई रोजेका छन् । काभ्रेकी ९ वर्षीया उपमा थपलियाले ‘खुट्टा तान्दै गर’ गाइन् । उनलाई कोच मिलनले आफ्नो टिममा ल्याइन् ।

काठमाडौंका १४ वर्षीय प्रभात सेढाइँले ‘देखन चम्पा’ गाउँदा कोच प्रमोद र कोच प्रविशाको कुर्सी घुम्यो । प्रभातले कोच प्रमोदलाई रोजेका छन् । यसैगरी काभ्रेका १० वर्षीय हिल्सन विक्रम केसीले ‘सम्बोधन’ गीत गाउँदा कोेच प्रमोद घुमेका थिए । ललितपुरका ११ वर्षीय शुभम निरौलाले ‘विस्तारै विस्तारै डुब्दैछु’ गाउँदा कोच मिलन टर्न गरिन् ।

यस्तै दैलेखकी ८ वर्षीया तेरेशा विश्वकर्माले ‘किनिदेउन साइँला’ बोलको गीत गाउँदा कोच मिलन घुमिन् । उनी कोच मिलनको टिममा हुनेछिन् ।

नेपालको पहिलो ‘द भ्वाइस किड्स’मा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा छन् । ‘ब्लाइन्ड अडिसन’बाट चारैजना कोचले आफ्नो १२ जनाको टिम तयार पार्नेछन् । त्यसपछि शो ‘ब्याटल राउण्ड’मा प्रवेश गर्नेछ । जहाँ प्रत्येक कोचले ‘ब्लाइन्ड अडिसन’बाट लिएका आफ्ना १२ प्रतिभालाई ३–३ जना गरी चार समूहमा विभाजन गर्नेछन् । तीन जनामध्ये एक जना मात्र लाइभ शोमा प्रवेश गर्नेछन् । ‘द भ्वाइस किड्स’मा नकआउट, स्टिल, वाइल्ड कार्ड नहुने जनाइएको छ ।

लाइभ शोमा पुग्दा प्रत्येक कोचसँग ४–४ जना प्रतिभा हुनेछन् । लाइभ शोमा पुगेपछिको निर्णय दर्शकको भोटमा हुनेछ । ‘ब्लाइन्ड अडिसन’का दुई भाग प्रसारणमा शोलाई निकै सकारात्मक प्रतिक्रिया आएका छन् । युट्युबमा पहिलो भागलाई दुई दिन नपुग्दै १० लाख भन्दा बढी दर्शकले हेरेका छन् भने दोस्रो भागलाई १७ घण्टामा झण्डै ७ लाख दर्शकले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?