+
+

देउवा : अब पास–पास, पौडेलको प्रतिवाद : कति दिन भागेर हिँड्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २३:४२

२८ कात्तिक, काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा क्रियाशील विवाद पूर्ण रुपमा हल भएको छैन । रौतहटका नेता कार्यकर्ता ११६ दिनदेखि सानेपामा जारी राखेको अनसनकै कारण केन्द्रीय कमिटी बैठक, पार्टी कार्यालयको साटो सभापति शेरबहादुर देउवाको निवासमा बस्यो ।

बूढानीलकण्ठमा दिउँसो एक बजे बस्ने भनिएको बैठक साँझ पाँच बजेपछि मात्रै सुरु भएको थियो । प्रमुख नेताहरुबीच सहमति जुटेपछि सुरु भएको बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले महाधिवेशन मूल आयोजक समिति गठन, प्रदेश अधिवेशनका लागि सातै प्रदेश संयोजक तोक्ने लगायतका एजेण्डा पेश गरे ।

नेताहरुले भने न्यायपालिकामा देखिएको विवाद, सत्ता गठबन्धनका शीर्ष नेताहरु सम्मिलित समन्वय समितिको औचित्यदेखि चुनावी तालेमलबारे पनि प्रश्न उठाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने क्रियाशील सदस्यता विवादबारे सवाल उठाएका छन् । उनले पार्टी सभापति देउवाकै गृहजिल्लाको विवाद र पार्टी कार्यालय सानेपामा जारी अनसनको समाधान खोज्न सभापतिको ध्यानाकर्षण गराए ।

करिव तीन घण्टा चलेको बैठकको अन्तिममा सभापति देउवाले एजेण्डा पारित गर्न आग्रह गर्दै भने, ‘अब पास–पास ।’ तर वरिष्ठ नेता पौडेलले प्रतिवाद गरे ।

उनले सानेपामा रौतहटका केही नेता–कार्यकर्ताले जारी राखेको अनसन र डडेल्धुरा जिल्लाको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि सानेपामा अनसन छन् । हामी भागेर बूढानीलकण्ठमा बैठक बसेका छौँ । तपाईकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा धर्नामा बस्ने भन्दैछन् । मैले भनेर हुने होइन, तपाईंको जिल्लाको कुरा हो,’ पौडेलले भने, ‘कति दिन भागेर हिँड्ने ? यी समस्या कसरी टुंगो लगाउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? खाली पास–पास मात्र भनेर हुन्छ ?’

बैठकमा सहभागी एक नेताका अनुसार पौडेलले क्रियाशील सदस्यता विवाद थाँती राखेर बैठक टुंग्याउन नहुनेमा जोड दिएका थिए । लगत्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बोले । उनले महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा क्रियाशील सदस्यता विवाद झिक्नु उचित नहुने बताए । ‘तोकिएको समयममै महाधिवेशन गर्न हो भने थप विवाद गर्न छोडौं, हामीसँग समय छैन,’ उनले भने, ‘महाधिवेशन गराउने एजेण्डामा सबै केन्द्रीत हौं ।’

तेस्रो धार भनिएको समूहका नेता सिटौलाको पनि साथ पाएपछि सभापति देउवाले पौडेलको ध्यानाकर्षण सम्बोधन गरेनन् र, केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।

बैठकले गरेका निर्णयहरु

कांग्रेसले २४–२६ सम्म काठमाडौंमा हुने१४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता लगायत सदस्य रहनेछन् ।

यस्तै प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । प्रदेश एकको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश दुईको संयोजकमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई दिइएको छ ।

महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी दिएको छ भने मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरी समिति बनाइएको छ । प्रचार प्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ ।

स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरूङलाई दिइएको कांग्रेसका एक नेताले बताए । कांग्रेसको महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने भएपनि निर्वाचन प्रक्रिया भने मंसिर २१ गते सुरु हुने छ । केन्द्रीय समितिले २१ गते कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । मंसिर २५ गते मतदान हुने जनाइएको छ ।

त्यस्तै कांग्रेसको आसन्न महाधिवेशनले नेतृत्व चयन मात्रै गर्नेछ भने नीति तथा कार्यक्रम तय गर्न नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?