+
+

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ७:११

२९ कात्तिक, काठमाडौं । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

सार्वजनिक बिदा

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।

यसैगरी हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक विदा दिएका छन् ।

हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?