+
+

मकवानपुरमा सवारी दुर्घटना बढेपछि नियन्त्रणको पहल थालियो

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक ३० गते ९:५३

३० कात्तिक, वीरगञ्ज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ बस्तीपुरमा कात्तिक २० गते राति सडक छेउको एक घरमा देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिंदा दुई जनाको मृत्यु भयो । दुर्घटनामा पाँचजना घाइते भए भने दुईवटा मोटरसाइकलमा पनि क्षति पुग्यो ।

आक्रोशित समूहले बसमा आगजनी गरे । आगो नियन्त्रणमा लिन गएको हेटौंडा उपमहानगरपालिकाको दमकलमा स्थानीयले आक्रमण गर्दा चालकको बायाँ घुँडामा चोट लाग्यो । सो समूहलाई रोक्न खोज्ने प्रहरीमाथि पनि स्थानीय जाइलागे । ढुंगा प्रहारबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको चिउँडोमा चोट लाग्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपर्यो ।

स्थानीयले अवरुद्ध गरेको सडक राति १२ः४० मा मात्रै खुल्यो । प्रहरी माथी ढुङ्गा प्रहार गरी बाटो बन्द गराउने कार्यमा संलग्न रहेको आरोपमा हेटौडा-१९ बस्ने ३२ वर्षीय सुनिल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लियो । कात्तिक २१ गते बिहान थप ३ जना सोही दुर्घटनामा घाइते भएको भनी उपचारका लागि चुरेहिल अस्पताल पुगेको प्रहरी रेकर्डमा उल्लेख छ ।

*** ***

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नै हेटौंडा-११ नवलपुरमा कात्तिक २४ गते राति साढे १२ बजे अर्को दुर्घटना भयो । जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना.७ ख ८७६ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०३००१ ख ५०३५ नम्बरको ट्रक आपसमा ठोक्किंदा धनुषाको अरौही गाउँपालिका-३ बस्ने २४ वर्षीय सोभित सहानी र काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बस्ने ३४ वर्षीय सरोज परियारको मृत्यु भयो । परियार बसका चालक थिए । १८ जना घाइते भए ।

*** ***

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डेका अनुसार सबैभन्दा बढी दुर्घटना मानवीय लापरवाहीका कारण हुने गरेको छ । सडक मर्मत नगर्ने, चालकले प्रयाप्त आराम नगर्ने, तीव्र गतिमा गाडी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने, यान्त्रिक गडबडी लगायतका कारण दुर्घटना हुने गरेको प्रहरीको निष्कर्ष छ ।

पाण्डेका अनुसार दुर्घटना हुनुमा सडक विभाग आफैं पनि जिम्मेवार छ । ‘सडक विभागको लापरबाहीले गर्दा पनि दुर्घटना भएको हामीले पाएका छौं,’ उनले भने, ‘खाल्डाखुल्डी पुर्न भनेर लगेको गिट्टी बालुवा सडक किनारमा नै राखिदिन्छन् । रातको समयमा चालकले नदेखेर गाडी अनियन्त्रित भएर दुर्घटना हुन्छ ।’

मकवानपुरमा सवारी दुर्घटनाको स्थिति

आर्थिक वर्ष    सवारी दुर्घटना  मानिसको मृत्यु गम्भीर घाइते  गम्भीर घाइते 
२०७४/०७५ ६८ ५८ ३५ ३५
२०७५/०७६ १०९ ५३ ९६ ९६
२०७६/०७७ १२० ६९ ९४ ९४
२०७७/०७८ २५० ६० १७४ १७४
२०७८/०७९ हालसम्म ९६ १९ ५६ ५६
स्रोत : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर

विभिन्न कारणले तिहारपछि मात्रै मकवानपुरको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनयता कात्तिक २५ गतेसम्म १९ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

सवारी दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्यसलाई रोक्ने पहल थालेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यही कात्तिक २५ गते सरोकारवालाको संयुक्त बैठक बोलाएर टाइमकार्ड लागू गर्ने, सडक फर्निचरको व्यवस्था गर्ने, चालकले मापसे वा लागूपदार्थ सेवन गरे/नगरेको जाँच गर्ने, अटो/ईरिक्सालाई व्यवस्थित रुपमा सन्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

भैंसे-भीमफेंदी-कुलेखानी खण्डमा टाइम कार्ड

भैंसे-भीमफेदी-कुलेखानी-फाखेल/सिस्नेरी सडक खण्डमा साना सवारीको चाप बढी छ । गढी देउरालीसम्म उकालो र कुलेखानीसम्म ओरालो बाटो छ । घुम्ती बढी छन् । पक्की बाटोमा टाटा-सुमो, लोकल बस मात्रै नभएर निजी सवारी साधनको आवागमन बढी हुन्छ । वीरगञ्ज, हेटौंडा, कलैया, चपुर लगायत विभिन्न स्थानबाट सयौंको संख्यामा टाटासुमो काठमाडौं लागि छुट्छन् । सुमोको हकमा टाइम कार्ड लागू गर्ने निर्णय बिहीबारको बैठकले गरेको छ ।

यातायात व्यवस्था कार्यालय, हेटौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आवश्यक समन्वय गरी समय निर्धारण गर्ने, टाइम कार्ड सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले व्यवस्था गर्ने र तत्काल लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसले सवारीको गति सीमित गराउने प्रजिअ पाण्डेको विश्वास छ ।

हेटौंडादेखि कुलेखानी, चित्लाङ चल्ने लोकल बसमा यात्रुको चाप बढी हुने गरेको छ । सवारी साधन सीमित भएका कारण एउटै बसमा कोचिएर यात्रा गर्न सर्वसाधारण बाध्य छन् । तर प्रहरीले क्षमता भन्दा बढी यात्रु ओसारेको भन्दै जरिवाना लिएर छोड्ने गरेको छ । जरिवाना गरेपछि अर्को सवारी साधनमा यात्रु व्यवस्थापन गर्नुपर्नेमा त्यसो गरिँदैन । हेटौंडा-भिमफेदी चल्ने सवारीसाधनमा भने जति यात्रु राखेपनि कारबाही नगर्ने गरिएको स्थनीयले बताएका छन् ।

मापसे गरे/नगरेको जाँचिने

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले मादक पदार्थ सेवन चेकजाँच कार्यलाई नियमितरूपमा कडाइकासाथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । मापसे मात्रै नभएर लागु औषध सेवन गरे नगरेको जाँच गर्ने गरी तयारी थालिएको प्रजिअ पाण्डेको भनाइ छ । ‘एन्टी ड्रग किट’ जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई उपलब्ध गराउन यातायात व्यवसायी कम्पनी सहमत भएका छन् ।

चेकजाँच गर्न आवश्यक पर्ने उपकरण हेटौंडा उपमहानरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, सडक डिभिजन कार्यालय, पुरानो नारायणी यातायात र नयाँ नारायणी यातायात कम्पनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने छन् ।

सडकमा फर्निचर लगाइने, लामो दुरीमा २ जना चालक अनिवार्य

सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ती, ट्राफिक संकेत तथा चिह्नहरू लगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्ता चिह्नले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सडक डिभिजन कार्यालय, मकवानपुर र स्थानीय तहहरूसँग समन्वय गरेर ‘रोड फर्निचर’ लगाउने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ । ‘सडक डिभिजनसँग रोड फर्निचरकै लागि ४० लाख रुपैयाँ बजेट रहेछ,’ प्रजिअ पाण्डेले भने ‘ट्राफिकसँग समन्वय गरेर आवश्यक ठाउँमा ट्राफिक संकेत चिह्न लगाउन भनेका छौं ।’

त्यस्तै बैठकले लामो दूरीका सवारी साधनहरूमा अनिवार्यरूपमा २ जना सवारी चालक राख्ने व्यवस्था मिलाउन सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूलाई निर्देशन दिएको छ । ट्राफिकले यातायात कम्पनीले २ जना सवारी चालक राखे/नराखेको बारे नियमित अनुगमन गर्नेछ । चालक तथा सहचालकलाई ३/३ महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रममा सहभागी हुन भनिएको छ ।

ई-रिक्सा र अटो व्यवस्थापनका लागि अध्ययन

हेटौंडा बजार क्षेत्रमा ई-रिक्सा र अटो मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र व्यवस्थितरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा अध्ययनका लागि ६ सदस्यीय उपसमिति बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा गठित उप-समितिले अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । बजार क्षेत्रमा ई-रिक्सा र अटोका कारण अत्यधिक भिडभाड बढेकाले व्यवस्थापनका लागि प्रयास थालिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?