+
+

सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए, नियमित मुद्दाको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १३:०८
नियमित इजलासमा फर्किएका न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्मा

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ ।

न्यायाधीश कुमार चुडाल र मंगलबार नियमित मुद्दाको सुनुवाइमा फर्किएका चार न्यायाधीशले सोमबार मात्र असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने घोषणा गरेका थिए । तर उनीहरु नियमित इजलासमा फर्किने वा नफर्किने टुंगो थिएन ।

मंगलबार प्रधानन्यायाधीश जबराले अरु न्यायाधीशको समूहबाट अलग भएका न्यायाधीशलाई नै राखेर इजलास गठन गरेपछि उनीहरु काममा फर्किएका हुन् । न्यायाधीश श्रेष्ठ र शर्माको इजलासले सवारी ज्यान, मोही कायम, मोही नामसारीलगायतका मुद्दाको सुनुवाइ गरेको छ ।

न्यायाधीश केसी र रेग्मीको इजलासले प्रजिता थापा रायमाझी वादी र सोहन थापा प्रतिवादी भएको लिखत बदरसम्बन्धी मुद्दा र त्यसैसँग सम्बन्धित अरु मुद्दाहरु सुनुवाइ गरेको छ ।

असन्तुष्ट समूहबाट अलग भएका अर्का न्यायाधीश कुमार चुडालको भने न्यायाधीश प्रकाशकुमार ढुंगानासँग संयुक्त इजलास तोकिएको छ । दुबै न्यायाधीश नबसेसम्म संयुक्त इजलास सञ्चालन हुन सक्दैन । सर्वोच्चका अरु न्यायाधीशहरु भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने अडानमा यथावत नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?