+
+

बन्द गर बन्दहरू !

डा.राजु अधिकारी डा.राजु अधिकारी
२०७८ कात्तिक ३० गते १४:२३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धको बहानामा नेकपा विप्लव समूहले कात्तिक २५ गतेदेखि विभिन्न विरोधका कार्यक्रम गरिरहेको छ र त्यसको उत्कर्षमा कात्तिक ३० गते अन्तिम दिन नेपाल बन्दको घोषणा गरेको छ ।

यो आलेख लेख्दासम्म देशका विभिन्न स्थानबाट बन्दको प्रभावका समाचारहरू आउन शुरु गरिसकेका छन्। हिंसात्मक पृष्ठभूमिबाट आएको विप्लव समूहले आह्वान गरेको बन्द भएको हुनाले यसको प्रभाव अवश्य देखिनेछ भनेर आकलन सजिलै गर्न सकिन्छ। प्रभाव जस्तो भए पनि त्यो प्रभाव नेपाल बन्दको समर्थनमा भन्दा पनि डर र धम्कीका कारणले हुनेछ भन्दा अत्युक्ति हुँदैन।

नेपालमा नेपाल बन्दको प्रयोग पहिलो पटक २०३६ सालमा निर्दलीय पञ्चायत व्यवस्थाको विरोधमा शुरु भएको आन्दोलनले गरेको थियो। त्यही आन्दोलनको प्रभावले राजाले जनमत संग्रहको घोषणा गरे। २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनाको लागि गरिएको आन्दोलनमा पनि तत्कालीन राजनैतिक शक्तिहरूले नेपाल बन्दको भरपुर प्रयोग गरे र त्यसले उनीहरूलाई प्रतिफल पनि दियो- प्रजातन्त्र पुनःस्थापना भयो ।

त्यसपछि नेपालबन्दको प्रतिफलले हौसिएका राजनैतिक दलहरूले २०४६ साल यता यसलाई अन्धाधुन्द रुपमा प्रयोग (दुरुपयोग) गरे र पछि गएर यसले निकै विकृत रुप लियो। राजनैतिक दलहरू मात्र नभएर उनीहरूका भ्रातृ संगठनहरू, विद्यार्थीहरूले पनि यसको पूरापूर दुरुपयोग गरे। जायज हुन् या नाजायज हुन्, साना हुन् या ठूला हुन्, आफ्ना मागहरू पूरा गर्नको लागि राजनीतिमा सजिलो अस्त्र बन्यो- नेपाल बन्द।

जुनसुकै मागमा पनि सरकारले आफ्नो कुरा सुनेन भने तुरुन्त नेपाल बन्द हुन थाल्यो। त्यसले नेपालको शासन व्यवस्था र राजनैतिक संस्कारमा विकृति त ल्यायो नै, त्यसको सबभन्दा ठूलो मारमा चाहिं देशको अर्थतन्त्र पर्‍यो र त्यसबाट सबभन्दा प्रभावित गरीब जनता भए।

नेपालमा हरेक दिन काम गरेर त्यो दिनको छाक टार्ने मान्छेहरू धेरै छन्। शहरमा त झन् त्यो जनसंख्या मनग्ये छ। नेपाल बन्दको सबभन्दा प्रभाव पर्ने भनेको पनि शहरमा नै हो। दिनभरि भारी बोकेर, ज्यालादारी काम गरेर, सडक किनारामा पसल थापेर, ठेलागाडामा तरकारी र फलफूल बेचेर त्यसैको आम्दानीबाट साँझ चामल र तरकारी किनेर परिवार पाल्नेहरूको लागि नेपाल बन्दले हातमुख जोड्ने बाटो बन्द गरिदिन्छ।

नेपाल बन्दको सोझो असर पर्ने अर्को संस्था हो स्कूल। स्कूल बन्द हुँदा विद्यार्थीको पढाइमा सोझो असर पर्ने नै भयो। स्कूल जान नपर्दा अधिकांश विद्यार्थी त खुशी नै होलान् तर अहिलेका विदयार्थी भोलिका देशका भविष्य हुन् र उनीहरूलाई विद्यालय जानबाट वञ्चित गरेर नेपाल बन्दकर्ताहरूले देशको भविष्यलाई अन्धकारतर्फ धकेलिरहेका हुन्छन्।

नेपाल बन्दको सोझो असर हुने अर्को महत्वपूर्ण क्षेत्र भनेको अर्थतन्त्र हो। सामान्य जनताको लागि यसले त्यति धेरै अर्थ नराख्ला तर देशको समग्र विकासमा यसको सबभन्दा ठूलो भूमिका रहन्छ। एकदिन कारखाना बन्द हुँदा ठूला कारखानाहरूले लाखौं, करोडौं गुमाउनुपर्ने हुनसक्छ। नेपाल बन्दको कारण कारखानामा आउन नसक्ने स्थायी कर्मचारी र मजदूरहरूलाई साबिक बमोजिम नै तलब दिनुपर्ने हुन्छ। यसो हुँदा उत्पादकत्व घट्छ र लागत बढ्छ।

स्वदेशी उत्पादकत्व घट्दा, कारखाना घाटामा जाँदा स्वभावैले कारखाना संचालकहरू आफ्नो कारखाना बन्द गर्न बाध्य हुन्छन्। यसले एकातिर देशमा बेरोजगारी बढाउँछ भने अर्कोतिर स्वदेशमै उत्पादन गर्न सकिने सामानहरू महँगो विदेशी मुद्रा तिरेर विदेशबाट आयात गर्न बाध्य पारेर देशलाई परनिर्भरतातर्फ धकेल्छ। त्यति मात्र हैन पटक-पटकको बन्दले गर्दा विदेशी लगानीकर्ताहरू पनि नेपालमा लगानी गर्न हिच्किचाउँछन् र समग्रमा देशको आर्थिक अवस्था दिन प्रतिदिन जर्जर हुँदै जान्छ।

नेपालमा २०४६ सालयता भएको यही नै हो। पटक–पटकको बन्द, द्वन्द्व र राजनैतिक अस्थिरताले गर्दा भएका उद्योगहरू बन्द भए, नयाँ उद्योग खोल्ने आँट व्यापारीहरूले गरेनन्, विदेशी लगानी पलायन भयो, रोजगारी स्वात्तै घट्यो, उत्पादनमूलक युवा जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भयो र आर्थिक परनिर्भरताको दुष्चक्र शुरु भयो।

आफ्नो शक्ति प्रदर्शनको लागि, सरकारलाई दबाव दिनको लागि गरिने यस्ता बन्दहरू जुन दलले, जुन संगठन या जुन समूहले गरे पनि कुनै दृष्टिकोणबाट पनि ठीक छैन। जसले जति धेरै नेपाल बन्द गर्छ, ऊ त्यति धेरै नै जनतामाझ अलोकप्रिय हुने निश्चित छ। त्यसैले नेपाल बन्द स्वयं बन्द आह्वानकर्ताको लागि पनि प्रत्युत्पादक छ।

माथि उल्लिखित मुख्य तथा दूरगामी प्रभावहरू बाहेक नेपाल बन्दका अन्य असरहरूको बारेमा कुरा गर्दा सरकारी कार्यालयमा आउने सेवाग्राहीहरू र तुरुन्त अस्पताल पुर्‍याउनुपर्ने बिरामीहरू पनि पर्छन्। मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय जस्ता अत्यन्त व्यस्त कार्यालयहरू बन्द हुँदा सेवाग्राहीलाई मात्र असर गर्ने हैन देशको राजश्व संकलनमा पनि असर गर्छ।

त्यस्तै बन्दले गर्दा अस्पताल जान नपाएर सुत्केरी र सिकिस्त बिरामीहरूले ज्यान समेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। हुन त बन्द आह्वानकर्ताहरूले दमकल र एम्बुलेन्स जस्ता सवारी साधनमा रोक नलगाउने भन्छन् तर बन्दको समयमा एम्बुलेन्समा पनि तोडफोड र आगजनी भएका समाचारहरू हामीले देखे, सुनेकै छौं। अधिकांश गाउँमा एम्बुलेन्सको सुविधा हुँदैन, अलिकति ठूलो बिरामी हुनासाथ सार्वजनिक सवारी साधनबाट शहरको अस्पताल जानुपर्ने बाध्यता छ।

एम्बुलेन्सको सुविधा भैहाले पनि त्यसको महँगो शुल्क तिर्न सक्ने क्षमता सबैसँग हुँदैन। सार्वजनिक सवारी साधन बन्द हुँदा कतिपयले आफ्नै मोटरसाइकलमा बिरामीलाई अस्पताल पुर्‍याउन बाध्य हुन्छन्। तर बन्दकर्ताहरूले चाहिं बन्दको बेला मोटरसाइकल चलाएको भनेर मोटरसाइकल नै तोडफोड गरिदिन्छन्। रुँदा कराउँदा, बिन्ती गर्दा पनि नछोड्ने विकृत र पापी क्रियाकलापहरू हामीले पटक-पटक देखेका भोगेका छौं।

त्यसरी गरिएको जनधनको क्षतिको क्षतिपूर्ति न त बन्द आह्वानकर्ताले दिन्छन् न त सरकारले नै दिन्छ। त्यति मात्र हैन बन्दको नाममा गरिने कुटपिट र आगजनी जस्ता जघन्य अपराधहरूमा दलका कार्यकर्ताहरूलाई दोषी ठहर्‍याएर कार्वाही गर्न पनि सरकारले सामर्थ्य देखाउँदैन किन भने ती अराजक कार्यकर्ताहरूलाई दलको संरक्षण हुन्छ। त्यसैले अत्यावश्यक र जीवनमरणकै सवाल बाहेक आफ्नो सम्पत्ति र जीउज्यानलाई जोखिममा पारेर कसैले पनि बन्दको अवज्ञा गर्ने हिम्मत गर्दैन। यसरी डर र त्रासको कारण भएको बन्दलाई बन्दकर्ताहरूले चाहिं सफलताको रुपमा मापन गर्ने माध्यम बनाएका छन्।

बन्दकर्ताहरूले त बन्द घोषणा गरे भैहाल्यो। उनीहरूका अन्धभक्त कार्यकर्ताहरूले अराजकता अपनाएर पनि जसोतसो बन्द सफल गराउँछन्। न त उनीहरूको चुल्होमा आगो बल्न रोकिन्छ, न त उनीहरूको दैनिक आम्दानीमा नै असर पर्छ। तर बन्दको सोझो मारमा पर्ने त सबै सामान्य जनता नै हुन्। त्यसैले नेपाल बन्द जनताको नाममा गरेको भन्दै उनीहरूले जनतालाई नै दुख दिइरहेको जगजाहेर छ।

राजनैतिक मागहरू पूरा गर्ने र आफ्नो प्रभाव देखाउन प्रयोग गरिने यस्ता बन्दहरू केही समयदेखि कम भएकोले जनताले ठूलै सुखद अनुभूति गर्न थालेका थिए। तर केही महीना अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्न अधिकांश नागरिकको इच्छा विपरीत प्रचण्ड र माधव नेपालको समूहले नेपाल बन्दको सहायता लियो र यो घृणित कार्यको पुनरावृत्ति गर्‍यो।

त्यो बन्दको बेलामा ट्याक्सी चलाएको भनेर एउटा ट्याक्सी पनि जलाइएको थियो। तर एकातिर ट्याक्सी जल्दै गर्दा बन्दकै दिन दिउसो प्रचण्ड चाहिं बन्दको निरीक्षण गर्न भनी गाडी चढेर पुगेका थिए। त्यो विषय निकै चर्चित पनि बन्यो तर पछि त्यत्तिकै सेलायो। त्यो घटनाले के पुष्टि गर्छ भने बन्द त खालि काम गरेर खाने सामान्य जनताको लागि मात्र हो। त्यसको असर नेताहरूलाई पर्दैन, उनीहरूले गर्वका साथ बन्दको निरीक्षण गर्न गाडी हुइँक्याएर जान पाउँछन्। प्रचण्ड र माधव समूहले त्यो बेला गरेको बन्द पछि अहिले फेरि विप्लव समूहले गर्न लागेको बन्दले पुनः नेपालमा बन्दको संस्कृति मौलाउन शुरु गरेको त हैन भन्ने भय सृजना भएको छ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि ठीक छैन त्यो सबै जनतालाई थाहा छ तर त्यो विषय सरकारसँग वार्ता गरेर या अन्य कुनै दबाव दिएर समाधान गर्न सकिने कुरो हो। त्यही निहुँमा पूरै नेपाल बन्द गरेर जनताको दैनिक जीवनमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने गरी जनतालाई नै दुख दिने काम कुनै पनि दृष्टिकोणबाट उचित देखिंदैन र यो घृणित कार्य कदापि स्वीकार्य पनि छैन। डर, त्रास र धम्कीका कारण नेपाल बन्दको प्रभाव देखिन सक्ला। तर त्यसले कदापि सामान्य नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न सक्दैन। आम नेपाली जनता नेपाल बन्दको विरुद्धमा छन्, नेपाली जनता नेपाललाई खुला राख्न चाहन्छन्।

शान्तिपूर्ण तरिकाले आफ्ना मागहरू राख्न पाउनु लोकतन्त्रमा सबैलाई अधिकार छ। तर देशलाई नै ठप्प पारेर आफ्ना मागहरू जबर्जस्ती पूरा गराउन खोज्नुलाई कदापि शान्तिपूर्ण मान्न सकिंदैन। त्यसैले नेपाल बन्दलाई अराजक र विध्वंसात्मक प्रदर्शनमा वर्गीकृत गरेर यसलाई गैरकानूनी गरिनु आवश्यक भैसकेको छ। कुनै पनि बहानामा गरिने नेपाल बन्द देशमाथिको गद्दारी हो, जनताको मर्ममाथिको प्रहार हो, जनचाहना विपरीत हो।

आफ्नो शक्ति प्रदर्शनको लागि, सरकारलाई दबाव दिनको लागि गरिने यस्ता बन्दहरू जुन दलले, जुन संगठन या जुन समूहले गरे पनि कुनै दृष्टिकोणबाट पनि ठीक छैन। जसले जति धेरै नेपाल बन्द गर्छ, ऊ त्यति धेरै नै जनतामाझ अलोकप्रिय हुने निश्चित छ। त्यसैले नेपाल बन्द स्वयं बन्द आह्वानकर्ताको लागि पनि प्रत्युत्पादक छ।

त्यसैले राजनैतिक दल, उनीहरूका भ्रातृ संगठनहरू या अन्य जुनसुकै समूह हुन् तिमीहरू यदि देश र जनताप्रति उत्तरदायी छौं भने, नेपाली जनताको भावनाको कदर गर्छौ भने, नेपालमा विकास र सुशासन चाहन्छौ भने सबै नेपाली जनताको एउटै आग्रह छ- बन्द गर यी बन्दहरू !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?