+
+

उपाधि रक्षा गर्ने मछिन्द्र क्लबको लक्ष्य

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ कात्तिक ३० गते १९:१५

३० कात्तिक, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब यस पटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ । अघिल्लो वर्ष नाम चलेका खेलाडी भित्र्याएर पहिलो पटक लिग उपाधि जितेको मछिन्द्रलाई त्यो साख जोगाउन चुनौती छ । यसवर्ष अघिल्ला वर्षका खेलाडी कायमै रहेका र नयाँ खेलाडी पनि थपिएकाले मछिन्द्रले उपाधिमा दावी गरेको छ ।

राष्ट्रिय टिममा चम्केका मनिष डाँगी, सुनील बल, छिरिङ गुरुङ र दिलेन लोक्तानलाई मछिन्द्रले अनुबन्ध गरेको छ । कप्तान विराज महर्जन, दीपक राई र एडेलेजा सोमिडेले भने क्लब छाडेका छन् । गत सिजन अन्तिम खेल मात्र खेलेका विमल घर्ती मगर पनि यस पटक मछिन्द्रबाटै खेल्दैछन् ।

यस्तै अजरवैजानका नोर्लाल नोभ्रुजोभ पनि टिममा अनुबन्ध भएका छन् । यसमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विशाल राई, अभिषेक रिजाल, सुजल श्रेष्ठ, रन्जित धिमाल, देवेन्द्र तामाङ, युवा खेलाडी रेजिन सुब्बाजस्ता नाम चलेका खेलाडी पनि मछिन्द्रमा छन् ।

प्रशिक्षक प्रवेश कटुवाल पनि उपाधि रक्षा गर्ने नै मुख्य लक्ष्य रहेको बताउँछन् । ‘निश्चय नै टार्गेट भनेको टाइटल डिफेन्ड नै हो । त्यही अनुसार नै हामीले धेरै खेलाडी अनुबन्ध गरेका छौँ । टिमको तयारी राम्रो छ’ उनले भने ।

प्रशिक्षक कटुवालले पछिल्लो पटक उपाधि जितेपनि यो पटक जित्न अझ गाह्रो हुने स्वीकार गरे । ‘सबै टिम उस्तै छ । अरु टिमहरु पनि मछिन्द्रलाई कसरी रोक्ने भनेर लाग्छन्’ उनले भने ।

अघिल्लो सिजन च्याम्पियन बनाउन सहयोग गरेका पिटर सेगुन र एडेलेजा सोमिडेले क्लब छाडेपनि आन्द्रे निया भने यस पटक पनि मछिन्द्रबाटै खेल्दैछन् । यस्तै गत बैशाखमा नेपाल सुपर लिग खेलेका अजरवैजानका नुर्लान नोभ्रुजोभलाई पनि मछिन्द्रले लिगका लागि अनुबन्ध गरेको छ । बाँकी दुई विदेशी खेलाडी भने अनुबन्ध हुन बाँकी छ । प्रशिक्षक कटुवालले एक जना नाइजेरियाबाट आउने र अर्को भारतीय खेलाडीसंग कुरा भइरहेको बताए ।

पछिल्लो पटक च्याम्पियन टिमका कप्तान विराज महर्जन यस पटक च्यासल युथ क्लब गएपछि मछिन्द्रको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् ।

चोटका कारण नेपाल सुपर लिग (एनएसएल) खेल्न नपाएका सुजलले राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेलेका थिए । राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडी रहेको र अनुभवी खेलाडीहरु रहेकोले पनि मछिन्द्र उपाधिको दाबेदारको रुपमा छ ।

घुँडाको शल्यक्रिया पछि मैदान फर्कने तयारीमा रहेका विमल घर्ती मगरको आगमनले पनि मछिन्द्रलाई सहयोग पुग्नेछ । विमलले पछिल्लो सिजन अन्तिम खेल मात्र खेलेका थिए । यस सिजन सुरुवातदेखि नै खेल्दै क्लबका लागि उपाधि दिलाउने लक्ष्य रहेको उनले बताइसकेका छन् ।

यस पटक अखिल नेपाल फुटबल संघ एन्फाले विकेन्डमा लिगका खेलहरु गर्ने तयारी गरेको छ । जस अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुनेछ । शुक्रबार र शनिवार साढे ४ बजेपछि दशरथ रंगशालमा हुने खेल फ्लड लाइटमा खेलाइनेछ ।

प्रशिक्षक कटुवालले यसलाई सकारात्मक रुपमा लिएका छन् । ‘फ्लडलाइटमा खेल्दा खेलाडीको लागि अन्तर्राष्ट्रिय खेलका लागि अनुभव पनि हुनेछ । यस्तै दर्शकहरु पनि चाँडै काम सकाएर लिग हेर्न आउन पाउनेछन् ।’

मछिन्द्र फुटबल क्लब

कप्तान : सुजल श्रेष्ठ

प्रशिक्षक : प्रवेश कटुवाल

पछिल्लो सिजनको पोजिसन : विजेता

लक्ष्य : च्याम्पियन बन्ने

हेर्न लायक खेलाडी : मनिष डाँगी

टिम :

गोलकिपर : विशाल श्रेष्ठ, सूर्य अधिकारी

डिफेण्डर : रजिन धिमाल, देवेन्द्र तामाङ, विजय धिमाल, छिरिङ गुरुङ, दिलेन लोक्तान

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, सुनील बल, आन्द्रेनिया

फरवार्ड : विमल घर्तीमगर, मनिष डाँगी, रेजिन सुब्बा, अभिषेक रिजाल, नुर्लान नोभ्रूजोभ

दुई विदेशी खेलाडी आउन बाँकी

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?