+
+

टेलिकमका एमडी अधिकारी फेरि प्रवन्धकमै फर्किने बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १९:३९
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारी फेरि कम्पनीमा प्रवन्धक पदमा फर्किन सक्ने भएका छन् । टेलिकमको कर्मचारी विनयमावलीमा भएको नयाँ संशोधनले हालका प्रवन्ध निर्देशकलाई फेरि साविककै पदमा फर्किन बाटो खुला राखिदिएको हो ।

अब विनियमावलीमा अधिकारीको कार्यकालपछि मात्र लागु हुने गरी प्रवन्ध निर्देशक पदमा काम गरेकाहरु तल्ला पदमा फर्किन नपाउने व्यवस्था गरिएको छ । साउन १ देखि नै लागू गरिएको विनियमावलीमा कर्मचारीले चित्त नबुझाएर आन्दोलन गरेका थिए । उनीहरुले प्रवन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमै थुनेका थिए भने कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

आन्दोलन टुंग्याउन कर्मचारीसँगको सहमतिअनुसार विनियमावलीमा फेरि संशोधन गर्न लोकसेवा आयोगमा स्वीकृति मागिएको थियो । पछिल्लोपटक लोकसेवा आयोगले स्वीकृत गरेको संशोधित विनियमावलीलाई टेलिकमको सञ्चालक समितिले पनि पारित गरेको छ ।

योसँगै राजनीतिक नियुक्तिबाट प्रवन्ध निर्देशक भएका अधिकारीलाई फेरि यसअघिकै १०औं तह (प्रवन्धक)मा फर्केर काम गर्न बाटो खुलेको छ । नियमावली अनुसार यसपछि नियुक्त हुने प्रवन्ध निर्देशकले भने अधिकारीले जस्तो सुविधा पाउने छैनन् ।

मन्त्रिपरिषदले अधिकारीलाई नियुक्त गर्दा भविष्यमा प्रवन्ध निर्देशकबाट पदमुक्त भए साविककै पदमा फर्किन सक्ने गरी कार्यविधि बनाएको थियो । ३ मंसिर, २०७५को मन्त्रिपरिषद बैठकले टेकिलमभित्रकै कर्मचारी प्रवन्ध निर्देशक बनेर कुनै कारणबस हट्नु परेमा साविककै पदमा फर्किनसक्ने गरी प्रवन्ध निर्देशक पदका लागि विज्ञापन गर्ने निर्णय गरेको थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकालमा टेलिकममा नियुक्त अधिकारीलाई प्रवन्ध निर्देशकपछि प्रवन्धक पदमा फर्किन सक्ने व्यवस्था गरिएकोमा युनियनहरुको असन्तुष्टि थियो । विगतमा पनि प्रवन्ध निर्देशक भएका व्यक्ति पुरानो पदमा नफर्काएकाले अब पनि सो परम्परा कायम रहनुपर्ने काम युनियनहरुले गरेका थिए ।

तर, एक पटकका लागि मात्रै लागु हुने गरी विनियमावली बनेको छ । आगामी पुस २२ सम्म अधिकारी प्रवन्ध निर्देशक रहने छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै अधिकारीले प्रवन्धक पदमा पुस २२ पछि प्रवन्धक फर्किने/नफर्किनेबारे अहिलेसम्म आफूले विचार नगरेको बताए । ‘कानुनी परार्मश लिएर सो समयको परिस्थिति हेरेर निर्णय लिन्छु’ उनले भने ।

विगतमा बुद्धि आचार्य र कामिनी राजभण्डारी आफ्नो कार्यकाल बाँकी छँदै प्रवन्ध निर्देशक पदबाट हट्नुपरेको थियो । तर, उनीहरु साविकको पदमा फर्किएका थिएनन् ।

टेलिकमले यसअघिको विनयमावलीमा माथिल्ला तहमा सेवा अवधिका रहेको ‘क्यापिङ’ हटाएको थियो । अब भने १० औं तहमा ८ वर्ष र ११ तहमा ५ वर्ष काम गरेपछि अनिवार्य अवकास हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी टेलिकमभित्र कार्यरत कर्मचारीले ४० वर्ष उमेर नाघेपनि खुला प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था पनि गरिएको छ । अब टेलिकमका अधिकृत तहमा कामा गरेको ३ वर्षमै बढुवा हुनसक्ने प्रावधान पनि राखिएको छ । यसअघि यस्तो सीमा ४ वर्षको थियो । त्यसैगरी चालकहरुलाई तह बढुवामा लैजाने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?