+
+
घुमफिर :

चित्लाङ उपत्यकाको भाषिक-साँस्कृतिक विविधता

डा.भीमलाल गौतम डा.भीमलाल गौतम
२०७८ मंसिर १ गते १३:४०

सधैं नेपालका भाषाहरूको अध्ययन-अनुसन्धानको लागि मोफसल र दूरदराजका गाउँबस्ती डुल्ने मलाई यसपटक काठमाडौं उपत्यकासँगै जोडिएको चित्लाङ उपत्यकामा डुल्ने अवसर मिल्यो ।

कीर्तिपुरस्थित एकमात्र सामुदायिक क्याम्पस (शहीद स्मारक कलेज) को अनुसन्धान व्यवस्थापन इकाई (आर.एम.सी.)ले गरेको खर्चको व्यवस्थापनमा म, डा. मधु गिरी र कलेजका प्राचार्य मिलन महर्जनको टोली तिहार शुरु हुनुभन्दा एक हप्ता अगाडि कीर्तिपुरबाटै पैदलयात्रामा निस्कियो ।

थानकोटको गोदामचौरबाट हाम्रो पैदलयात्रा शुरु भयो । शहरबाट गाउँ छिरेपछि अलि माथि हामीले चित्लाङ जाने छोटो बाटो सोध्यौं । एकजना तामाङ भाइले खोलाबाट पनि जान सकिने बताए र हामी त्यतै लाग्यौं । जाँदा जाँदा हामी विशाल पहिरोमुनि पुग्यौं जहाँबाट माथि जान र फर्किन पनि उत्तिकै कठिन थियो ।

लगभग दुई वर्ष जतिको कोरोना कहरले जमेको शरीरका सबै पार्टपुर्जाहरू खुले । हाम्रो शरीर पनि शिथिल हुन पुग्यो । माथि पहिरो र भीर तल दलदले माटो बगेको सुख्खा खोलोको बीचबाट घनाबस्तीले भरिएको काठमाडौं खाल्डो हेर्दै माथि चढ्ने निधो गरियो ।

मिलन सर खेलाडी पनि भएकोले छिटो हिंड्नुभयो भने हामी (मधु सर र म) फिल्ड जाने भैटोपलेका थकान र पसिनाले पछि पर्‍यौं । तीनतिरबाट फाटेको पहिरोमा हामीले दाहिनेतिरको जङ्गलको सहारा लिएर माथि चढ्ने काम गर्‍यौं । विना लौरो, विना ट्रेकिङ जुत्ता हिंडेका हामी पहिरोमा पल्टिएका रुख र झाडीको सहारामा भञ्ज्याङको मोटर बाटोमा पुग्यौं । हामीलाई देखेका मोटरसाइकल यात्रीहरू कुरेर बसिरहेका थिए किनकि त्यो मान्छे हिंड्ने बाटो थिएन ।

जे होस् बाटोमा पुगेपछि हाम्रो प्राणले ऊर्जा पायो र फेरि काठमाडौं उपत्यकाको दृश्य नियाल्दै हामी भञ्ज्याङस्थित चिया-खाजा घरमा पुग्यौं । त्यहाँ चियाखाजा खाएर हामी जङ्गलको छोटो बाटो हुँदै चित्लाङ पुगेर एउटा ऐतिहासिक धारोमा पानी खायौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पानी पिउँदै यात्री कविता लेखेको त्यो धारोदेखि मार्खुसम्मको बाटोलाई यात्री मार्गको रूपमा चिनाउने अभियान शुरु भैसकेको कुरा पनि थाहा भयो ।

चित्लाङस्थित गुर्जुधारा होमस्टेमा खाना खाएपछि हामी बजारको निरीक्षण गर्न गयौं । हामी यो ऐतिहासिक ठाउँको बारेमा जानकारी संकलन गर्ने काममा लाग्यौं । पूर्वमा फाखेल, पश्चिममा बज्रबाराही, उत्तरमा थानकोट तथा दक्षिणमा मार्खुसँग सिमाना जोडिएको चित्लाङ प्राचीनकालदेखि नै तराई र काठमाडौं उपत्यका जोड्ने पैदलमार्गको रूपमा परिचित रहेछ ।

चिनियाँ यात्री हुएन साङ भारत गएको बेला अंशुवर्माको कृति सुनेर नेपाल आउँदा फर्केको बाटो तथा पृथ्वीनारायण शाहले मकवानपुर विजय गरी गोर्खा राज्यमा फर्किंदा चित्लाङ हुँदै चन्द्रागिरि पार गरी काठमाडौं उपत्यकाको अवलोकन गरेको मुख्य बाटो नै चित्लाङ मार्ग भएको कुरा विभिन्न ऐतिहासिक ग्रन्थहरूमा भेटिन्छ ।

भाषिक रूपले चित्लाङ उपत्यका प्राचीनकालदेखि नै बहुभाषिक भएको देखिन्छ । यहाँ गोपाली, कपाली, गमाल (उदास), बलामी, मानन्धर, श्रेष्ठ, जोशी लगायत नेवारका विभिन्न थरहरूको प्रमुख बाहुल्य देखिन्छ । खासगरी बलामीहरू माझगाउँ, कपु गाउँमा बढी भेटिए भने टौखेल र न्हुल गाउँमा गोपालीहरूको बाहुल्य देखियो । यस्तै टुपिखेल, कलाँटु र बिसुंखेलमा गमालहरूको बसोबास भेटियो भने कुश्ले चौरमा कपाली (कुश्ले)हरू बसेको देखियो ।

भाषिक रूपले गोपाली बाहेक अरु सबै नेवारहरूको भाषा लवजमा फरक परे पनि एकअर्कोमा बुझिने रहेछ भने गोपालीहरूको भाषा छुट्टै किसिमको पाइयो । हाम्रो प्रारम्भिक अनुमान (२०० शब्द सूची) मा लगभग ५५ प्रतिशतले फरक भेटियो जुन भाषिक दृष्टिकोणले महत्वपूर्ण मान्न सकिन्छ ।

छलफलका क्रममा बलामी भाषिका अन्य नेवार भन्दा छुट्टै किसिमले बोलिए पनि बोल्न, सुन्न र बुझ्न सकिंदोरहेछ भन्ने कुरा चित्लाङका कपाली, गमाल, बलामी र अन्य नेवारहरूको कुराकानीबाट थाहा भयो । आफूलाई ग्वालाकै रूपमा हेर्ने गोपालीहरूमा प्रचलित नेवार संस्कृति भन्दा केही फरक चालचलनहरू पनि रहेछन् भने उनीहरूको भाषा नेवार समग्र जाति भएर पनि फरक किसिमले बोलिने गरेको पाइयो । यसबारेमा अलि गहिरो र व्यवस्थित अध्ययनको खाँचो पनि देखिएको छ ।

जङ्गलको छोटो बाटो हुँदै चित्लाङ पुगेर हामीले एउटा ऐतिहासिक धारोमा पानी खायौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पानी पिउँदै यात्री कविता लेखेको त्यो धारोदेखि मार्खुसम्मको बाटोलाई यात्री मार्गको रूपमा चिनाउने अभियान शुरु भैसकेको कुरा पनि थाहा भयो ।

नेवार बाहेक चित्लाङ उपत्यकामा अर्को ठूलो जनजाति र भाषिक समूह भनेको तामाङ रहेछ जुन हालको एक नम्बर अर्थात् भण्डारखर्क र हात्तीसार क्षेत्रमा रहेको पाइयो । जम्माजम्मी १०६ घरधुरीमा फैलिएका तामाङहरू हालको पाँचौं पुस्ताअघि सिन्धुपाल्चोकबाट बसाइ सरेर आएका रहेछन् ।

स्याङतान, गोले, बल, घलान, रुम्बा, डिङडुङ, योञ्जन, बम्जन, वाइबा, जिम्बा, थिङ र मोक्तान जस्ता थरहरूमा विभाजित यो सानो गाउँमा बोलिने तामाङ भाषा पश्चिमी भाषिकासँग मिल्ने देखियो । अझ रमाइलो कुरा त के देखियो भने त्यहाँ एउटा प्रसिद्ध कालीदेवी मन्दिर रहेछ जहाँ तामाङ पुजारी रहेछन् र सबै तामाङहरू कालीदेवी अर्थात् हिन्दू परम्परालाई विश्वास गर्दा रहेछन् ।

यस कुराको प्रमाणको रूपमा हरेक वर्ष उत्सवको रूपमा मनाइने कालीदेवी मेलामा मारुनी गाना र नाच देखाउने चलन रहेछ जुन केही पुस्ता अगाडि तारासिंह मोक्तानले गोर्खाबाट चित्लाङमा भित्र्याएका रहेछन् । नेपालका अधिकांश तामाङहरू बोन र बुद्ध धर्ममा आस्था राख्ने भएतापनि यहाँका तामाङहरूमा हिन्दू धर्मसंस्कारको गहिरो प्रभाव परेको देखियो ।

यसबाट अर्को कुरा के अनुमान गर्न सकिन्छ भने उनीहरूले बोल्ने तामाङ भाषा पनि विभिन्न भाषिकाहरूको मिश्रण भएर बनेको हुनुपर्छ । तामाङ बाहेक चित्लाङमा केही मगरहरू पनि बसोबास गरेका रहेछन् तर तिनीहरूले मगर भाषा बोल्न छोडेको धेरै भइसकेछ ।

चित्लाङको सबैजसो भागमा बाहुन, क्षेत्री र दलितहरूको बस्ती रहेको पाइयो जुन नेपाल एकीकरण अगाडि देखि नै व्यवस्थित रूपले मिलेर बसेको देखियो । नेपाली भाषा सबै समूह र समुदायको सम्पर्क भाषा भएको कुरा हाम्रो अध्ययनले पनि पुष्टि गर्‍यो ।

साँस्कृतिक रूपले पनि चित्लाङ उपत्यका निकै धनी र विविधताले भरिएको पाइयो । यहाँका प्रसिद्ध सम्पदाहरूमा माझगाउँमा रहेको अशोक चैत्य जुन इ.पूर्व २७३ मा बनेको रहेछ । यसलाई नेवार भाषामा चिभाःद्य पनि भनिंदो रहेछ ।

यसका साथै टुपिखेल, कलाटु गाउँ, भञ्ज्याङ, कपुगाउँ आदि ठाउँहरूमा पनि स्थानीय समुदायको सक्रियतामा अरु धेरै चैत्य बनेको भेटियो । मन्दिर र शिवालयहरूमा स्वच्छन्द भैरवको मन्दिर, तलेजु भवानीको मन्दिर, महालक्ष्मीको मन्दिर, चम्पाकेश्वर महादेव, कालीदेवीको मन्दिर, त्रिलिङ्गेश्वर महादेव, तलेजु मन्दिर, जलदेवी, लक्ष्मीनारायण आदिले चित्लाङलाई चिनाउने गरेको पाइयो ।

यो बाहेक यहाँ विभिन्न थरीका चाडपर्व र जात्राहरू मनाउने प्रचलन व्यापक रहेछ । जात्रामा स्वच्छन्द भैरव जात्रा, न्याः जात्रा, काति जात्रा, तलेजु भवानी र खड्ग जात्रा, महालक्ष्मी जात्रा, महाचुनी जात्रा, त्यप जात्रा, गाईजात्रा, कृष्ण जात्रा र इन्द्र जात्रा बढी प्रचलित रहेछन् ।

त्यस्तै चाडपर्वहरूमा गथांम्वःचर्हे (गठे मङ्गल), नागपञ्चमी, जनैपूर्णिमा, गोकर्ण औंशी, सोह्रश्राद्ध, दशैं, तिहार, झा दिक, सिठी चाड तथा सनातनी गुठी र देवाली पूजाहरू विशेषगरी मनाइँदो रहेछ भने मेलाहरूमा शिवरात्रि मेला, ऋषेश्वर मेला, गोदावरी मेला, गुँला दाफा (गुँला धर्म) मेला बढी चलनमा रहेको पाइयो। नाचहरूमा बलामीहरूको बाह्रवर्षे नाच, नकजाल नाच, हिले नाच, काति नाच, कृष्ण-बानिया-बाथ नाच तथा गमालहरूको शुरसेन नाच, नागा-नागिन नाच, मारुनी राजमति नाच, हिले नाच, महादेव नाच, देवी-काली-धिचा नाच बढी देखाउने गरेको पाइयो भने गोपालीहरूको सिंक न्या (१२ वर्षे नाच), त्वकचा (महादेव) नाच तथा पोडेहरूको आफ्नै शुरसेन विरध्वज नाच पनि प्रचलनमा रहेको भेटियो । बाजागाजाहरूमा पनि काठमाडौंको भन्दा केही फरक धुन भएका धाः बाजा, खिं बाजा, ता (झुर्मा), बभु (झ्याली), पवंगा, भुस्या जस्ता नेवारी बाजा बाहेक कपाली (कुश्ले जाति) ले बजाउने मुहली, गुजराती तथा पोडे जातिले बजाउने नायँखी बाजाहरू प्रयोगमा रहेको पाइयो ।

एक हप्ताको बसाइमा हामीले चित्लाङका अरु सामाजिक, आर्थिक र प्राकृतिक पक्ष र विविधताहरूको बारेमा पनि समुदाय स्तरमै पुगेर छलफल र कुराकानी गर्‍यौं । प्राचीन समयदेखि नै काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारको रूपमा परिचित यो सानो उपत्यकामा नखोजिएका र उत्खनन गर्न बाँकी धेरै कुरा छन् । भर्खर मात्र पूर्णरूपमा आधुनिक सडक सञ्जालले छोएको यो सुन्दर उपत्यकामा विकासका धेरै पूर्वाधार बन्न बाँकी नै छ ।

होमस्टे व्यवसायले प्रसिद्धि पाएको यो ठाउँमा भर्खरै बन्दै गरेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पनि स्थानीयमा धेरै ठूलो आशा जगाएको भेटिन्छ । मुख्य कुरा त विकाससँगै विनाश हुनुभएन । हाम्रा प्रश्न र जिज्ञासाहरूमा स्थानीय नागरिक, राजनीतिक एवं सामाजिक अगुवा र अभियन्ताहरूले देखाएको रुचि र उनीहरूले देखेको चित्लाङको भविष्यप्रति कसैले पनि नजरअन्दाज गर्नुहुँदैन ।

एक हप्ताको बसाइ र पैदल यात्रा सकेर हामी फेरि उही पुरानो बाटो काठमाडौं झर्‍यौं तर मानसपटलमा त्यहाँको ढुङ्गा-माटो, सुन्दर बस्ती र न्यानो आतिथ्यले फेरि पनि बोलाएको छ ।

लेखक त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विभागका सहप्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?