+
+

आन्तरिक लोकतन्त्रको कसीमा एमाले दशौं महाधिवेशन

दिनेश भुसाल दिनेश भुसाल
२०७८ मंसिर ५ गते १०:५४

वडा र पालिका अधिवेशन सम्पन्न भएसँगै नेकपा एमाले दशौं महाधिवेशनको तयारीमा जुटेको छ । यसै क्रममा महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधिहरूको निर्वाचन हालै सम्पन्न भएको छ । अहिले एमाले संसदीय अंकगणितमा देशको सबैभन्दा ठूलो भए पनि नेतृत्वको अहंकार र कार्यकुशलताको अभावमा केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षमा खुम्चिन बाध्य छ । दशौं महाधिवेशनले एमालेलाई फेरि पनि राष्ट्रिय राजनीतिको केन्द्रमा पुनस्र्थापित गर्न आवश्यक ऊर्जा प्रदान गर्ला वा नगर्ला ? आम चासोको विषय बनेको छ ।

राजनैतिक दलको महाधिवेशनले मुख्यतः दुई कार्यभार पूरा गर्नुपर्ने हुन्छ- नीति निरुपण र नेतृत्व चयन । नेपालमा प्रचलित राजनैतिक अभ्यास भन्दा पृथक् नेकपा एमालेले गत असोजमा सम्पन्न विधान महाधिवेशन मार्फत नीति विमर्शको काम सम्पन्न्ा गरेको घोषणा गरेको छ र मंसीरमा हुने महाधिवेशन उद्घाटन पश्चात् सीधै नेतृत्व चयनमा केन्दि्रत हुनेछ । यी दुवै महाधिवेशन मार्फत एमालेले आफूलाई थप सुदृढ र एकतबद्ध भएको सन्देश दिन चाहन्छ भने अध्यक्ष ओलीले आफूलाई शक्तिशाली अध्यक्षको रूपमा स्थापित गरिरहन चाहन्छन् । के साँच्चै एमाले नेतृत्व र खासगरी अध्यक्ष ओलीले चाहे जस्तै एमाले साँच्चै बलियो र ओली झनै बलिया अध्यक्ष हुँदैछन् त ?

संस्थागत सक्षमता

८ भदौ २०७८ कोे स्थायी समिति बैठकबाट वडा र पालिकास्तरीय अधिवेशनहरू सकेर आगामी मंसीर दोस्रो सातामा राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको एमालेले निधारित समयमै स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ । त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन पनि सहजै सम्पन्न भएकोे छ र महाधिवेशन पनि तोकिएकै मितिमा सम्पन्न हुने निश्चित जस्तै छ ।

माओवादीसँग हठात् गरिएको पार्टी एकता र तीन वर्षपछिको विभाजन अनि स्वयम् एमालेको पनि विभाजनको पृष्ठभूमिमा तीन महीनाको छोटो अवधिमै स्थानीय अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्नसक्ने संस्थागत क्षमता जुन एमालेले प्रदर्शन गरेको छ । त्यो क्षमता अन्य प्रतिस्पर्धी दलहरूमा देखिंदैन ।

भावनात्मक शोषण

यतिबेला पनि एमाले कार्यकर्ताहरू पार्टी विभाजनको पीडामा छन् । नीति जस्तोसुकै होस्, नेता जोसुकै होस्, नेतृत्वले जेसुकै गरोस् पार्टी एक हुनुपर्छ र चुनाव जित्नुपर्छ भन्ने आम कार्यकर्ताको मनोभावनाले यसपटक ओली नेतृत्वलाई सजिलो बनाइदिएको छ

के साँच्चै एमालेको संस्थागत सक्षमता सुदृढ भएकै हो वा पार्टी विभाजनका कारण चिन्तित कार्यकर्ताहरूमाथि नेतृत्वले गरेको इमोसनल ब्ल्याकमेलिङ । एमालेमा कार्यकर्तामाथिको इमोसनल ब्ल्याकमेलिङको इतिहास पुरानै छ । पाँचौं महाधिवेशनमा मदन भण्डारीले तत्कालीन कार्यनीतिका रूपमा प्रस्तुत गरेकोे नेपाली क्रान्तिको कार्यक्रम बहुदलीय जनवादले के त्यस्ता मानकहरू पूरा गर्‍यो र आठौं महाधिवेशनबाट यसलाई सिद्धान्तकै रूपमा अङ्गीकार गरियो ? जबजका आलोचकहरूका दृष्टिमा यो एउटा भावनात्मक ब्ल्याकमेलिङकै उपज हो । एक जना उदीयमान नेताको रहस्यमयी देहावसानले उत्पन्न गरेको संवेगात्मक परिवेशमा नेतृत्वले गरेको भावनात्मक शोषण ।

चुनावको बेलामा त यस्तो हुने नै गर्दछ । नेताको मृत्युपश्चात् उक्त स्थानमा उनकै पारिवारिक सदस्य विजयी भएका प्रशस्तै उदाहरण छन् ।

यतिबेला पनि एमाले कार्यकर्ताहरू पार्टी विभाजनको पीडामा छन् । नीति जस्तोसुकै होस्, नेता जोसुकै होस्, नेतृत्वले जेसुकै गरोस् पार्टी एक हुनुपर्छ र चुनाव जित्नुपर्छ भन्ने आम कार्यकर्ताको मनोभावनाले यसपटक ओली नेतृत्वलाई सजिलो बनाइदिएको छ । त्यसैले त विधान महाधिवेशन केवल औपचारिकतामै सकियो र दशौं महाधिवेशन पनि शक्ति प्रदर्शन र नेतृत्व चयनको औपचारिकतामै सीमित हुने परिस्थिति देखिंदैछ ।

खुम्चिंदै आन्तरिक जनवाद

पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमै चयन गर्न जोड गरेको छ । तर यस्तो सर्वसम्मति कार्यकर्ताको बीचबाट नभई नेताहरूको भागबण्डाबाट खोजिएको कुराप्रति भने कार्यकर्ताहरू असन्तुष्ट छन् । स्थानीय तहको निर्वाचन नजिकै आइरहेको, पार्टी भर्खरै विभाजन भएको र एमाले विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको परिवेशमा चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट गर्दा गुटबन्दी र आपसी कटुता बढ्न सक्ने भएकोले सर्वसम्मतिको प्रयास गरिएको एमालेका केन्द्रीय सदस्य तिलक महतको भनाइ छ ।

तर राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य युवा नेता मदन गिरी नेताहरूको भनाइप्रति सहमत छैनन् । चुनावले तिक्तता बढाउँछ भन्ने चिन्तन पार्टीको आन्तरिक जनवादलाई निस्तेज पार्ने प्रयास हो । चुनावमा पराजय स्वीकार गर्न नसक्नु राजनैतिक संस्कारहीनताको पुष्ट्याईं हो, कार्यकर्तालाई प्रशिक्षित गर्न नसक्नुको परिणति हो, उनी आरोप लगाउँछन् । यदि पार्टीको आन्तरिक नेतृत्व चयनमा हुने चुनावले पार्टीलाई कमजोर बनाउने भए आगामी निर्वाचनमा नेपाली कांग्रेस पत्तासाफ नै हुन्छ त ? किनकि उसले जारी अधिवेशनमा अधिकांश स्थानमा चुनावबाटै नेतृत्व चयन गर्दैछ ।

नेतृत्व चयनमा सर्वसम्मति हनु निश्चय नै सकारात्मक पक्ष हो तर नेतृत्वको दबाबमा हार्दिकतारहित सर्वसम्मतिले पार्टीलाई गतिशीलता प्रदान गर्न सक्दैन । निर्वाचित नेतृत्वमा पार्टीप्रति जति उत्तरदायित्व र जिम्मेवारीबोध हुन्छ, नेताको कृपाप्राप्त (कार्यकर्ताको भाषामा टिके) नेतृत्व न त त्यति जिम्मेवार बन्छ न त कार्यकर्ताहरूले उनीहरूलाई सम्मानका दृष्टिले हेर्न सक्छन् ।

एमालेले आˆनो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको सार तत्व नै प्रतिस्पर्धा हो । नीति र नेतृत्वको श्रेष्ठता मापन गर्ने के त्यस्तो औजार फेला पर्‍यो र आठौं महाधिवेशनबाट उच्च प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेको एमाले दशौंमा आइपुग्दा उक्त अभ्यासमै खोट देख्दैछ ?

दास मनोवृत्ति

निर्वाचन कमिटि बन्छ । कार्यकर्ताहरूले रीतपूर्वक उम्मेदवारी दिन्छन् । उम्मेदवारहरूबीच आपसी सहमति र उम्मेदवारी फिर्ताका लागि समय दिइन्छ । न त सहमति जुट्छ न त उम्मेदवारी फिर्ता लिइन्छ । अनि नेतृत्वले आपसी भागबण्डाका आधारमा कसैलाई स्वतः निर्वाचित घोषणा गरिदिन्छ र भन्छ- सबै पदमा सर्वसम्मति भयो । कार्यकर्ताहरूले नेतृत्वको यो घोषणालाई स्वीकार गर्दछन् । पालिका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटका क्रममा अधिकांश ठाउँमा यस्तै देखियो । लाग्छ- एमाले कार्यकर्ताहरू असाध्यै अनुशासित छन् ।

त्यसो त नेपाली राजनीतिमा आˆनो पार्टीका नेतृत्वले गरेका हरेक अपराधहरूमा मौन बस्ने वा समर्थनमा नै उत्रने संस्कृति नौलो छैन । भ्रष्टाचार प्रमाणित भई जेल सजाय पूरा गरी रिहा हुँदा उनको स्वागतमा फूलमाला सहित र्‍याली निकाल्ने कांग्रेस कार्यकर्ता वा पार्टी र सरकार सञ्चालनमा असफल ओलीलाई राजनेता ठान्न्ो एमाले कार्यकर्ता यिनलाई इतिहासले कसरी मूल्याङ्कन गर्ला- पार्टीप्रति निष्ठावान अनुशासित कार्यकर्ता कि राजनैतिक कार्यकर्ताहरूमा हुर्कंदै गरेको दास मनोवृत्ति ?

दास मनोवृत्ति प्रश्न सोध्न डराउँछ । नेतृत्वको देवत्वकरण गर्छ । नेताहरूको साख्खै हुन मन पराउँछ । पार्टीको हितभन्दा आˆना लागि अनुकूल अवसरहरूको खोजी गर्छ र स्वार्थसिद्धि नभएमा गुट फेर्छ, पार्टी परित्याग गर्ने धम्की दिन्छ । लाभका पदहरू हत्याउँछ र त्याग, योगदान र क्षमता भएकाहरू विस्तारै पार्टीबाट टाढिंदै जाने परिस्थिति बन्छ । पार्टी मर्दै जान्छ ।

ओली आकांक्षा

परिवर्तित सन्दर्भमा राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा एमालेलाई पुनस्र्थापित गर्न समयसापेक्ष गतिशील रणनीति तय गर्न गम्भीरताका साथ प्रस्तुत हुन चुकेको एमाले विधान महाधिवेशनले पार्टी र सरकार प्रमुखका रूपमा अध्यक्ष ओली र उनको नेतृत्वका असफलताहरूको समीक्षा गर्न आवश्यक नै ठानेेन ।

जीवन्त पार्टी निर्माणका लागि आलोचनात्मक चेत भएका सजीव कार्यकर्ताहरूको सामूहिक सक्रियता आवश्यक पर्छ । आलोचनालाई विरोधको रूपमा बुझ्ने, आत्मप्रशंसामा रमाउने र सामूहिक नेतृत्वको साटो एकल प्राधिकारमा विश्वास गर्ने अध्यक्ष ओलीको सर्वसम्म्मत अध्यक्ष बन्ने आकांक्षाले नेकपा एमालेलाई दशौं राष्ट्रिय महाधिवेशनका प्रक्रियामा विधि र पद्धति उल्लंघन गर्न प्रेरित गरेको देखिन्छ । पालिका र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नेतृत्वको खोजी गरिनुको अन्तर्य कार्यकर्ताहरूमा सर्वसम्मत अध्यक्षको मनोविज्ञान विकास गर्ने प्रयास पनि हो । यो प्रयास सफल भएमा पार्टी एकीकरण बचाउन नसकेको, संसंद विघटन गरेको र पार्टी विभाजन रोक्न नसकेको अपजसबाट मुक्त होइन्ो विश्वास ओली र उनका सहकर्मीहरूमा रहेको हुनसक्छ ।

तर कार्यकर्ताहरूमा चिन्ता र निराशा देखिंदैछ- कतै एमाले मर्दै गरेको त छैन ?

(भुसाल देवचुली नगरपालिका-१२ का वडाध्यक्ष हुन् ।)

लेखकको बारेमा
दिनेश भुसाल

लेखक नेकपा एमालेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?