+
+

नारी स्वनिर्णयले बुहारी बन्न पाउनुपर्छ

मीना अर्याल मीना अर्याल
२०७८ मंसिर ६ गते १०:२१

एउटा नारी जसले यो सृष्टिको अस्तित्व जोगाइराख्न आफ्नो भौतिक शरीरको बलिदान दिइरहेकी हुन्छिन् । हामी सबैले नारीको कोखलाई आफ्नो पहिलो वासस्थान बनाउँछौं । आवासको रूपमा नारीको शरीरको प्रयोग गरी यो सृष्टिमा आफ्नो पाइला राखिन्छ ।

ती नारी जसले आफ्नो पवित्र शरीरको बलिदान दिएर दोस्रो पक्षलाई यो सृष्टि अर्थात् नयाँ संसारसँग परिचित बनाउँछिन् । यिनी स्वयंलाई थाहा हुँदैन कि अर्को मानवलाई नयाँ संसारमा स्वागत गर्दैगर्दा यिनले यो संसारबाट बिदाइका हात हल्लाउनुपर्छ वा यो जीवनको यात्राले पुनः निरन्तरता पाउँछ ।

गन्तव्यविहीन नारीको जीवनले जब अर्को मानवलाई यो सृष्टिमा स्वागत गर्छ, त्यो स्वागत सँगसँगै यिनको परिचय पनि बदलिन्छ । उनी अब छोरी बुहारीको संज्ञाबाट परिवर्तित भएर आमा बन्छिन् ।

एउटा नारीले आफ्नो एउटा जीवनकालमा धेरै जीवन बाँचिरहेकी हुन्छिन् । जब आमाको कोखबाट छोरीको जन्म हुन्छ, त्यतिबेला जन्मघरमा उनी छोरीको रूपमा आफ्नो जीवन बिताउँछिन् । विस्तारै उमेरसँगै उनको शरीरिक मानसिक विकास एवम् वृद्धि हुन्छ । त्यो जन्मघर, नातागोता, आफन्त, बुबा–आमासँगको जीवनलाई अपूर्ण राख्नुपर्छ ।

उनलाई सानै उमेरबाट जन्मघर आफ्नो होइन, यो क्षणिक समयका लागि हो, यसलाई छोडेर अर्को घर-पराइघर जानुपर्छ भन्ने सिकाउँदै विस्तारै जन्मघरको माया मोह, आकर्षण सबैबाट टाढा बनाइन्छ । जन्मघरसँगको आत्मीयतालाई अलग्याउन बाध्य बनाइन्छ । उनलाई मानसिक रूपमा सानै उमेरबाट सोही अनुरूप तयार गरिन्छ ।

जन्मघर छोडेर जाने मन नहुँदा नहुँदै भारी मन मुटुभरि अनगिन्ती सम्झनाका तरेलीहरू बेकेर नयाँ घर, नयाँ परिवेश नयाँ अपरिचित मान्छेहरूलाई आफ्नो बनाउने सपना बोकेर आफूलाई संसार देखाउने आमा, बुबा लगायत सम्पूर्णलाई पराइ बनाउँदै, पराइ घरलाई आफ्नो बनाउन त्यहाँबाट प्रस्थान गर्नुपर्छ । कास; यो जन्मघरसँगको सामीप्यतालाई तोड्नुपर्दैनथ्यो भने नारीलाई कसरी परिचित गरिन्थ्यो होला ?

जब जन्मघरबाट उनको यात्रा पराइघरतर्फ शुरुआत हुन्छ । उनको यात्रा मात्र नयाँ रहँदैन । अब उनको पहिचान पनि बदलिन्छ । उनी छोरीबाट बुहारी बन्छिन् । उनको जिन्दगीले नयाँ परिचय पाउँछ । छोरी पछि बुहारीको जीवनमा उनले धेरै संघर्ष गर्नुपर्छ ।

आफ्नो अस्तित्व जोगाउन आफूलाई धेरै कठिन परिस्थितिहरूसँग साक्षात्कार हुनुपर्छ । उनले जन्मघरमा आमाले पकाएको खान्थिन् भने अब सासूलाई पकाएर खुवाउनुपर्छ । उनी भाइलाई आफ्नो नियन्त्रणमा राख्थिन् भने अब उनी श्रीमान्को नियन्त्रणमा रहनुपर्छ ।

उनको कारणले परिवार खुशी थियो अब परिवारलाई खुशी बनाउन आफूले प्रयत्न गर्नुपर्छ । भुल गर्दा सजिलै माफी पाउँथिन् अब माफी होइन उनलाई सजाय दिइन्छ । आफ्नो पहिचान र परिचयलाई गुमाएर नयाँ घरमा नयाँ पहिचान बनाउन गरेको संघर्ष पूर्ण रह्यो भने विवाह पछिको जीवन सहज बन्न सक्छ ।

यदि उनले खुशी बनाउन सकिनन् भने उनको जीवनले फेरि अर्को मोड लिन सक्छ । उनले ती विवाह पछि जोडिएका आफन्त, घर, नाता सम्बन्ध सबैबाट अपहेलना पाउँछिन् । उनलाई मान्छे गनिंदैन । पीडा वेदना सुनिदिने कोही नहुँदा आत्मबल कमजोर हुन्छ । मन विरक्तिन्छ । आफूलाई सम्हाल्न सक्दिनन् र अन्ततः मृत्युलाई आफ्नो साथी बनाउँछिन् ।

छोरी आफ्नो जीवनको जीवनसाथी खोज्न आफैं सक्षम बन्न सक्नुपर्छ, आफ्नो भविष्यको निर्णय आफैं गर्न सक्नुपर्छ । उनले आफ्नो स्व–निर्णयले चाहेको बेला बुहारी बन्न पाउनुपर्छ ।

हाम्रो देशमा पनि कैयौं यस्ता नारीहरूले बुहारीको जीवनलाई सार्थक पूरा जिन्दगीलाई नै समाप्त गरेको धेरै उदाहरण छन् । पारिवारिक हिंसा, मानसिक दबाव, महिला हिंसा आदि कारणले नारीले आफ्नो नारीत्व गुमाउन बाध्य रहेको अनेक उदाहरण हाम्रै समाजमा छन् ।

सृष्टिको अस्तित्वको जिम्मेवारी वहन गरेकी देवीरुपी नारीको अपहेलना गरी, उनको वास्तविक स्वरूपको कदर गर्न नसकी उनलाई संसार छोड्न बाध्य बनाउनु महापाप हो । नारीले पनि आफूप्रति हुने असमानजनक व्यवहारको समयमै पहिचान गरी यस्तो प्रकारको अत्याचारलाई मौन रूपले नसही आवाज उठाउनु जरूरी छ ।

हाम्रो समाजमा नारीलाई हेर्ने दृष्टिकोण नै फरक छ । आज पनि नारीलाई पराइघरमा स्थायी अधिकार छैन भन्ने तवरले उनलाई परिभाषित गरिन्छ । जब आफैं जन्मेको घर जन्माएका, बढाएका सदस्यले आफ्नो हो भन्न सक्दैनन् भने उसले कसरी पराइ घरमा अपनत्व महसूस गर्न सक्छ ?

छोरीको विवाहको बारेमा योजना बनाउनु नै छोरी आफ्नो होइन, पराइको सम्पत्ति मान्नु हो । जबसम्म छोरीको बिहेको योजना पारिवारिक सदस्यले तय गर्छन् र अर्कोको जिम्मा लगाउँछन्, तबसम्म छोरीले बुहारीको जीवनमा छोरीको अनुभव गर्न नपाउन सक्छन् ।

छोरी आफ्नो जीवनको जीवनसाथी खोज्न आफैं सक्षम बन्न सक्नुपर्छ, आफ्नो भविष्यको निर्णय आफैं गर्न सक्नुपर्छ । उनले आफ्नो स्व-निर्णयले चाहेको बेला बुहारी बन्न पाउनुपर्छ । जन्म, मृत्यु, विवाह प्राकृतिक नियम हुन् । विवाहलाई आफ्नो अधिकारको विषय मानेर, जब दोस्रो व्यक्तिले छोरीलाई बुहारी बनाउँछ तब बुहारीले छोरी महसूस गर्न पाउँदिनन् ।

अरूलाई जीवनदान गर्ने नारीसँग आफ्नो जीवनको निर्णय गर्ने अधिकार नहुँदा कैयौं नारीले आफ्नो जीवन नर्कमा विताउन बाध्य छन् । खासगरी नारीले धेरै बाधा व्यवधान बुहारीवाला जीवनमा सामना गर्नुपरेको देखिन्छ।

यो जीवनलाई सहज बनाउन बुहारीले छोरी हुने बेलाबाट नै आफूलाई सक्षम बनाउँदै विकास गर्नुपर्दछ । आफूलाई सबै पक्षबाट नै निपुण बनाउँदै लैजाउनुपर्छ । जसरी कि नारीको जीवनमा कुनै पक्षको सहारा नहुँदा पनि आफ्नो जीवनलाई पूर्ण तवरले खुशियालीको साथ अगाडि बढाउन सकियोस् ।

यसको लागि आत्मनिर्भर हुन जरूरी छ । एउटा बुहारीले जस्तो परिस्थितिमा पनि मनलाई अडिग राखी धैर्यको साथ परिस्थितिको सामना गर्न सक्ने मानसिकता निर्माण गर्नुपर्छ । यो त भयो खासगरी एक नारीले बुहारी जीवनमा सामना गर्नुपर्ने परिस्थिति र बुहारी जीवनलाई सपाट र सहज बनाउन चाल्नुपर्ने कदम ।

नारीको जीवन बुहारीमै मात्र सीमित रहँदैन, बुहारीपछि उनले आमाको जीवनसँग साक्षात्कार गर्छिन् । त्यस्तैगरी उनको उमेरले कोल्टे फेर्दै जान्छ र उनी सासू बन्नुपर्छ । हरेक जीवनकालमा बेग्ला बेग्लै जिम्मेवारी बहन गर्नुपर्छ । छोरी, बुहारी, आमा, सासू जति पनि नामसँग परिचित हुनुपर्छ, सबै फेजका आफ्नै अस्तित्व छन् । नारीको अनुपस्थितिमा सृष्टिको अस्तित्व संकटमा पर्छ ।

नारीलाई सृष्टि, देवी आदि नामले पुकारिन्छ तर व्यवहारमा देवीलाई दिने सम्मान र आदर नारीलाई दिइएको पाइँदैन । नारीलाई खुुशी राख्नु, सृष्टिलाई खुशी राखी जीवनको यात्रालाई गन्तव्यमा पुर्‍याउन सफल बन्नु हो । जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवीको पूजा भएको मानिन्छ ।

जब–जब देवीले आफूमाथिको अत्याचार सहन नसकी संसार भष्म गर्छिन्, त्यसरी नै नारीले पनि आफूमाथिको अत्याचार सहन नसकी कुनै दिन सृष्टि परिवर्तन गर्न सक्छिन्। तसर्थ नारीमाथि हुने अत्याचार, हत्या-हिंसाको अन्त्य गरौं । नारीलाई सम्मान र आदर गरौं। नारी रहे सृष्टि रहन्छ, सृष्टि रहे जीवन !

मालिका, गुल्मी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?