+
+

कर्णालीको कोणबाट एमालेको दशौं राष्ट्रिय महाधिवेशन

गंगाराम तिमिल्सेना गंगाराम तिमिल्सेना
२०७८ मंसिर ५ गते १८:४६

बदलिंदो राजनीतिक तथा प्रशासनिक संरचना र व्यवस्था अनुसार यदि नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम र यहाँको माग र मनोविज्ञानलाई सम्बोधन गरिएन भने त्यसले भविष्यमा यहाँको पार्टी निर्माण र नेतृत्व विकासमा गम्भीर प्रभाव पार्नेछ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेको यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ ।

पछिल्लो दशक नेपाली राजनीति र कम्युनिष्ट आन्दोलन तथा नेकपा एमालेको जीवनमा पनि घटेका असाधारण घटना र परिघटनाका बीच आयोजना गरिएको एकताको महाधिवेशन भएको हुनाले पनि यसको चर्चा–परिचर्चा व्यापक र भव्यतापूर्वक भइरहेको छ ।

देशभरिबाट तथा प्रवासबाट समेत गरी १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने यो महाधिवेशनमा मुख्यतया आगामी पाँच वर्षमा नेकपा एमालेलाई र एमाले मार्फत देशलाई नेतृत्व गर्ने पार्टीको केन्द्रीय नेतृत्व र कमिटि महाधिवेशनले निर्वाचित गर्नेछ ।

नवौं महाधिवेशनपछि देशको संविधान, व्यवस्था र संरचना बदलिएको छ । अब हामी मुलुकको नयाँ संविधान, संघीयता अनुसारको संरचना र समावेशी तथा समानुपातिक सहभागिता र प्रणाली अन्तर्गत अगाडि बढ्नुपर्ने संवैधानिक तथा राजनैतिक अवस्थाको विन्दुमा आइपुगेका छौं । यही परिवेशमा हुन लागिरहेको नेकपा एमालेको महाधिवेशनमा एमाले कर्णाली र दशौं महाधिवेशनको सन्दर्भलाई जोडेर केही कुरा लेख्ने प्रयास गरिएको छ ।

नेकपा एमाले नेपाली राजनीतिको रंगमञ्चमा अत्यन्त ऐतिहासिक पृष्ठभूमि भएको संघर्षशील, जनतामा स्थापित, लोकप्रिय, अग्रगामी तथा आमूल परिवर्तनकारी वामपन्थी आन्दोलनको मूलप्रवाहको रूपमा स्थापित राजनीतिक दल हो । यसले माक्र्सवाद, लेनिनवादलाई आफ्नो वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा ग्रहण गरेको छ ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई समयको माग अनुसार विकसित गर्दै यसलाई समाजवादको आधार निर्माण गर्ने आफ्नो राजनीतिक कार्यक्रम र सिद्धान्तको रूपमा अंगीकार गरेको छ । लेनिनवादी संगठनात्मक सिद्धान्त र मूल्य–मान्यताका आधारमा यसले आफ्नो पार्टी संगठन तथा जनसंगठन निर्माण तथा परिचालन गर्ने गर्दछ ।

सहमति, समझदारी तथा आन्तरिक प्रतिस्पर्धाको आधारमा यसले आफ्नो नेतृत्व र कमिटी निर्माण गर्दछ । जनवाद र केन्द्रीयताको उच्च संयोजन सहित सामूहिक नेतत्व तथा संस्थागत प्रणालीका आधारमा यो परिचालित हुने गरेको छ ।

नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि इतिहास र वर्तमानका खास–खास मोडहरूमा एमालेले देश र जनताको साथमा रहेर निरन्तर नेतृत्व गरेको छ । राष्ट्रिय स्वाधीनताको पहरेदार, देश विकासको स्पष्ट मार्गचित्र भएको नेपाली जनताको सुखदुःखको साथी भएकोले आजको एमालेले यो स्तरको लोकप्रियता र मूलप्रवाहकको रूपमा स्थापित हुने अवसर प्राप्त गरेको हो ।

मुलुकको संविधान निर्माण गर्ने बेला जुन योगदान र नेतृत्व एमालेले ग¥यो, त्यही व्यवस्था र संरचना अनुसार आफ्नो पार्टी कमिटिलाई पनि यसले सोही अनुसार प्रारम्भदेखि नै अगाडि बढाएको हो । महाधिवेशन मार्फत् आगामी पाँच वर्षसम्म एमालेको नेतृत्व गर्ने कमिटी निर्वाचित गर्ने र एमाले मार्फत देशको नेतृत्व गर्ने एमालेको अगाडि अत्यन्त ठूलो जिम्मेवारी आएको छ ।

विगतलाई होइन भविष्यलाई हेरेर यसले महाधिवेशन मार्फत पार्टीको नेतृत्व, पदाधिकारी टीम र केन्द्रीय कमिटीमा देशको समग्र भूगोल (प्रदेश), समुदायको उपस्थिति र आवश्यकतालाई मध्यनजर गर्दै केन्द्रीय समिति निर्माण गर्नुपर्ने देखिन्छ ।

पार्टीको केन्द्रीय नीतिनिर्माणको तह, पदाधिकारीमा कुनै पनि प्रदेशलाई नछुटाई सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बाध्यतामा आजको एमाले छ । तर पार्टीको मुख्य नेतृत्व र नेताहरूको टीमले यसमा पर्याप्त ध्यान दिएको देखिन्न । यी आवाज र आवश्यकताको बोध गराएर १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा कर्णालीको उपस्थिति अनिवार्य गर्नु अत्यन्त जरूरी भएको छ ।

२०७१ मा नवौं महाधिवेशन सम्पन्न भएपछि देशमा नयाँ संविधानको घोषणा भएको छ । नयाँ संविधान, संरचना, संघीयता, समानुपातिक प्रतिनिधित्व र सहभागिताका आधारमा राज्य, पार्टी र देश संचालन होस् भन्ने मर्म र भावना संविधानले बोकेको छ । नेपालको राजनीतिक तथा प्रशासनिक मानचित्रमा कर्णाली अत्यन्त टाढा र उपेक्षित छ ।

मुलुकलाई नेतृत्व गर्ने राजनीतिक दल, देशको केन्द्रीय प्रशासनिक निकाय, परराष्ट्र, शैक्षिक तथा सुरक्षा निकायको मुख्य स्थानमा कर्णाली भेटिंदैन, देखिंदैन र पुग्न सकेको छैन । यो कर्णालीवासीका लागि अत्यन्त पीडाको विषय हो ।

कर्णालीबाट मुख्यसचिव एउटा राजदूत पनि नभएको बेला पार्टीको मुख्य नेतृत्व र देशको प्रधानमन्त्री, राष्ट्रपति कहिले होला ? भावी पुस्ताका लागि यो एउटा सोचनीय र चासोको विषय छ । मुलुकको राजनीतिक परिवर्तनमा कर्णाली पनि सामेल भएको छ । पसिना, आँशु र रगत बगाएको छ ।

अरु प्रदेशको जे–जति हक, अधिकार छ, कर्णाली पनि त्यति नै अधिकार राख्दछ तर परिणाम त्यस्तो छैन । स्वाभाविक हिसाबले सबै स्थानमा समान रूपमा आन्दोलन र नेतृत्वको विकास हुँदैन तर सबैलाई समेट्नुपर्ने र जोड्नुपर्ने आवश्यकता, माग र मनोविज्ञानको यो परिवेशमा नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्दछ ।

आजसम्म नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्व भएको छैन । पार्टीको नीतिनिर्माणको केन्द्रीय निकाय पदाधिकारी तहमा कर्णाली प्रदेश मात्रै अनुपस्थित छ जो विडम्बनापूर्ण छ ।

यसपटक दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीमा कर्णालीलाई अनिवार्य समेट्नुपर्दछ भन्ने कर्णालीवासी एमाले जनहरूको आशा, अपेक्षा र विश्वास छ । जहाँसम्म जनमत र पार्टीको प्रभावको कुरा छ मुलुकमा संघीय संरचना सहितको नयाँ संविधान घोषणा भएपछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एमाले पहिलो र सबैभन्दा ठूलो दल हो ।

प्रदेश सभामा (कांग्रेस, माओवादी र राप्रपा) भएका सबै दलको २० सिट एमाले एक्लैको २० सिट प्राप्त भएको थियो । मान्छेहरूले भन्लान् एमाले एक्लैले २० सिट ल्याएको होइन ? के माओवादीले एक्लै १३ सिट प्राप्त गरेको हो ? होइन, वास्तविकता के हो भने एमाले र माओवादीबीचमा चुनावी तालमेल भएपछि केन्द्रबाट गरिएको भागबण्डा अनुसार एमालेले माओवादीलाई र माओवादीले एमालेलाई सहयोग गरेर एमालेले २० र माओवादीले १३ सिट प्राप्त गरेका हुन् । पछिल्लो विभाजनलाई छोडेर आजका दिनमा दलीय हैसियत भनेको एमालेको २० र माओवादीको १२ सिट नै हो । त्यसकारण पनि दशौं महाधिवेशनमा कर्णालीलाई पदाधिकारी चाहिन्छ ।

बदलिंदो राजनीतिक तथा प्रशासनिक संरचना र व्यवस्था अनुसार यदि नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम गरिएन र यहाँको माग र मनोविज्ञानलाई सम्बोधन गरिएन भने त्यसले भविष्यमा यहाँको पार्टी निर्माण र नेतृत्व विकासमा गम्भीर प्रभाव पार्नेछ । दशौं राष्ट्रिय महाधिवेशनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको एउटै आवाज र अभियान सहित पार्टीको पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्व गराउने संकल्प गरेर अगाडि बढौं ।

नेकपा एमालेको जीवनमा यो महाधिवेशन एकता, समझदारी र सिङ्गो देशको मुहार झल्कने नेतृत्व निर्माणको महाधिवेशन हुनेछ । यो महाधिवेशन पछि एमालेले आफ्नो जीवनको काँचुली फेर्नेछ र राष्ट्रिय राजनीतिको नेतृत्व गर्नेछ । विकास र समृद्धिको खाका सहित मुलुकको भाग्य र भविष्य बदल्नका लागि एउटा संकल्प र सपना बोकेर फर्कनेछ ।

(लेखक नेकपा एमाले महाधिवेशन प्रतिनिधि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?