+
+

कांग्रेस सुधारका लागि वैचारिक र नैतिकवान नेतृत्व

डा.मुक्ति पौडेल डा.मुक्ति पौडेल
२०७८ मंसिर ६ गते १२:४९

नेपाली कांग्रेसको १४ औँ महधिवेशन सँघारमै आइसकेको छ । पार्टीको महाधिवेशन नजिकिँदै जाँदा पार्टीका अन्य पदका आकांक्षीहरु पनि चल्मलाएका छन् तर त्यो भन्दा बढी पार्टीको भावी सभापति को हुने भन्ने कुराले निकै ठूलो तरङ्ग ल्याएको छ ।

सभापति पदका लागि पुराना पुस्ताबाट सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल तथा दोस्रो पुस्ताबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइरालालगायत आधा दर्जन जति आकांक्षीहरु देखिएका छन् ।

प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेका पुराना पुस्ताका नेताहरुमध्ये देउवाले पटक, पटक नेतृत्व गरे पनि पौडेलले यो अवसर पाउन बाँकी छ । पार्टीको महाधिवेशन विधान र मुलुकको संविधानले दिएको समयावधिभित्र समेत नगरेर झन्डै झन्डै अवैधानिक अवस्थामा पुर्‍याएका देउवा पार्टी नेतृत्व गर्न पनि असक्षम सावित भएका छन् ।

विगतमा सरकार सञ्चालनका क्रममा अनेकौ विकृति, विसंगति भित्राएर आलोचना खेप्दै आएका देउवा फेरि पार्टी नेतृत्वमा आए कांग्रेसको अवस्था अहिलेभन्दा कमजोर हुनेमा कांग्रेस  कार्यकर्तामा चिन्ता छ । तर विडम्वना देउवालाई हराउन एकमात्र उम्मेदवार हुने घोषणा गरेका संस्थापनइतरका आकांक्षीहरुको दूरी बढ्दै गएको देखिन्छ ।

सत्ताको दररूपयोग गरेर फेरि सभापति पदमा जित्ने अभिलाषासहित अनेकौ हथकन्डा अपनाइरहेका देउवालाई झन सजिलो बनाइदिने काम संस्थापनइतरका नेताहरुमा कांग्रेसप्रति चिन्ता छ भने यो तत्काल सम्वाद अघि बढाएर एउटै उम्मेदवार बनाउनेतर्फ विलम्ब गर्न हुन्न ।

देउवा र संस्थापनइतरबीच प्रतिस्पर्धा भइरहेकाबेला कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुमाझ पार्टी जोगाउने कि पार्टीलाई कमजोर बनाएर असान्दर्भिक बनाउने भन्ने कुराको निर्णय गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । त्यस अर्थमा पनि यो १४ औं महाधिवेशन पार्टी जीवनको लागि ज्यादै महत्वपूर्ण महाधिवेशन ठहरिनेछ ।

सभापति पदमा अन्य आकांक्षीहरु भए पनि अन्त्यमा देउवा र पौडेल बीचमा नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । संस्थापन इतर समूहमा शशांक, सिंह र शेखर प्रतिस्पर्धी देखिए पनि संस्थापन इतर समूहबाट देउवालाई हराउन एउटै उम्मेदवार दिनुपर्ने बाध्यता उनीहरुमा छ ।

उनीहरुबीच एकले अर्कोलाई नेतृत्व स्वीकार गर्न कठिन हुने परिस्थितिमा जे भए पनि पौडेल नै उनीहरुको साझा उम्मेदवार बन्ने सबैभन्दा सरल बाटो हो । कार्यकर्ताले दबाब दिएर पनि संस्थापन इतर समूहबाट उनीहरु एक जनामात्रै उम्मेदवार बन्ने परिस्थिति निर्माण गर्नुको विकल्प छैन ।

महाधिवेशन प्रतिनिधिहरुले सभापति चयन गर्दा राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अलिकति भए पनि कुन उम्मेदवारले अगाडि बढाउन सक्छ भन्ने विचार पुर्‍याउनुपर्छ । व्यक्तिको निहीत स्वार्थ परिपूर्तिका माध्यमबाट पार्टीलाई स्वार्थीहरुको अखाडा बनाउने नेतृत्व छान्ने कि लोकतान्त्रिक समाजवादका माध्यमद्वारा देश र जनताको हितमा काम गर्ने नेतृत्व छान्ने भन्ने द्विविधाबाट महाधिवेशन प्रतिनिधिहरु मुक्त हुन सक्नु नै अहिलेको आवश्यकता हो ।

यदि वैचारिक आन्दोलनका माध्यमद्वारा नेपाली कांग्रेसलाई सशक्त बनाउँदै जाने र कांग्रेसको सबलीकरणबाट राष्ट्रको विकासको परिकल्पना गर्ने हो भने निःसन्देह देउवाका तुलनामा पौडेल सशक्त देखिन्छन् ।

कांग्रेस राजनीतिमा थोरै भएपनि देउवाभन्दा केही समय पहिले सुरु गरेका पौडेल कांग्रेसभित्र २०४६ सालमा बहुदल आएपछि निरन्तर राज्य र सरकारका विभिन्न तहको जिम्मेवारी सम्हालेर पनि बेदाग अहिलेको अवस्थासम्म आइपुगेका धेरै कम कांग्रेस नेतामध्ये एक हुन् । यसमानेमा उनी तुलनात्मक रुपले स्वच्छ छवि भएका नेता पनि हुन् ।

उनीजस्तै पटक–पटक जिम्मेवारी पाएका कांग्रेसभित्रका प्रायः सबै नेताहरू कति भ्रष्टाचारमा जेल पुगे भने संयोगले जेल जानबाट जोगिएका देउवाजस्ता नेताहरू भ्रष्टाचारमा आँखा चिम्लने कोटीमा पर्छन् । बाँकी दोस्रो पुस्ताका नेताहरुलाई दाग लागेको छ भन्ने होइन । तर तुलनात्मक रुपले उनीहरू कतिपय लाभको पद नपाएका कारण वेदागी देखिएका हुन् भने कतिपयले त्यति धेरै जिम्मेवारी नपाइसकेको अवस्था छ । त्यसकारण विकृति, विसंगति र भ्रष्टाचारका कारण कमजोर भएको कांग्रेसका लागि पौडेलजस्तो स्वच्छ आचरण भएको नेतृत्वबाट केही सुधारको आशा गर्ने ठाउँ छ ।

देउवा र संस्थापनइतरबीच प्रतिस्पर्धा भइरहेकाबेला कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुमाझ पार्टी जोगाउने कि पार्टीलाई कमजोर बनाएर असान्दर्भिक बनाउने भन्ने कुराको निर्णय गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । त्यस अर्थमा पनि यो १४ औं महाधिवेशन पार्टी जीवनको लागि ज्यादै महत्वपूर्ण महाधिवेशन ठहरिनेछ ।

बहुदल स्थापना भएको यतिका वर्ष पटक, पटक सत्तामा पुगेर पनि जनताका पक्षमा काम गर्न नसकेको, जनतसमक्ष सेवा प्रवाह गर्न नसकेको र लोकतान्त्रिक पद्धति बसाल्नुको साटो शासन प्रणाली सञ्चालनमा गलत परम्परा सुरु गरेको भनेर कांग्रेसलाई आरोप लाग्दै आएको छ ।

विशेष गरी दोस्रो जनआन्दोलनपछि कांग्रेसले आफ्नो विचारधारा त्यागेर माओवादीको एजेण्डामा लागेको, वीपीको सिद्धान्तलाई बिर्सिएको भन्ने कुरा फैलिनु र यसमा सत्यता हुनु पनि कांग्रेस कमजोर हुनुको अर्को कारण हो । कांग्रेस नेतृत्वमा शान्ति प्रक्रिया सम्पन्न भयो, गणतन्त्र आयो र संविधान निर्माण भयो तर कांग्रेसले जनतामा यी सबै काम कांग्रेसले नै गरेको हो र कांग्रेसबाहेक अन्यको नेतृत्वमा सम्भव थिएन भनेर बुझाउन सकेन ।

खसागरी गत आमनिर्वाचनमा कांग्रेसको नेतृत्व यस्तो पात्रको हातमा थियो, जसले यो परिवर्तनलाई अन्स्करणदेखि नै स्वीकार गर्न सकेको थिएन । अन्तस्करणदेखि स्वीकार नगरेको नेतृत्वमा जनतालाई यो परिवर्तनको बाहक कांग्रेस हो भनेर बुझाउने क्षमता थिएन । वैचारिक रुपमले कमजोर नेतृत्वले यो विषयमा जनतालाई बुझाउन सकेन । कांग्रेस चुनावमा नराम्ररी पराजित भयो ।

जनताले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अन्तस्करणदेखि स्वीकार गर्ने थोरै नेतामध्ये पौडेल एक हुन् । तुलनात्मक रुपले उनको नेतृत्वको कांग्रेस भए सगौरव यो परिवर्तनमा कांग्रेसको निर्विकल्प नेतृत्वबारे जनतालाई बुझाउने सामथ्र्य पैदा हुनसक्छ । वैचारिक दृष्टिकोणले पनि अहिलेका दावेदारमध्ये पौडेल सबैभन्दा अब्बल देखिन्छन् ।

पुरानो पुस्ताको भएका कारण र उमेरका हिसाबले पौडेललाई देउवासँगै जोडेर नयाँ पुस्ता आउनुपर्छ भन्ने पनि केहीको मत छ । तर देउवाकै उमेरको भएर पनि पौडेलमा चिन्तन कुनै युवाको भन्दा कम छैन। पार्टीको काममा पनि उनको सक्रियता कुनै युवा नेताको भन्दा कम छैन । विचार र सक्रियताका हिसाबले उनलाई देउवासँग जोडेर मूल्यांकन गर्नु सरासर अन्याय हुनेछ भन्दा गलत नहोला ।

हो, पौडेलका पनि केही अवगुण नभएका होइनन् । तर उनका अवगुण नितान्त निजी र व्यवहारगत छन् जसले देश र जनताको अहित गरेको भनेर अहिलेसम्म कसैले धेरै ठूलो प्रश्न उठाएको जानकारीमा छैन ।

पौडेल अफ्नो पक्षमा गुट निर्माण गर्ने कुरामा कमजोर मानिन्छन् । गुटबन्दी गरी आफ्ना दैलो चाहार्नेहरुको मात्र स्वार्थ हेरी पार्टीका निष्ठावान नेता, कार्यकर्ता आफ्नो गुटमा नभए सिध्याउने खेल नै नेतृत्वका लागि सबल पक्ष हो भने त्यसमा साँच्चिकै पौडेल कमजोर छन् ।

पार्टी सभापति हुने योग्यताको आधार त्यही बन्ने हो भने अब कांग्रेसको भविष्य छैन र यसमा गुटगत राजनीतिमा नलाग्ने निष्ठावान नेता, कार्यकर्ता नलागे पनि हुने भयो । असल कांग्रेस भएर बस्न चाहनेको अहिलेको पीडा नै गुटगत राजनीतिबाट उपेक्षित हुनु हो ।

यसमा देउवा सबैभन्दा अगाडि छन् । पार्टीका सन्त नेता कृष्णप्रसाद भट्टराई र नेता गिरिजाप्रसाद कोइरालाको विवादमा पनि पौडेल कुनै गुटमा नलागी मध्यमार्गी र उनकै शब्दमा ‘सेतु’ को भूमिकामा थिए । कांग्रेस सबल बनाउने अहिले चाहिएको एउटा योग्यता यो पनि हो ।

पौडेल जति वरिष्ठ र वैचाािरक नेता कांग्रेसमा मात्र होइन अन्य पार्टीमा समेत निकै कम छन् तर यसलाई कांग्रेसले कुनै महत्व दिनसकेको छैन । सिद्धान्त, आदर्श र विचारबाट पार्टी र पार्टीका सदस्यहरु अभिप्रेरित भएर राजनीति र जनताको सेवामा प्रवाहित हुनुपर्दछ भनेर संघर्ष गरिरहने नेताहरुलाई उपेक्षा गर्दै जाने हो भने निष्ठा र विचारको राजनीतिको मुलुकमा खडेरी पर्नेतर्फ महाधिवेशन प्रतिनिधिहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

नेपाली कांग्रेसका लागि मात्र होइन, पौडेल नेपालको लोकतन्त्रका लागि पनि चाहिने नेता हुन् भन्ने राजनीतिक घटनाक्रमहरुले देखाएका छन् । पञ्चायत विरुद्धका आन्दोलनहरुमा मात्र होइन, वि.सं. २०४७ पछिको प्रजातान्त्रिक काल र त्यसपछिका हरेक आन्दोलनमा उनले आफूलाई एउटा सच्चा लोकतन्त्रवादीका रुपमा उभ्याएका छन् । देउवाले संसदीय व्यवस्थालाई विकृत बनाउने जुन अभ्यास सुरु गरे, प्रजातन्त्रलाई दरबारमा बुझाउने काम गरे, पौडेल त्यसविरुद्ध संघर्ष गरेका नेता हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरे । उनको यो असंवैधानिक कदममार्फत ५ वर्षका लागि जनताले दिएको जनादेशको अपमान गर्दै लोकतन्त्रलाई नै अँध्यारो सुरुङ्गभित्र हाले । ओलीको यो कदमविरुद्ध उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायत अन्य दलका नेताले प्रतिगमन परास्त गर्ने आन्दोलनको उद्घोष गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक त भन्यो तर यसको नेतृत्वबाट आन्दोलन गर्न अनइच्छा प्रकट गर्‍यो । कांग्रेस सभापति देउवा ओलीको कदमविरुद्ध आन्दोलन गर्नुभन्दा यहि मौका छोपी चुनावमा जानुपर्ने पक्षमा उभिए । उनको यो आफ्नो नीजि स्वार्थका लागि लोकतन्त्र र संविधानमाथि आएको संकटप्रतिको उपेक्षा हो ।

पार्टी नेतृत्व असंवैधानिक भनिएको चुनाव घोषणाका लागि तयार भइरहेका बेला वरिष्ठ नेता पौडेलसंविधान र लोकतन्त्रलाई संकटबाट जोगाउनुपर्ने पक्षमा उभिए । निजी स्वार्थकै कुरा गर्ने हो भने चुनाव हारेका पौडेलका लागि चुनावमा जानु अनुकुल थियो । तर निजी स्वार्थका लागि उनले देउवाले झैं संविधान र लोकतन्त्रलाई संकटमा पार्ने पक्षधरता लिएनन् ।

उनको सबैभन्दा ठूलो सामथ्र्य भनेकै यही हो । पौडेल लोकतन्त्रका सन्दर्भमा कसैसँग कुनै सम्झौता गर्दैनन् । यो विवादले केही समय अन्योलग्रस्त बनेको कांग्रेस अन्ततः पौडेलले लिएको नीतिको पक्षमा आउन बाध्य भयो ।

लोकतन्त्र बचाउने यो अभियानमा कांग्रेसबाट पौडेलले गरेको यो नेतृत्व सफल पनि भयो र आज त्यहि कारण देउवा सत्ताको सिंढी चढेका छन् । नीति एउटाको नेतृत्व अर्कैको हुने यो विडम्वनापूर्ण अवस्थालाई अब पनि नहटाउने हो भने किन कोही सहि विषयमा नेतृत्व लिन तयार हुन्छ ?

कांग्रेसको भावी सभापति चयन गर्न कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु स्वतन्त्र छन् । कुनै पनि प्रकारको दासता स्वीकार नगरी कांग्रेसको भावी जीवनका बारेमा चिन्तन गरेर महाधिवेशनबाट नेपाली कांग्रेसको सशक्त, वैचारिक र क्रियाशील नेतृत्व चयन गर्न सक्नु नै उनीहरुको सफलता हुन्छ ।

सभापति हुने इच्छा बोकेका आकांक्षीहरुबाट नेतृत्व छान्ने कि पार्टीलाई वैचारिक रुपले अघि बढाउँदै शसक्त बनाउन सक्ने सभापति चयन गर्ने महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुअघि छातीमा हात राखेर एक पटक सोचून् ।

डा.पौडेल त्रिविका उपप्राध्यापक हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?