+
+

किम्फको १९औं संस्करण मंसिर २३ देखि २७ सम्म काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १७:०६

१९ मंसिर, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

महोत्सव चलचित्र विकास बोर्डको हलमा हुनेछ । किम्फमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गगरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष रुपमा दर्शकले हेर्न सक्नेछन् ।

यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य किनोट प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो वर्ष किम्फ र युरोपेली संघले नेपाली चलचित्र मेकरहरुका लागि ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ शीर्षकमा लघु चलचित्र प्रतियोगिता पनि गरिने छ ।

महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

यस वर्ष किम्फको निर्णायक मण्डलमा स्वीस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । तीन जनाको निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका ४० चलचित्र र नेपाली पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन चलचित्रको निर्णय गर्नेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो स्थान हासिल गर्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा अमेरिकी फोटोग्राफर सिरा क्रोवेलको मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा ‘मेरो खोज यात्रा’ नामक स्वीस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ‘ब्रिज टु द थर्ड वल्र्ड’को नेपाली अनुवाद तथा ‘सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम टप अफ दी वल्र्ड’ लगायत फिल्म प्रदर्शन हुने बताइएको छ ।

किम्फमा ‘ब्रेकिङ कोड रेड–डिग्निटी विथ डेन्जर’ शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र ‘कोपिङ विथ क्लाइमेट कर्म’ शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि हुनेछ ।

पत्रकार सम्मेलनमा किम्फका अध्यक्ष वसन्त थापाले महोत्सवमा देखाइने चलचित्र र यसमा समावेश गरिने कार्यक्रमले दर्शकलाई मनोरञ्जन र सचेतना प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?