+
+

काठमाडौंमा च्याम्पियन भए जुम्लाका प्रकाश र राममाया

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:२७

२० मंसिर, काठमाडौं । सोमबार शुरु भएको युथ एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत ३ हजार मिटर दौडमा जुम्लाका प्रकाश कठायतले स्वर्ण पदक जितेका छन् । पहिलो पटक त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथ्लेटिक्स ट्र्याकमा दौडिएका उनले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जिलेका हुन् ।

प्रतियोगिता अन्तर्गत महिलाको ३ हजार मिटर दौडमा जुम्लाकै राममाया बुढाले १० मिनेट ४४.५ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितिन् । जुम्लादेखि काठमाडौं आएर विजेता बन्दा उनीहरु खुशी देखिन्थे ।

‘पहिलो पटक यहाँ आएर दौडेको हो । खेलाडी भएपछि जित्ने भनेर नै आएको हुन्छ’ स्वर्ण जितेपछि प्रकाशले भने, ‘सानो हुँदा हरि रोकाया गुरुको नाम रेडियोमा धेरै सुनेको थिएँ । त्यही भएर नै दौडिन थालेको हो । अहिले उहाँसंगै दौड सिकिरहेको छु ।’

यसअघि जुम्ला र नेपालगञ्जका स्थानीय प्रतियोगितामा दौडिएका प्रकाश जुम्लामै ११ कक्षामा पढ्दैछन् । ‘सकेसम्म राष्ट्रकै लागि केही गर्ने मन छ । भए राष्ट्रका लागि नभए स्वास्थ्यका लागि’ आफ्नो दौडनुको उद्देश्यबारे भने ।

दशरथ रंगशालाको ट्रयाकमा सोमबार सुरु च्याम्पियनसिपमा कपिलवस्तुका अजय पाण्डे ९ मिनेट ४० सेकन्डमा पूरा गर्दै दोस्रो भए भने ललितपुरका महेश सिडालीले ९ मिनेट ४१ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए ।

महिलातर्फ जुम्लाकै बन्दना बुढाले ११ मिनेट २१.९ सेकेण्डमा दौड पूर गरेर दोस्रो र सुर्खेतकी विमला कार्कीले ११ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

कर्णाली स्पोर्ट्स क्लबबाट आएका प्रकाश र राममायालगायत खेलाडीहरु जुम्लाको प्रतिनिधित्व गरेर खेलिरहेका छन् । उक्त टिमका प्रशिक्षक सीता न्यौपानेले जिल्ला र स्थानीय तहबाट खासै सहयोग नभएको बताउँछिन् ।

जुम्लामा हरि रोकायालाई प्रशिक्षणमा सघाइरहेकी सीता आफैं पनि खेलाडी हुन् । उनले अहिले युथ टिम भएकोले प्रशिक्षण दिएको बताइन् ।

नेपाल एथ्लेटिक्स परिवारको आयोजनामा भएको दुई दिने च्याम्पियनसिपमा २० वर्षमुनि र १६ वर्षमुनिका खेलाडीका गरी कूल २८ विधामा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?