२३ मंसिर, काठमाडौं । विवाहपछि शायद सबैले चाहन्छन्, आफ्नै गर्भको बालबच्चा हुर्काउन पाइयोस् । महिलाहरुमा त यो इच्छा अरु प्रगाढ हुन्छ । आफ्नै गर्भको बच्चा, आफ्नै काखमा खेलाएर हुर्काउने । तर, सबैको भागमा यस्तो सन्तान-सुख प्राप्त नहुन सक्छ ।
हाम्रै समाजमा कतिपय दम्पती छन्, जसलाई सन्तानको रहर हुँदाहुँदै पनि काख रित्तो छ । आखिर किन यस्तो हुन्छ ? कुन अवस्थामा एउटी महिला सन्तान जन्माउन असक्षम हुन्छिन् ? के कारण कुनै दम्पती निःसन्तान हुन पुग्छन् ?
यी प्रश्नको एक मात्र जवाफ छैन । यसको जवाफ दिनुअघि भनिहालौं, अहिले यस्ता केही विकल्प छन् जसबाट सन्तान–सुख प्राप्त गर्न सकिन्छ । आफ्नै वंशको, आफ्नै गर्भको बच्चा जन्माउन सकिन्छ । चिकित्सा विज्ञानले यसलाई सम्भव मात्र होइन, सरल पनि बनाइदिएको हो ।
निःसन्तान दम्पतीले कसरी, कुन विधि र प्रक्रियाबाट बच्चा जन्माउन सक्छन् त ? यो कति लामो प्रक्रिया हो ? यसका लागि के–कस्ता तयारी गरिन्छ ? कति खर्च लाग्छ ? कति भरपर्दो हुन्छ ? यसबारे सिलसिलाबद्ध चर्चा गरौं ।
जब सन्तानको योजना विफल हुन्छ
विवाहपछि दम्पतीले सन्तानको योजना बनाउँछन् । मासिक चक्रको आधारमा महिलाको अण्ड र पुरुषको शुक्रकीट आपसमा मिलन भएपछि गर्भधारण हुन्छ । गर्भधारण भएको संकेत केही समयमै मिल्छ ।
तर, कतिपय दम्पतीको हकमा यस्तो हुँदैन । पटक–पटकको प्रयासमा पनि गर्भ रहँदैन । गर्भ रहेर पनि पतन हुने वा गर्भ नै नरहने समस्या हुनसक्छ । यसलाई बोलीचालीको भाषामा ‘बाँझोपन’ भनिन्छ । गर्भनिरोधको चक्की वा साधन प्रयोग नगरी, एक वर्षसम्म नियमित रुपमा यौन सम्पर्कमा रहँदा पनि यदि गर्भ रहँदैन भने त्यो बाँझोपनकै संकेत हुनसक्छ ।
उमेर : महत्वपूर्ण पाटो
बाँझोपन हुनुमा धेरै कारण हुनसक्छ । ३५ वर्षभन्दा बढी उमेर भएमा गर्भाशयबाट अण्ड निषेचित नहुन सक्छ । यसैगरी पुरुषको शुक्रकीट कम र गुणस्तरहीन हुनसक्छ । यी दुवै अवस्थामा गर्भ रहँदैन । त्यसैगरी पाठेघरको ट्युब बन्द भएर, पाठेघरको कुनै दीर्घ समस्या भएमा गर्भाधान नहुन सक्छ । कहिलेकाहीं यस्तो समस्या जन्मजात पनि हुनसक्छ ।
पछिल्लो समय खराब खानपान, जीवनशैली, तनावले हर्मोन असन्तुलन हुने र गर्भ नरहने समस्या पनि उत्तिकै छ ।
अहिले बाँझोपनको कारण के पनि छ भने विवाहको उमेर बढेको छ । २८-३० वर्षपछि मात्र विवाह गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तानको योजना नबनाउने, आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्ने, गर्भपतन गर्ने जस्ता कुराले पनि गर्भधारणमा समस्या निम्त्याउँछ ।
अहिले धेरैजसोलाई थाइराइडको समस्या छ । गर्भाधान नहुनुमा यो पनि एक मुख्य कारण हो । थाइराइडको कारण अनियमित मासिकश्राव हुने, रगत जम्ने जस्ता समस्या देखिन्छ । यी अवस्थामा गर्भमा बच्चा बस्दैन । बच्चा बसेपनि गर्भपतन हुने जोखिम रहन्छ ।
यसैगरी पाठेघरको क्यान्सर पनि अहिले बढ्दो अवस्थामा छ । पाठेघरको क्यान्सर भएको छ भने गर्भ नरहन सक्छ ।
बाँझोपन : अब डर छैन
के कारणले बाँझोपन भएको हो ? यसको कारण खोजेर सोही अनुरुपको विधि अपनाउन सकिन्छ । कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई मासिक चक्र अनुसार कुन समयमा शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने थाहा हुन्न । मासिक चक्रअनुसार कुन अवधिमा गर्भ रहन्छ भन्ने सामान्य जानकारी दिएपछि उनीहरुको समस्या हल हुन्छ ।
यद्यपि कतिपयमा भने बाँझोपनको समस्या हुनसक्छ । खुशीको कुरा के भने अब बाँझोपनकै कारण सन्तान–सुखबाट विमुख हुनुपर्ने बाध्यता छैन । यसका केही विकल्प छन्, जसलाई समग्रमा हामी ‘टेस्ट ट्युब विधि’ भनिन्छ । चलनचल्तीमा र सजिलै बुझिने भएकाले यसलाई टेस्ट ट्युब विधि भनिएपनि यसभित्र पनि भिन्नाभिन्नै अवस्था र तौरतरिका हुन्छन् ।
निःसन्तानलाई बरदान
जब कुनै दम्पती सन्तानको योजनामा छन् । नियमित शारीरिक सम्पर्कमा छन् । तैपनि बच्चा बसिरहेको छैन । यस्तो अवस्थामा रहिरह्यो भने हामी शुरुमा पाठेघरको जाँच गर्छौं । त्यहाँ कुन किसिमको समस्या छ ? सोही अनुरुप समाधानको बाटो खोजिन्छ । यसको शुरुआती प्रक्रिया भनेको औषधि वा खोप हो । यसले अण्ड निषेचित गराउँछ ।
श्रीमानको शुक्रकीटको संख्या र गुणस्तर कम छ, यौन सम्पर्कमा कुनै असहज स्थिति छ भने पनि गर्भाधान भइरहेको हुँदैन । यस्तो अवस्थामा श्रीमानको शुक्रकीट लिइन्छ । त्यसबाट उच्च गुणवत्तायुक्त शुक्रकीट र अस्वस्थ शुक्रकीट अलग गरिन्छ । गुणवत्तायुक्त शुक्रकीट श्रीमतीको पाठेघरमा राखिन्छ । त्यहाँ शुक्रकीट र अण्ड प्राकृतिक रुपमा निषेचित हुन्छ । यो प्रक्रियालाई मेडिकल भाषामा हामीले आईयूआई (अन्तर्गर्भाशयी गर्भाधान) भन्छौं ।
यो पाँच-दश मिनेटको प्रक्रिया हो । यसमा महिलालाई बेहोस गर्नुपर्ने जस्तो कुनैपनि अवस्था आउँदैन । यो प्रक्रिया पहिलो चरणमा सफल भएन भने पनि आत्तिनु पर्दैन । चार-पाँच पटकसम्म गर्न सकिन्छ ।
अब पाँचौं पटकसम्म प्रयास गर्दा पनि बच्चा बस्न सकिरहेको छैन भने हामी आईभीएफमा जानुपर्छ । यसैगरी कतिपय अवस्थामा महिलाको पाठेघरको दुवै नली बन्द हुनसक्छ । महिलाको के हुन्छ भने, डिम्ब आफैं निषेचित भएर पाठेघरमा आउनुपर्छ । तर, नली नै बन्द भयो भने अण्ड पाठेघरमा आउँदैन । यस्तो अवस्थामा पनि हामीले आईभीएफ विधिमा जानुपर्छ ।
आईभीएफलाई हामी ‘इन भिट्रो फर्टिलाइजेसन’ भन्छौं । प्राकृतिक गर्भधारण गर्दा के हुन्छ भने महिलाको डिम्बाशयबाट अण्ड उत्पादन हुन्छ । त्यो अण्ड पाठेघरको नलीमा आएर बस्छ । अब श्रीमानसँग शारीरिक सम्पर्क भइसकेपछि शुक्रकीट पाठेघरमा पुग्छ । पाठेघरमा अण्ड र शुक्रकीट निषेचित हुन्छ र गर्भ रहन्छ । यी सबैकुरा शरीरको भित्री भागमा हुने भएकाले यसलाई हामी इन भिट्रो फर्टिलाइजेसन भन्छौं ।
अब आईभीएफमा के हुन्छ भने शुरुमा त महिलाको मासिक चक्रलाई ख्याल गर्नुपर्छ । पाठेघरको अवस्था जाँच गरिन्छ । त्यसपछि उक्त महिलालाई हाम्रो निगरानीमा राख्छौं । मासिक श्राव भएको १०-१२ दिनपछि अण्ड निषेचनका लागि इन्जेक्सन दिइन्छ । त्यसपछि त्यहाँ सुई छिराएर अण्ड निकालिन्छ ।
त्यही दिन हामीले श्रीमानलाई बोलाएका हुन्छौं । श्रीमानले वीर्यको नमुना निकाल्छन् । त्यसपछि ल्याबमा लगेर शुक्रकीट र अण्डलाई फर्टिलाइज गरिन्छ । त्यस दिन श्रीमान र श्रीमतीलाई चार-पाँच घण्टा निगरानीमा राखेर घर पठाइन्छ ।
अनि तीन-चार दिनपछि श्रीमतीलाई बोलाइन्छ । यसदिन श्रीमान नभए पनि हुन्छ । श्रीमतीलाई ल्याबमा लगेर जुन भ्रुण बनेको हुन्छ, त्यो पाठेघरमा लगेर राखिदिन्छौं ।
भ्रूण ल्याबमा तयार भएपनि त्यो पाठेघरमै राखेर पाठेघरमै हुर्किन्छ । यसरी आफ्नै वंश खोज्ने हामीकहाँ जुन मानसिकता छ, त्यस अनुरुप नै यसरी बच्चा जन्माउन सकिन्छ ।
यसमा केही जटिलता हुने भनेको सबै प्रक्रिया सफल भएर पनि कहिलेकाहीं गर्भपतन हुनसक्छ । यसैगरी यसमा जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मने सम्भावना पनि रहन्छ । तर, यसको सबल पक्ष भनेको के हो भने यदि दम्पतीमा कुनै वंशानुगत समस्या छ भने त्यो बच्चामा सर्न पाउँदैन । सामान्य हिसाबले गर्भाधान गर्दा वंशानुगत समस्या पनि बच्चामा आउन सक्छ । तर, आईभीएफ गर्दा आमाको अण्ड र बाबुको शुक्रकीट दुवै निकाल्न अनि ल्याबमा राखेर स्क्रिनिङ गरिने भएकाले वंशानुगत समस्या भए वा नभएको पहिले नै थाहा हुन्छ ।
सन्तान योजना
नेपालीमा प्रचलित भनाइ नै छ, ‘बिहेवारी बीस वर्ष पारी ।’ यसको अर्थ के पनि हो भने २० वर्षको उमेरपछि एक महिला-पुरुष सन्तान उत्पादनका लागि योग्य हुन्छन् । एउटा निश्चित उमेर अवधिमा गर्भधारण गर्नु र सन्तान जन्माउनु उचित हुन्छ । यो अवधि भनेको २२ वर्षदेखि ३५ वर्षको हो । यो भन्दा कम वा बढी उमेरमा गर्भधारण गर्नु तुलनात्मक रुपमा त्यति उपयुक्त नहुन सक्छ ।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सिंह जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत् छिन् ।)
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4