+
+

एमालेले संसद अवरोध गर्नु कानुनसम्मत छैन : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:०६

२७ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अघिल्लो अधिवेशनमा प्रमुख विपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोध कानुन र नियमसम्मत नरहेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमालेले गरेको संसद अवरोध नियम र कानुन अनुसार नभएको बताएका हुन् ।

‘उहाँहरुले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्’ उनले भने ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले मान्यता दिएका थिएनन् । त्यसैले अघिल्लो अधिवेशनमा एमालेले सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै संसद बैठक अवरुद्ध गरेको थियो । तर सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गरेको दावी गरे ।

‘जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरि मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरि त्यही गर्न म प्रतिवद्ध छु’ सभामुख सापकोटाले भने ।

उनले संसदको प्रभावकारिता राजनीतिक दलहरुको भूमिकामा निर्भर हुने बताएका छन् । ‘मुख्यत्ः यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भुमिका देखिँदै जान्छ ।’

मंगलबारदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै संसद अवरोधलाई निरन्तरता दिने आशय व्यक्त गरेका थिए । सभामुख सापकोटाले आवश्यक परे विपक्षी दलसँग छलफल गर्ने बताए ।

‘मेरो तर्फबाट सोचेको, कार्यव्यवस्था (परामर्श समितिको बैठक)मा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने, आवश्यकता अनुसार फेरि सर्वदलीय बैठकहरु गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ’ उनले भने ।

मंगलबार संसद अधिवेशन शुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका छन् । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण भइरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?