+
+

योजना आयोगको सुझाव : वायुसेवा निगमलाई कम्पनी मोडल लैजाऊ

राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर २८ गते १८:१०

२८ मंसिर, काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ । पर्यटन नीति २०६५ तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको पुनरवलोकन गर्ने सन्दर्भमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारी स्तरबाटै आएको यो आठौं प्रतिवेदन हो । यसअघि सातवटा प्रतिवेदनले सरकारलाई नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सुझाव दिइसकेका छन् ।

पर्यटन नीति २०६५ मा सम्बोधन गर्नुपर्ने विशिष्ट मुद्धाका रुपमा योजना आयोगले राष्ट्रिय ध्वजाबाहकको सुदृढीकरणलाई समेटेको छ । यसमा आयोगले राष्ट्रिय ध्वजाबाहकको क्षमता विस्तार तथा व्यवस्थापकीय सुधारमा जोड दिएको छ ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय ध्वजावाहकको क्षमता विस्तार नगरी नेपालको प्रचुर पर्यटकीय सम्भावनाको उपयोग गर्न सकिदैन ।’ यसका लागि नेपाल वायुसेवा निगममा निरन्तर जहाज थप्दै जाने र व्यवस्थापन सुधारको काम समेत सँगै लैजानुपर्ने सुझाव आयोगको छ ।

व्यवस्थापन सुधारका सन्दर्भमा नेपालसँग स्वार्थको द्वन्द्व नभएको विदेशी एयरलाइन्सलाई व्यवस्थापन करारमा दिई अन्य एयरलाइन्ससँग कोड शेयरमा सञ्चालन विस्तार तथा बजार प्रवद्र्धन गर्न सकिने सुझाव दिइएको छ ।

अध्ययन समितिहरुले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न र व्यवस्थापनमा साझेदार भित्र्याउन सुझाव दिए पनि सरकारले यसतर्फ पाइला चालेको छैन ।

यस्तो छ आयोगका सुझाव

· नेपाल वायुसेवा निगमको कानूनी हैसियतमा सुधार गर्न लिमिटेड कम्पनीमा परिणत गरी रणनीतिक साझेदार भित्र्याउने ।

· नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न सक्षम तथा विश्वासिलो विदेशी एयरलाइन्सलाई निश्चित अवधिका लागि निगमको व्यवस्थापन करारमा दिने ।

· नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधारसँगै प्रत्येक वर्ष निश्चित संख्यामा अन्तर्राष्ट्रिय तथा घरेलु उडानका लागि जहाज थप्दै जाने ।

· नेपाल वायुसेवा निगमको विद्यमान आर्थिक विनियमावलीमा परिमार्जन गरी कुनै पनि एउटै निर्माता कम्पनीबाट सिधै प्रस्ताव लिई जहाज खरीद गर्न सक्ने व्यवस्था गर्ने ।

महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सुझाव

योजना आयोगले नेपाल वायुसेवा निगमको महाप्रवन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सुझाव दिएको छ । यो पदमा स्वतन्त्र, निष्पक्ष र योग्यता प्रणालीबाट छानिएको व्यक्तिलाई नियुक्त गर्न आयोगको सुझाव छ ।

नेपाल वायुसेवा निगमको व्यवस्थापन, इन्जिनियरिङ र बजारसहित समग्र क्षेत्रमा सुधारको कार्यक्रम लागु गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको छ । निगमले काठमाडौंबाट मात्र नभई पोखरा, विराटनगरसहित हब विमानस्थलबाट क्षेत्रीय उडान विस्तार गर्न जनतालाई सेवा दिनुपर्ने सुझाव छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?