+
+

चालक निदाउँदा अकालमै जान्छ यात्रुको ज्यान

राजन दाहाल राजन दाहाल
२०७८ पुष ३ गते १५:२५

३ पुस, हेटौंडा । २०७८ कात्तिक २३ गते मध्यराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भयो भने १८ जना घाइते भए । जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको बस र हेटांंैड तर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको खाली ट्रकसँग ठक्कर खाएर दुर्घटनाग्रस्त भएको थियो ।

ट्रकका चालक ३३ वर्षका टंकबहादुर विक निदाएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान छ । कात्तिक २० गते राति करिब ११ बजे हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानी नजिक बसको ठक्करबाट देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको थियो ।

दुर्घटनामा आठ जना घाइते भएका थिए । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरे । यो घटनामा पनि सवारी चालक रौतहट चन्द्रपुर नगरपालिका–४ का अमितकुमार कार्की चालक निदाएको प्रहरीको अनुमान छ ।

रातिको समयमा हुने अधिकांश सवारी दुर्घटना अत्यधिक गति र चालक निदाएका कारण हुने गरेको ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डे बताउँछन् । उनले भने, ‘लामो दुरीमा गुड्ने सवारी एउटा मात्र चालकले हाँक्दा थकानका कारण चालक निदाउँछन् जसले गर्दा सवारी दुर्घटना हुन्छ ।’

पाण्डेका अनुसार एउटा चालकले दैनिक सात÷आठ घण्टाभन्दा बढी सवारी साधन चलाउन सक्दैन । तर, पूर्वपश्चिम राजमार्गमा चल्ने बस तथा ट्रकमा एउटै चालकले १४ घण्टासम्म सवारी चलाउने गरेका छन् । ‘शरीरलाई आराम नदिएर निरन्तर सवारी चलाउँदा रातिको समयमा धेरै दुर्घटना हुने गरेको हामीले अनुसन्धानको क्रममा देख्छौं’ उनी भन्छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको मनहरीदेखि चुरियामाई मन्दिरसम्मको सडक साँघुरो र खाल्डाखुल्डी धेरै भएका कारण पनि सवारी दुर्घटना बढिरहेको हो ।

गत आर्थिक वर्ष २०७७÷०७८ मा दुईसय ५० वटा सवारी दुर्घटना भएको थियो । गत साउनदेखि मंसिरसम्म ९२ वटा सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ७४ जना गम्भीर घाइते र २११ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा १ सय २० वटा सवारी दुर्घटना भएको थियो ।

प्रहरीले दुर्घटना न्यनीकरण कार्यक्रम सञ्चालन गरेपनि त्यसको प्रभाव नगन्य देखिएको छ । ‘हामीले कागजपत्र, मादक पदार्थ सेवन र ओभर स्पीड मात्र हेर्छौ देख्दा सबै ठीकठाक हुन्छन् तर अलि पर गएपछि टेर्दैनन्’ प्रहरी उपरीक्षक रिमाल भन्छन् ।

धेरै कमाउने लोभमा असुरक्षित तरिकाले ओभरटेक गर्ने र समयमै मेकानिकल परीक्षण नगर्दा पनि सवारी दुर्घटना भइरहेको छ । रिमालले सवारीको स्पीड परीक्षण गर्ने मेसिन नहुदा पनि आफूहरुलाई काम गर्न समस्या हुने गरेको बताए ।

नारायणी यातायात व्यवसायी संघ हेटौंडाका महासचिव सरोज खनालले दुरीका आधारमा चालक परिर्वतन गर्नुपर्ने नियम रहेको बताए । ‘दुरीको आधारमा सवारी चालक परिवर्तन हुनुपर्छ । त्यो भएको छ वा छैन भनेर हेर्न संयन्त्र आवश्यक छ’ उनले भने ।

सडक साँघुरो र खाल्डाखुल्डी भएका कारण धेरै दुर्घटना हुने गरेको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?