+
+
फिल्म समीक्षा :

स्पाइडर म्यानः नो वे होम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १७:५६

४ पुस, काठमाडौं । ‘स्पाइडर म्यानः नो वे होम’ एक सुपरहिरो फिल्म हो, जुन मार्बल कमिस्क्सको चरित्र स्पाइडर म्यानमा आधारित छ । यस फिल्मलाई कोलम्बिया पिक्चर्स र मार्बल स्टुडियोले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

स्पाइडर म्यानः होम कमिङ (२०१७) र स्पाइडर म्यानः फार फ्रम द होम (२०१९)को सिक्वेल हो स्पाइडर म्यानः नो वे होम । यदि यी दुवै शृंखला हेर्नुभएको छैन भने केही छैन, ‘स्पाइडर म्यानः नो वे होम’ले कुनै अलमल वा द्विविधा नराखी तपाईंलाई कथाको बेगसँगै दौडाउँछ । यदि अघिल्लो दुई फिल्म हेर्नुभएको छ भने त मनोरञ्जन दोब्बर लिनुहुनेछ । निर्देशक जोन वाट्सले फिल्मलाई यति तगडा बनाएका छन् कि साढे दुई घण्टासम्म दर्शकको आँखा अविछिन्न रुपमा पर्दामा एकोहोरिन्छ ।

‘स्पाइडम्यानः फार फ्रम होम’ जहाँ गएर सकिन्छ, त्यहींबाट ‘स्पाइडरम्यानः नो वे होम’ शुरु हुन्छ । अब दुनियाँलाई थाहा छ कि पिटर पार्कर नै स्पाइडर म्यान हुन् । कतिले त उनलाई खराब पात्रको रुपमा चित्रित गरेका छन् । उनीमाथि हत्या हिंसाको आरोप लागेको छ । त्यसैले प्रहरी उनको पछि लागेका छन् । अर्कोतिर उनको निजी जीवन पनि उथलपुथल भएको छ । पिटर अचानक सर्वत्र चर्चाको पात्र बनेका छन् ।

उनी आफ्नो जीवनको यो दशा उल्टाउन चाहन्छन् । त्यसैले उनी डा. स्ट्रेन्जकहाँ पुग्छन् । डाक्टर स्ट्रेन्जसँग यस्तो सूत्र छ, जसको माध्यमबाट पिटर नै स्पाइडर म्यान हुन् भन्ने कुराबाट विश्वलाई विस्मृत गराइनेछ । अर्थात् पिटरको पहिचान पूर्ण रुपमा बिर्सियोस् । तर, मन्त्रको क्रममा मूर्खताको कारण बिग्रन्छ । अब त ‘स्पाइडरम्यान’का पाँच पुराना खलपात्र पनि पिटरलाई सिध्याउने खेलमा मैदानमा उत्रिन्छन् । त्यसपछि कथामा यस्तो उतारचढाव आउँछ, जसले दर्शकको मनलाई स्थिर रहन दिँदैन ।

यसको कथ्य संरचना नै निकै खँदिलो छ र यो उतारचढावपूर्ण छ । फिल्मको शुरुआती चरण पिटर पार्कर, उनकी गर्लफ्रेण्ड, साथी र स्ट्रेन्जका लागि खर्चिइएको छ । उनीहरु कसरी आफ्नो समस्यालाई साम्य गर्न जोडतोडले लागेका छन् । तर, जब उनीहरुको काम बिग्रन्छ । तब कथा अर्कै तहमा उक्लिन्छ ।

यसपछि भने कथा अरु तीव्र रुपमा अगाडि बढ्छ । भरपुर द्वन्द्वसँगै एकमाथि अर्को दृश्यले दर्शकलाई रोमाञ्चित बनाइरहन्छ । यस्ता केही दृश्य छन्, जसले दर्शकलाई ताली र सिठी बजाउन उक्साउँछ ।

फिल्मको स्क्रिनप्ले एकदमै उत्कृष्ट छ । रोमान्स, एक्सन र इमोसनको राम्रो संयोजन छ । साथै स्पेशल इफेक्ट्समा पनि उत्तिकै ध्यान दिइएको छ । दर्शकले सोच्नेपनि फुर्सद पाउँदैनन् कि अब के हुन्छ ? तूफानी बेगमा कथाले दर्शकलाई कहाँदेखि कहाँ पुर्‍याइदिन्छ ।

हरेक पात्रलाई जोडदार ढंगले प्रवेश गराइएको छ, जसले दर्शकलाई रोमाञ्चित बनाइदिन्छ । पिटर पार्करको भूमिका वास्तवमै जोडदार छ । उनलाई आफ्नो शक्तिमा कति पनि घमण्ड छैन । सत्यको पक्षमा लाग्नु नै उनको मूल चरित्र हो । भनिन्छ नि, सत्यको बाटोमा हिँड्न मुस्किल छ । त्यसैले उनी अनेक समस्या वा अप्ठ्यारामा फस्छन् । यद्यपि उनले आफ्नो धर्म भुल्दैनन् । पिटरका यी सबै कुरा दृश्यभाषाको माध्यमबाट एकदमै राम्ररी अभिव्यक्त गरिएको छ । फिल्म एक भावुक दृश्यसँगै टुंगिन्छ । यसले के पनि संकेत गर्छ भने फिल्मले अर्को भागको लागि पनि कथा साँचेको छ ।

निर्देशक जोन वाट्सले हास्य, भावना र द्वन्द्वको सन्तुलन मिलाएका छन् । ठाउँठाउँमा हास्य दृश्य राखेर उनले फिल्मलाई रसिलो बनाएका छन् । भीएफएक्सको प्रयोग भव्य छ, जसले ठूलो पर्दामा सिनेमा हेर्नुको आनन्द दिन्छ । खासगरी थ्रीडीमा यसको दोब्बर आनन्द लिन सकिन्छ ।

निर्देशक : जोन वाट्स

कलाकार : टम हल्याण्ड, टोबी मागुइरे, एन्ड्र्यु गारफिल्ड, जेन्डाया आदि

अवधि : २ घण्टा २८ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?