+
+

सरकारका कारण राजनीतिक र आर्थिक संकट : एमाले उपाध्यक्ष पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:५६

५ पुस, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकारले देशलाई राजनीतिक र आर्थिक संकटतर्फ धकेलेको आरोप लगाएका छन् ।

भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनवटै क्षेत्र काम गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

पछिल्लो दुई बर्षसम्म संसदले कुनै पनि महत्वपूर्ण ऐन तथा विधयेक पास गर्न नसकेको, गठबन्धन सरकार अस्थिर अन्तद्र्वन्द्वमा फसेको तथा न्यायालय भद्रगोल बनेको अवस्थाले देश संकटको मुखमा पुगेको पुष्टि हुने नेता पाण्डेको भनाइ छ । उनले यसको समाधान निर्वाचनभन्दा अर्को विकल्प नभएको बताए ।

अहिले देशमा आर्थिक संकट चुलिँदै गएको भन्दै नेता पाण्डेले भने, ‘अर्थतन्त्रमा गम्भीर लक्षणहरु देखिएका छन् । विदेशी मुद्राको सञ्चिती तीव्र रुपमा घटेको छ, आयात बढेको छ, भुक्तानी सन्तुलन नकारात्मक, रेमिट्यान्स तीव्र गतिमा घटिरहेको छ, बैंकहरुमा तरलताको कमी छ, ऋण दिन योग्य रकम बैंकहरुले पाएका छैनन्, देश नयाँ प्रकारको आर्थिक संकटतिर जान सक्छ ।’

सरकारले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्छु भने पनि पछिल्लो पाँच महिनामा जम्मा ६ प्रतिशतभन्दा बढी हुन नसकेकोबाट सरकारले काम गर्न नसकेको देखिएको एमाले उपाध्यक्ष पाण्डेले बताए ।

सत्ता गठवन्धनहरुकै बीचको साझा धारणा पछि मात्रै एमालेले एमसीसीका बारेमा आफ्नो पोजिसन स्पष्ट पार्ने उनको धारणा छ ।

पूँजी बजारका बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा एमाले उपाध्यक्ष पाण्डेले भने, ‘उहाँले नबुझेर त्यस्तो टिप्पणी गर्नुभएको हो, पूँजीबजार आफैमा साम्राज्यवादी वा समाजवादी हुँदैन, यो एउटा साधन मात्रै हो, त्यसले कहाँ कसरी प्रयोग गर्ने भन्ने फरक हुन्छ ।’

सरकारले जनताको लगानीलाई डुब्न नदिने नीति लिनुपर्ने नेता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?