+
+

रात्रिकालीन व्यवसाय खुला गर्न गृह मन्त्रालय सकारात्मक

व्यवसायीहरुले लामो समयदेखि माग गरिरहेको रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउन गृह मन्त्रालय तयार देखिएको छ । खासगरी करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष ५ गते १९:१७
फाइल तस्वीर

५ पुस, काठमाडौं । व्यवसायीहरुले लामो समयदेखि माग गरिरहेको रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउन गृह मन्त्रालय तयार देखिएको छ । खासगरी करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफलका क्रममा गृहमन्त्री खाँणले यस्तो प्रस्ताव गरेका हुन् । यसबाट एकातर्फ व्यवसाय फस्टाउने र अर्कोतर्फ राजस्व समेत वृद्धि हुने उनको भनाइ छ ।

यस प्रयोजनका लागि सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको समेत गृहमन्त्री खाँणले बताएका छन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालीन व्यवसाय खुला गर्न माग गरिरहेका छन् । नेपालमा स्थान हेरेर साँझ ९ बजेदेखि नै प्रहरीले व्यवसाय बन्द गराउन दबाव दिने गरेको छ । अर्कोतर्फ यातायात व्यवसायीले समेत रात्रिकालीन रुपमा सेवा विस्तार गर्न सकेका छैनन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा रात्रिकालीन व्यवसायमा बढी आकर्षण विगतबाटै ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहा थिए । कोरोनाकालभन्दा अगाडि यी क्षेत्रमा प्रशासनले ११ बजेसम्म मात्र व्यवसाय सञ्चालनको अनुमति दिने गरेको थियो । त्यसपछि खुला रुपमा व्यवसाय चलाउन पाइँदैन । तर, अनौपचारिक रुपमा भने गतिविधि अहिले पनि हुने गर्छ । यसलाई व्यवस्थित गरी औपचारिक रुपमै खुला गर्दा राजस्व र व्यवसाय दुबै विस्तार हुने अपेक्षा गृह प्रशासनको छ ।

बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रात्रिकालिन व्यवसाय खुला गर्न लामो समयदेखि माग भइरहेको बताउँछन् । उनका अनुसार ठमेल, लेकसाइड र सौराहामा यस्तो माग कोभिड अगाडि नै उठेको थियो ।

यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी व्यवसाय चलायमान बनाउन सकारात्मक भूमिका खुल्ने उनको भनाइ छ । विदेशका पर्यटकीय गन्तब्यको मुख्य आकर्षणमध्ये रात्रिकालीन व्यवसाय पनि हुन्छ । सोहीअनुसार नेपालमा पनि व्यवसायीले यस्तो माग गरेका हुन् ।

के छ फाइदा ?

ठमेल पर्यटन विकास समितिका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी रामशरण थपलियाले रात्रिकालीन व्यवसायबाट कुनै पनि क्षेत्रलाई घाटा नहुने बताउँछन् । व्यवसाय दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई दोब्बर संख्यामा कामदार चाहिन्छ । यसले रोजगारी वृद्धि हुने उनले बताए ।

उनका अनुसार व्यवसाय बढ्दा सरकारको राजस्व दोब्बर बढ्छ । यसले कृषि, मासुसहितका अन्य उपजहरुको खपत समेत बढाउने छ ।

‘यसको सबैभन्दा ठूलो फाइदा गन्तव्य प्रवर्द्धन हुन्छ, संसारभर रात्रिकालिन व्यवसाय एक प्रडक्टका रुपमा स्थापित भइसकेको छ,’ उनले भने,‘रात्रिकालीन भन्नासाथ नकारात्मक रुपमा लिने मानसिकतामा परिवर्तन ल्याउनुपर्छ ।’

दिनभर काममा व्यस्त हुने कुनै व्यक्तिले परिवारलाई मध्यरातमा रेष्टुरेन्टमा खाना खुवाउन लैजान्छु भन्दा पाउनुपर्ने उनको भनाइ छ ।

चुनौती पनि छन्

होटल रेष्टुरेन्टलाई २४ सै घण्टा खुला गर्दा हुन सक्ने सम्भावित जोखिम र यसका असरलाई भने व्यवस्थित गर्नुपपर्ने अवस्था छ । यसमा पर्यटन व्यवसायी पनि सहमत छन् ।

सडक बत्ती, सडकमा पर्याप्त सुरक्षा, सिसिटिभी क्यामेरा र यातायातको व्यवस्थापनमा भने ध्यान दिनुपर्ने व्यवसायीहरु बतउँछन् । नेपालमा व्यवसायिक र आवासीय क्षेत्र भनि छुट्याइएको छैन ।

अर्थात् ठमेल आवासीय क्षेत्र पनि भएकाले राति आराम गर्नेहरुलाई कोलाहलयुक्त वातावरण बनाउनु पनि उपयुक्त हुँदैन । यस्तो बेला आफ्नो व्यवसायको प्रकृतिले अर्को व्यवसाय तथा सरोकार नभएका व्यक्तिलाई असर गर्न नहुने शर्तहरु राख्न सकिने अध्यक्ष थपलियाको सुझाव छ ।

सो क्रममा ‘साउण्ड प्रुफ’ संरचना बनाउनेदेखि स्ट्रिट फुडहरु विस्तार गरि व्यवसायलाई चलायमान बनाउन सकिने उनले बताए ।

अवाञ्छित गतिविधि भएमा तत्काल प्रशासनले कारवाही गर्न सक्ने, १८ वर्ष भन्दामुनिका ग्राहकलाई बारमा छिर्न नदिने, १८ वर्ष नपुगेसम्म रात्रिकालिन समयमा काममा राख्न नपाइने जस्ता शर्त राखेर समेत व्यवसायलाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?