+
+

साउथ फिल्ममा ‘सेकेण्ड इन्टरभल’को ट्रेण्ड !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १४:५४

६ पुस, काठमाडौं । शुक्रबारबाट विश्व बजारमा रिलिज भएको दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले भारतसँगै नेपालमा पनि बम्पर कारोबार गरिरहेको छ । साउथ चलचित्रलाई युट्युबमा रुचाइरहेका दर्शकले हलमै गएर यसको मज्जा लिन पाएपछि नेपाली वितरकलाई त मालामाल नै भयो ।

यो चलचित्र तीन घण्टा लामो छ । चलचित्रको करिब डेढ घण्टापछि मध्यान्तर आउँछ । मध्यान्तरपछि फेरि चलचित्र आफ्नै सुरमा बगिरहेको हुन्छ । चलचित्रको क्लाइमेक्समा के होला भन्ने अपेक्षा गरिरहेका दर्शकले, ‘सेकेण्ड इन्टरभल’ भनेर आएपछि भने अचम्म मान्छन् । किनकि, ‘सेकेण्ड इन्टरभल’ भन्नुको अर्थ, फेरि ब्रेकपछि चलचित्र अगाडि बढ्छ भन्न खोजिएको होइन । दर्शकले यो चलचित्रको सिक्वेल हेर्नका लागि केही वर्ष प्रतीक्षा गर्नुपर्छ भन्न खोजिएको हो ।

चलचित्र हेर्दाहेर्दै दर्शकले सकिएको थाहा नै पाउँदैनन् । कारण ‘पुष्पा’को पहिलो सिरिज मात्र हेरेर अब दर्शकलाई पुग्दैन, दोस्रो सिरिजका लागि पनि टिकट काट्नुपर्ने हुन्छ ।

‘पुष्पा’ साउथको पहिलो चलचित्र भने होइन, जसले दर्शकलाई सिक्वेलका लागि प्रतीक्षा गराएको छ । चलचित्र ‘बाहुबली’ पनि हेर्दाहेर्दै सकिएको थियो । कारण, ‘बाहुबलीलाई कटप्पाले किन मारे’ भन्ने प्रश्नका लागि दोस्रो सिरिज हेर्न दर्शकलाई यो चलचित्रले बाध्य बनाएको थियो । दोस्रो सिरिजले भारतमा मात्र १५ सय करोड भारु भन्दा बढी कमाएको थियो ।

यसले पनि के हुन्छ भन्ने दर्शकलाई सिक्वेलका लागि प्रतीक्षा गराउन सकेको खण्डमा निर्मातालाई मालामाल हुन्छ भन्ने साउथका निर्माताले बुझिसकेका छन् ।

चलचित्र ‘केजीएफ’ हेर्न पुगेका दर्शकलाई पनि ‘बाहुबली र पुष्पा’को जस्तै आभास गराएको थियो । यो चलचित्रको कथा पनि सिक्वेलका लागि थाँती राख्दै सकाइएको छ । जसले गर्दा यो चलचित्रको सिक्वेलको क्रेज विश्व बजारमा निक्कै छ । ‘केजीएफ २’ले चलचित्रले बम्पर कमाइ गर्ने विश्लेषण गरिएको छ ।

चलचित्र ‘बाहुबली’ले भन्दा ‘बाहुबली २’ले आक्रामक कमाइ गर्‍यो । ‘केजीएफ २’को व्यापार पनि ‘केजीएफ’को भन्दा धेरै गुणा बढी हुने पक्का छ । ‘पुष्पा’ले पनि ‘सेकेण्ड इन्टरभल’ भन्दै दर्शकलाई कौतूहलता छाडेको छ ।

हुन त, यस्तो ट्रेण्ड बलिउड र साउथमा नभएका होइनन् । तर, यी तीन चलचित्रले बनाएको ‘हाइप’ अरुको तुलनामा धेरै माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?