+
+

‘हिजो आजका कुरा’ वैशाखमै प्रदर्शन गर्ने सोच हो : सन्तोष पन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:१८
कलाकार तथा निर्माता सन्तोष पन्त र कलाकार रमा थपलिया

७ पुस, काठमाडौं । प्रदर्शन मिति तय गरेका थुप्रै चलचित्र कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन हुन पाएनन् । त्यसमध्ये अधिकांश चलचित्रले अहिले नयाँ प्रदर्शन मिति तय गरिसकेका छन् ।

चलचित्र ‘हिजो आजका कुरा’को प्रदर्शन मिति भने तय गरिएको छैन । यो चलचित्र २०७७ को वैशाख १२ गतेका लागि प्रदर्शन मिति तय गरिएको थियो । चलचित्रमा समावेश ‘माया जदौ’ गीत निकै लोकप्रिय समेत भइसकेको थियो । तर, कोरोना महामारीका कारण सो समयमा चलचित्र प्रदर्शन हुन पाएन ।

चलचित्रका निर्माता तथा कलाकार सन्तोष पन्तले अहिलेसम्म चलचित्रको नयाँ प्रदर्शन मिति तय नभएको जानकारी दिए । उनले वितरकसँग छलफल भइरहेको जानकारी गराउँदै वैशाखमै प्रदर्शन गर्ने आफ्नो सोच रहेको बताए ।

‘हिन्दी चलचित्रहरु प्रदर्शन होस् । नेपाली चलचित्रमा दर्शकहरु कत्तिको आउँछन् हेरौं । त्यसमाथि प्रदर्शन मिति कहिले दिन्छन् । सामान्य छलफल भईरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘पहिले वैशाखमा प्रदर्शन मिति तय गरिएको थियो । अहिले पनि वैशाखमा प्रदर्शन गर्ने सोच हो । वैशाखमै प्रदर्शन गर्न पाए राम्रो हुन्थ्यो भन्ने छ ।’

कोरोनाको नयाँ भेरियन्टका कारण अझै केही त्रास रहेको बताउँदै उनले थपे, ‘अझै केही दिन हेरौं, नयाँ भेरियन्टले कत्तिको प्रभाव पार्छ । नेपाली चलचित्र हेर्न हलमा कस्तो माहोल देखिन्छ । त्यसपछि प्रदर्शन मिति घोषणा गरौंला ।’

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र सन्तोषका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजो आजका कुरा’ निक्कै लोकप्रिय मानिन्छ । सोही नाम सापटी लिएर यस चलचित्र निर्माण गरिएको हो ।

पारिवारिक कथामा निर्माण भएको चलचित्रमा ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया शीर्ष भूमिकामा छन् । त्यस्तै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त लगायतको समेत मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?