+
+

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय   

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् ।

रासस रासस
२०७८ पुष १० गते १७:०३
सीमास्तम्भमाथि लुगा धुँदै एक महिला । तस्वीर : रासस

१० पुस, झापा । गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा एउटा सीमास्तम्भ बाढीले पुरिएको दुई वर्ष बितिसक्दासमेत उठाउन पहल भएको छैन ।

गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षायामको बाढीले झन् पुरिएको छ ।

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ ।

सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।

बाढीले सीमास्तम्भ ढालेका बेला नै स्थानीय सञ्चारमाध्यमले यसको समाचार प्रकाशित गरेका थिए । त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको स्थानीय कोचिला न्यूज अनलाइनका सम्पादक आत्माराम राजवंशी बताउँछन् ।

‘सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले बेलैमा ध्यान नपुर्‍याएको देख्दा आश्चर्य लाग्छ’, गौरीगञ्जका बासिन्दासमेत रहेका राजवंशीले भने, ‘ढलेको सीमा पिलर तत्काल उठाउनु पर्छ, पुरानै अवस्थामा राख्न मर्मतसम्भार गरिनुपर्छ, नत्र आउँदो बाढीले बगायो भने विवाद निम्तिन सक्छ ।’

एक वर्षअघि आउँदा ढलेको सीमास्तम्भको केही भाग पानीको सतहभन्दा निकै माथि देखेको जनाउँदै उनले अहिले बाढीले झन् क्षति पुर्‍याएका कारण सीमास्तम्भ बालुवाभित्र पुरिन थालेको बताए ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

ढलेको सीमास्तम्भदेखि करिब ५० मिटर उत्तरतिर ३३ पीपी लेखिएको जङ्गे सीमास्तम्भ छ । छ फिटभन्दा अग्लो जङ्गे सीमास्तम्भको वरिपरि दलित मुसहर समुदायलगायत ४० परिवार बसोबास गर्छन् ।

उनीहरुको बसोबासले जङ्गे सीमास्तम्भको सुरक्षा भएको छ । स्तम्भ वरिपरिका घर हटाउन भारतीय सीमा सुरक्षा बलले बारम्बार दबाब दिए पनि आफूहरुले नटेरेको स्थानीय ७० वर्षीय सुन्दर ऋषिदेव बताउँछन् । उनले खोलाले पुरेको १४९/२४ नम्बरको सीमास्तम्भ छिटो मर्मत गरेर पहिलाको जस्तै उभ्याउने पहल गर्न नेपाल सरकारलाई सुझाव दिए ।

सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नेपाली बासिन्दाले जग्गाको धनीपूर्जा र नागरिकता पाउन सकेका छैनन् । सीमा रक्षाका लागि डटेर बसेका सीमा क्षेत्रका नेपालीलाई सम्मान गर्नुको साटो नागरिकतासमेत नदिएर अनागरिकको जस्तो व्यवहार गरिएकामा स्थानीयवासीको गुनासो छ ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताए ।

उनले यसको मर्मतसम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको जनाउँदै भने, ‘गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।’ भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको उनको भनाइ छ ।

गत वर्ष वर्षाका कारण १९ र यस वर्ष १२ वटा स्तम्भ ढलेको प्रजिअ तिम्सिनाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?