+
+

पूर्वपश्चिम राजमार्गको अत्तरिया-गड्डाचौकी खण्ड स्तरोन्नति गरिँदै

जनक विष्ट जनक विष्ट
२०७८ पुष १२ गते १८:५४

१२ पुस, धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक खण्ड स्तरोन्नतिले गति लिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले यो खण्डलाई बढी जनघनत्व र जोखिमपूर्ण क्षेत्र मानेर राजमार्ग स्तरोन्नतिको काम गरिरहेको जनाएको छ ।

सूचना अधिकारी सरला न्यौपानेले अत्तरियादेखि गड्डाचौकीसम्मको ४० किलोमिटर खण्डमा सडक दाँयाबाँया ११ मिटर फराकिलो हुने गरी काम गरिरहेको बताइन् । ‘पूर्वपश्चिम राजमार्गको क्षेत्राधिकार २५ मिटर हो । हामीले अहिले सडकको केन्द्रदेखि दायाँबाँया ११ मिटरसम्मको बेस निर्माण गरेर सडक स्तरोन्नति गरिरहेका छौँ,’ न्यौपानेले अनलाइनखबरसँग भनिन् ।

गत वर्षदेखि नै ठेक्का लगाएर सडक विस्तार, कल्भर्ट निर्माण, कालोपत्रेलगायतका काम भइरहेको उनको भनाइ छ । भीमदत्त नगरपलिका–५ वनखेतदेखि वेदकोट नगरपालिका–१० को दैजीसम्म भने राजमार्गमा माटोको सब बेस हालेर दुवैतर्फ सडक विस्तार गरिएको छ ।

कार्यालयका सब इन्जिनियर दानबहादुर चन्दले तत्काललाई अत्तरिया चोकदेखि गड्डाचौकीसम्म सडक विस्तार गर्न विभिन्न प्याकेजमा ठेक्का लगाएर कामलाई तीव्रता दिइएको बताए ।

उनकाअनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा ठेक्का पाएको एमएस थोदुङ जसलिङ जेभीले कल्भर्ट निर्माण गरिरहेको छ । त्यस्तै महेन्द्रनगरको ट्राफिक चोकदेखि भाँसीसम्म खाल्डाखुल्डी मर्मत र दायाँबायाँ सडक विस्तार गर्न १ करोड ३ लाख रुपैयाँमा सलान निर्माण सेवाले ठेक्का पाएको छ ।

चालू आर्थिक वर्षमा अत्तरियादेखि वेदकोट नगरपालिका–७ काङ्ला पुलसम्म सडक विस्तार, एक लेयर कालोपत्रेसहित मर्मतका लागि नौ करोड ६१ लाखमा कुमार जोशी जेभीले ठेक्का पाएको छ ।

अत्तरियादेखि गड्डाचौकीसम्म कल्भर्टसहित फिलिङको काम गर्न मैनाचुली मालिका एमबिए जेभीले तीन करोड ६२ लाखमा ठेक्का पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर नरेन्द्रप्रसाद भट्टले विभिन्न चरणमा ठेक्का दिएर सडकको मर्मत सम्भार र स्तरोन्नति गरिरहेको बताए ।

‘हामीले विभिन्न चरणमा ठेक्का दिएर सडक विस्तारलाई तीव्र गतिमा अगाडि बढाएका छौँ,’ प्रमुख इन्जिनियर भट्टले अनलाइनखबरसँग भने, ‘खासगरी मानिसको आवागमन र सवारीसाधनको चाप बढी हुने क्षेत्र पहिचान गरेर काम भइरहेको छ ।’ जोखिमयुक्त ठाउँमा सडक फराकिलो बनाउन माटो फिलिङ भइरहेको पनि उनले बताए ।

कैलालीको अत्तरियादेखि चिसापानी खण्डमा भने तत्काल स्तरोन्नतिको योजना नरहेको सडक डिभिजन कार्यालयको भनाइ छ, तर यो खण्डमा नियमित मर्मत सम्भारको काम भइरहेको छ ।

 

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?