+
+

मिश्र र लिङ्देनलाई आग्रह : एउटै बृहत् राप्रपा बनाउनुस्

दिव्येश गिरी दिव्येश गिरी
२०७८ पुष १२ गते १९:४५

अहिले दलहरूको महाधिवेशन र राष्ट्रिय भेलाको समय चलिरहेको छ। यतिबेला देशका ठूला पार्टी एमाले, कांग्रेस र राप्रपाले अधिवेशन सम्पन्न गरिसकेका छन् भने माओवादीको महाधिवेशन जारी छ।

साम्यवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, पहिचानवाद, संविधानवाद र सम्वर्धनवाद लगायत विभिन्न खाले विचारधारा बोक्ने दलहरू देशमा रहिआएका छन्।
आज म राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रलाई एउटा खुला-पत्र लेख्दैछु। उनीहरू फरक–फरक पार्टी चलाइरहेका छन्।

यो खुला-पत्र अब यी दल बेग्लाबेग्लै रहनुको अस्तित्व र औचित्य नदेखेरै लेखेको हुँ। यी दलहरू मिलेरै आफ्नो कर्म गर्दा दुवैलाई सहज हुनेछ। राजनीतिक वृत्तमा फरक–फरक पार्टी बनाउने रहर जो कोहीलाई हुन्छ तर व्यक्तिगत रहरभन्दा माथि सदैव विचारको र गन्तव्यतिरको लक्ष्यले डोर्‍याउनुपर्छ।

हुन त शुरुआती चरणमा रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनले पार्टी खोल्दा फरक–फरक कोणबाटै पार्टी गठन गरेका हुन्। राजेन्द्र लिङ्देन पञ्चायत पतन भएपछि पञ्चायतको विरासत जोगाउन बनाइएको राप्रपामा २०४७ सालदेखि नै क्रियाशील छन् भने रवीन्द्र मिश्रले २०७२ को संविधान निर्माण गरेपछि पार्टी गठन गरेका हुन्।

वैकल्पिक राजनीतिको आलोकमा उज्ज्वल थापा/गोविन्द नारायणको मार्गदर्शनको विवेकशील नेपाली अभियान पार्टी र सूर्यराज आचार्य/मुमाराम खनालको वैचारिक मार्गदर्शनबाट साझा पार्टी निर्माण भएको थियो। व्यवस्था होइन अवस्थाको सुधार गर्नुपर्छ, संविधान फेर्ने होइन कार्यशैलीको सुधार गर्नुपर्छ भन्ने त्यसको आधार थियो।

लेखक दिव्येश गिरी

दलीय लोकतन्त्रलाई थप उन्नत बनाउने लक्ष्य बोकिएको थियो। यसरी गठन भएको विवेकशील साझा पार्टीको अहिले मिश्रले वैचारिक परिवर्तन गरेका छन्। उनले संविधान र सङ्घीयता खारेज गर्ने, धर्मनिरपेक्षता उल्ट्याउने र गणतन्त्रलाई आयातीत भन्दै दुत्कार्ने नारा दिइरहेका छन्।

यसरी पछाडि फर्किएर व्यवस्था परिवर्तनको कुरा गर्ने करीब करीब राप्रपासँगै मिल्ने एजेन्डा उनले उठाइरहेका छन्। उसो त मिश्रको मार्ग परिवर्तनमा असहमत पार्टी नेताहरूले उनको साथ छोडेर विवेकशील साझा पार्टी पुनर्गठनमा लागिसकेका छन्। यसकारण पनि मिश्रले लिङ्देनसँग मिल्नु अपरिहार्य छ।

अहिले मिश्रले वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरूपयोग गर्दै बदनाम र दूषित पार्ने काम मात्रै गरेका छन्। यसको कारण उनी आफ्नै ‘कन्जरभेटिभ’ राजनीति गर्ने मनसाय र छिटो सत्तामा पुग्ने आकांक्षामा समेत यसले व्यवधान सृजना गरेको छ।

अर्कोतिर नयाँ युवा पुस्ताले परिकल्पना गरेको नवीन वैकल्पिक राजनीतिक वैचारिकीलाई पनि उनले धमिल्याइदिएका छन्। तसर्थ आजको समय माछा माछातिर र भ्यागुता भ्यागुतातिर हुने समय हो। उनीहरू एकता गर्नुपर्ने र मिल्नुपर्ने कारण धेरै छन्।

यसकारण मिल्नुपर्छ रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन

एकै सामान बेच्ने धेरै पसल खोलेर ग्राहकलाई भ्रममा पार्नुभन्दा एकै पसल खोल्नु बेस। लोकतन्त्रमा फरक–फरक दलहरू फरक–फरक विचार भएकै कारण खुल्छन्। फरक–फरक विचार रहँदा साथ फरक–फरक पार्टी रहनु पनि स्वाभाविक हो। तर, विचार एकै भएका फरक–फरक पार्टी रहनु केवल जनता झुक्काउने र आफूलाई समेत कमजोर बनाउने काम हो।

उज्ज्वल थापाको मार्गदर्शनबाट च्यूत भएर जुन दिन रवीन्द्र मिश्रले मार्ग परिवर्तन गर्दै कन्जरभेटिभ बाटो लिएका छन् त्यही दिनबाट उनी र लिङ्देनको पार्टी फरक–फरक रहनुको औचित्य सकियो। तसर्थ, एउटै पार्टी गठन गर्नु राम्रो हो।

रवीन्द्र मिश्रले घोषित रूपमै अब आफू सम्वर्धनवादी लाइनमा लागेको र त्यो नै नेपालको लागि उचित बाटो हो भनेर आफ्नो फेरिएको वैचारिकीको परिचय गराइसकेका छन्। त्यसैले सम्वर्धनवादलाई प्रवर्धन गर्ने फरक–फरक पसल खोल्नुको सट्टा एउटै पसल बनाउँदा दुवै पक्षलाई राम्रो हुनेछ।

महेन्द्रपथको देवत्वकरण गर्ने र मधेशी/जनजाति/सीमान्तकृत जनताविरुद्ध लाग्ने एकै शक्ति

रवीन्द्र मिश्रले नेतृत्व गरेको ‘मार्ग परिवर्तन’ दस्तावेज र राजेन्द्र लिङ्देनको पार्टीको एउटै भाष्य भनेको महेन्द्रमालाको गौरवीकरण अर्थात् देवत्वकरण हो। यसले दलीय व्यवस्था, प्रजातन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सत्ताभन्दा धेरै यो देश निर्माणको हकदार राजाहरू र उनीहरूलाई शक्तिशाली बनाएर काम गर्न दियो भने मात्र बलियो बन्छ भन्ने भाष्यमा विश्वास गर्दछन्।

मूलधारमा भएका शक्तिहरूले राम्रोसँग डेलिभर गर्न नसकेको बेला अहिले यो कन्जरभेटिभ समूह समग्र लोकतान्त्रिक चेतना विरुद्ध यसरी उभिएको छ कि यो देशको सारा समस्याको हल राजा आएर मात्रै हुनसक्छ भन्ने भाष्य स्थापित गराउन खोजिरहेको छ।

बीपी कोइराला नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै प्रजातन्त्रहरण गरेर अँध्यारो पञ्चायत लादेका महेन्द्रको राजनीतिक हिसाबले अन्य कुनै पार्टीले त्यसको गौरवीकरण गरी हिंड्दैनन्। तर यी दुई पार्टीहरू यसलाई अभूतपूर्व उपलब्धि ठान्छ। यी दुवैको अहिलेको भाष्य हेर्‍यो भने यो देश बिग्रेको ‘विकृत वाम’को कारण हो। अर्थात् २०४६/४७ सालको बहुदलको स्थापना पछि नेपालमा जति पनि मधेशी/जनजाति/सीमान्तकृत आन्दोलनहरू भए तिनैको कारण यो समाजमा समस्याहरू आइपरेका हुन्। तसर्थ नेपालको वाम आन्दोलनलाई खत्तम गर्ने सामूहिक लक्ष्य राखेका यी दुवै नेता/पार्टी भिन्दाभिन्दै रहनुको कुनै अर्थ छैन।

राजेन्द्र लिङ्देनको पार्टीले त खुलेरै महेन्द्र विचारको वकालत गर्छ भने रवीन्द्र मिश्रका पछिल्ला भाषणहरूले उनी मलाई महेन्द्रको गुणगान गाउन दिइएन भन्दै रोईकराई गरिएको सुनिएकै छ। तसर्थ, रवीन्द्रजी र राजेन्द्रजी दुवैको लागि महेन्द्र विचार एकै ठाउँमा जोड्ने विचार हुनसक्छ। तसर्थ उनीहरू एकै ठाउँ आउनु सबैलाई हित हुनेछ।

धर्मनिरपेक्षता र सङ्घीयता खारेजीको एउटै मुद्दा

राप्रपाले २०६२/६३ सालपछि नै नयाँ प्रणाली अपनाउनु हानिकारक हुन्छ भन्दै आएको हो। उसले नयाँ संविधान र यसका मुख्य मूल्यमान्यताहरु धर्मनिरपेक्षता र सङ्घीयता खारेजीको मुद्दा बोक्दै आएको छ। यो नयाँ पुस्ताको चाहनाभन्दा पनि हिजो दरबार र दरबार वरपर रहेका शक्तिहरूकै बर्चस्व कायम गर्नुपर्छ भन्ने विचारलाई जोगाउनको लागि हो।

रवीन्द्र मिश्रले पछिल्लो दस्तावेज मार्फत आफू खुलेर सङ्घीयताको विरुद्ध आएको र यो देशको लागि घातक भन्ने भाष्य स्थापित गरेका छन् भने यी दुवै पार्टी अहिलेको अवस्थामा धर्मनिरपेक्षता र सङ्घीयताको विरुद्ध उभिएका छन्। आजको पृष्ठभूमिमा हेर्ने हो भने एउटै एजेन्डा बोक्ने यी दुवै पार्टी छुट्टाछुट्टै रहनुको अर्थ छैन।
हिन्दू राज्य स्थापना गर्ने र स्थानीय स्वशासन मार्फत जनताले शासन गर्न पाउने अधिकार भन्दा बाहिर केन्द्रीकृत व्यवस्थाको पक्षपोषण गर्ने यी दुवै पार्टी मिलेर जाँदा नै दुवैलाई ठीक हुनेछ।

राजाले देश बचाउने भाष्यमा एकै ठाउँ

यो देशको शासनमा सामान्य जनताका छोराछोरी पनि पुग्न सक्छन् भन्ने संकथन पछिल्लो संविधान मार्फत संस्थागत भएको छ। त्यसभन्दा अगाडि यो देशमा भाग्यवादमा विश्वास गर्दै देशको शासक बन्न राजा या राजाकै छोराछोरीकै हकाधिकार हुन्थ्यो। त्यो हकअधिकार खोसिएसँगै दरबार वरपरको शक्तिबाट आफ्नो जीविकोपार्जन गरेको ठूलो समूहमा बज्रपात परेको थियो।

त्यो बज्रपात परेको समूह विभिन्न हिसाबले सक्रिय थिए। राजनीतिक हिसाबले राप्रपाले त्यो हिस्साको प्रतिनिधित्व गर्थ्यो भने व्यक्तिगत हिसाबले रवीन्द्र मिश्र जस्ता विभिन्न हिसाबले दरबारकै वरपरबाट हुर्किएकाहरूले प्रतिनिधित्व गर्दथे।

मूलधारमा भएका शक्तिहरूले राम्रोसँग डेलिभर गर्न नसकेको बेला अहिले यो कन्जरभेटिभ समूह समग्र लोकतान्त्रिक चेतना विरुद्ध यसरी उभिएको छ कि यो देशको सारा समस्याको हल राजा आएर मात्रै हुनसक्छ भन्ने भाष्य स्थापित गराउन खोजिरहेको छ।

राप्रपाले शुरुआतकालदेखि नै राजा यो देशको अभिभावकको रूपमा रहनुपर्छ भन्ने विचारको वकालत गर्दथ्यो। रवीन्द्र मिश्रले अहिले आएर गणतन्त्र आयातीत व्यवस्था भएको वकालत गरिरहेका छन्। अहिले पछिल्लो चरण उनले आफ्नो पार्टी निकट कुनै पनि दस्तावेजमा गणतन्त्रको वकालत गरेका छैनन्। यसको अर्थ भनेको राजालाई अभिभावक मान्न यी दुवैलाई कुनै अप्ठ्यारो छैन।

एउटै जरा

राजाको सक्रिय शासन चल्दा यी दुवै पात्रहरू एकै वैचारिक भाष्यमा थिए। दरबारसँग पारिवारिक सम्बन्ध जोडिएका मिश्र र लिङ्देनको जरो भनेको पञ्चायत र पञ्चायतको आडमा दरबारको शासन हो।

नेपालमा दशौं लाख जनता सडकमा गणतन्त्रको लागि दरबारसँग भिडिरहँदा जनतामाथि गोली हान्ने राप्रपा नेतृत्व र लण्डनबाट मनुज चौधरीको छद्म नाममा राजतन्त्रको पक्षमा लेख लेख्ने मिश्रको जरा एउटै हो। तसर्थ यी दुवै एकैठाउँमा हुँदा यी दुवैको जरा पनि एकै ठाउँमा हुनेछ। तसर्थ यी दुवै पार्टी एकैठाउँ रहनु सबैभन्दा राम्रो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?