+
+

माओवादी महाधिवेशनस्थलमा ‘समाजवादी यात्रा’ कला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १७:५५

१३ पुस, काठमाडौं । नेकपा माओवादीको महाधिवेशनको क्रममा ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृति प्रदर्शनी गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असरमाथि सृजना गरिएका कलाकृति राखिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले गरिबीको विषयमा बनाएको चित्र छ । उनले नेपालमा गरिबी अवस्थामा परिवर्तन ल्याउन समाजवादी दिशामा अग्रसर हुनुपर्ने विचार व्यक्त गरे । चित्रकार भन्छन्, ‘कलामार्फत् हामीले नेपाली समाजको रुपान्तरणको विषयलाई उठान गर्न खोजेका छौं ।’

प्रदर्शनीमा सहभागी अर्का अग्रज कलाकार नारदमणि हार्तम्छालीले गणतन्त्र ल्याउन गरिएका संघर्ष र सामन्तवादी परिवेशले समाजमा पारेको प्रभावलाई चित्रण गरेका कला रचना गरेका छन् । उनका कलामा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धेदृष्टिलाई समेत कलात्मक रुपमा प्रस्तुत गरेका छन् ।

यस्तै, प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशव राज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लिलाधर केसी अमर परियार, अमिर शाक्य, खेम बिके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायत कलाकारका तीन दर्जन बढी कलाकृति राखिएको छ ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले नेपालमा समाजवादको विषय लिएर गरिएको यो पहिलो कला प्रदर्शनी भएको जिकिर गरे । उनले कलामार्फत राजनीतिक दिशा र परिवर्तनको विषयलाई कलाकारले कलाकृतिमार्फत प्रस्तुत गर्न सफल भएको विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?