+
+

कपिलवस्तुमा कार दुर्घटना हुँदा बैंकका कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते ११:२५
अनुराग पाण्डे

१४ पुस, काठमाडौं । कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् ।

कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो ।

सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई  चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पताल लगिएको थियो । उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अर्का घाइते वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी नगरपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । रोकाको कपिलवस्तुको चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?