+
+
युद्धमा घर उजाडिएका विवेक :

असन्तुष्टि भए पनि जाने ठाउँ कहाँ छ र ?

सन्तुष्टि त छैन । तर सन्तुष्टि नभए पनि हामी शहीद परिवार, घाइते र युद्धमा सहभागी मानिसहरू जाने ठाउँ अन्यत्र कहाँ छ र ?

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ पुष १५ गते १९:५२

१५ पुस, काठमाडौं । ११ वर्षको उमेरमा स्कूल जाने झोला बिसाएर धादिङ जोगिमाराका कृष्णबहादुर थपलियाले बन्दोबस्तीको सामान भरिएको झोला बोक्न थाले । पाँच कक्षा पढ्दै गरेका उनी त्यही झोला बोकेर  तत्कालीन नेकपा माओवादीले शुरु गरेकाे जनयुद्धको पूर्णकालीन सदस्य बने र स्कूल पढाइको सिलसिलालाई त्यहीं बिट मारे ।

सही र गलत छुट्याउन विवेकको प्रयोग गर्नुपर्छ । न अभिभावकले विवेक पुर्‍याए, न पार्टीका नेताले । विवेकको संकटका बीच उनले आफ्नो भूमिगत नाम ‘विवेक’ नै रोजे । भूमिगत पार्टीमा उनी अब कृष्णबहादुर थपलिया भन्दा धेरै ‘विवेक’ नामबाट चिनिन थाले ।

बाल संगठनको नेतृत्व

विवेकका बाबु नेकपा मसालको राजनीतिमा सक्रिय थिए । घरमा नेताहरूको आवतजावत भइरहन्थ्यो । २०५२ साल फागुनबाट देशमा माओवादीले जनयुद्धको नाममा सशस्त्र संघर्ष शुरु गर्‍यो । विवेक घरमा आउने नेताहरुलाई बाटो देखाउने, गन्तव्यसम्म ल्याउने लैजाने काम गर्थे । उनको सम्झना अनुसार सुरेश वाग्ले,पुष्पविक्रम मल्ल, यानप्रसाद गौतम ‘आलोक’, श्रीनाथ अधिकारी जस्ता परिचित कम्युनिष्ट नेताहरु उनको घरमा आउने–जाने गरिरहन्थे ।

२०५२ फागुन १४ गते गोरखाको पन्द्रुङमा स्कूले बालक दिलबहादुर रम्तेलको हत्या भयो । रम्तेललाई माओवादीले जनयुद्धको पहिलो शहीद मान्दै आएको छ । त्यतिबेला विवेकका जेठा दाइ रामहरि थपलिया भूमिगत भइसकेका थिए । अर्को वर्ष त्यही दिन बलिदान दिवस मनाउने योजना बन्यो । ‘चरौदी बजारमा मेरो नेतृत्वमा कोणसभा भयो । मलाई दाइले सघाउनुभयो’ उनी भन्छन्,‘बाल संगठनको जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा पुगें म । म पूर्णकालीन राजनीतिमा सक्रिय भएँ ।’

ग्रामीण बस्तीको न्यून आय भएको परिवारमा जन्मिएका उनलाई एकजोर नयाँ कपडा लगाउन दशैं कुर्नुपर्थ्यो । अभावको जिन्दगी बाँचिरहेका थिए उनी । माओवादीले गर्ने समानताको कुराले उनलाई तान्न थाल्यो ।

उनका पिता इन्द्रबहादुर थपलिया ‘चट्टान’ पहिलादेखि नै राजनीतिमा सक्रिय थिए । जनयुद्ध शुरु हुनुभन्दा अगाडिदेखि नै उनको राजनीतिक सक्रियता थियो । ‘घरमा झगडा हुँदा बाले पिट्नुभएन । बेलुका समीक्षा बैठक राख्नुहुन्थ्यो । हामी कसको गल्ती भयो भनेर समीक्षा गर्थ्यौं’ बाल्यकाल सम्झँदै विवेक भन्छन्, ‘बाले हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो । राजनीतिक संस्कार बच्चैदेखि पायौं ।’

एकएक गर्दै चुँडिए परिवारका सदस्य

इन्द्रबहादुर थपलियाको प्रशिक्षणमा रहेका छोराहरु पनि युद्धमा सहभागी हुन थाले । ‘रामहरि दाइको २०५५ चैत २४ गते राति अर्घाखाँचीको सिमलपानी इलाका प्रहरी कार्यालय आक्रमणमा निधन भयो’ विवेक सम्झिन्छन्, ‘दाइ त्यतिबेला उक्त मोर्चाको भाइस कमाण्डर हुनुहुन्थ्यो । त्यतिबेला म भूमिगत भएको लामै समय भइसकेको थियो ।’ रामहरिको अन्त्य थपलिया परिवारमा सदस्य गुमाउने सिलसिलाको शुरुआत थियो ।

‘२०५९ भदौ १५ गते धादिङ भुमेस्थानको बिमिरेमा बुवाको मृत्यु भयो । उहाँ जिल्ला कमिटीको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो’ उनी भन्छन्,‘हामी बाबु छोराको त्यहीं भेट हुने कुरा थियो तर भेट्ने स्थान पहिला नै सेनाको कब्जामा रहेछ ।’

विवेकले दाजु गुमाएको चार वर्षमा आफ्ना ४८ वर्षीय बुवालाई पनि गुमाए । घरका अभिभावक पालैपालो मारिएपछि थपलियाको सबै परिवार पार्टीमै लाग्यो । त्यतिखेर समाज परिवर्तनका लागि माओवादीले लिएको नीति सफल भए, बुवा र दाइमाथि न्याय हुन्छ भन्ने उनीहरुलाई लाग्यो ।

२०५८ मंसीरमा राज्यले संकटकाल घोषणा गर्‍यो । उनको घरमा आमा र साना दुई भाइ मात्रै थिए । उनीमुनिका भाइ कुमार थपलिया जम्मा १३ वर्षको थिए । त्यही बेला सैनिक घरभित्रै पसे, उनको घर तहसनहस भयो ।

‘आमा मामा घर जानुभएको बेला घरमा सेना आएछ । हाम्रो घरमा गाईबस्तु धेरै थिए । सेनाले सबै भैंसी र बाख्रा फुकाएर खोर भत्काएर छाडिदिएछ’ विवेक भन्छन्, ‘१७ दिनको यातनापछि १३ वर्षको भाइ घर फर्कियो । ८/९ दिनपछि म घर फर्कंदा गाउँलेले बाख्रा र भैंसी घर ल्याइदिएछन् ।’

उजाडिएको घर

बस्तुभाउ त फर्किए, तर त्रासले भरिएपछि आफैंले बनाएको र आफैं हुर्किएको घरमा थपलिया परिवारको मन फर्किएन । बरु आमा र भाइ पनि पूर्णकालीन भूमिगत नै भए । ‘मेरो १३ वर्षीय भाइ राजनीतिमा लाग्यो । आमालाई पनि पार्टीमा लिएर हिंड्यौं’ उनी भन्छन्, ‘बस्तुभाउ सबै श्रीसम्पत्ति गाउँले अंकललाई जिम्मा लगायौं । १०–११ वर्षको कान्छो भाइ आफन्तकोमा बस्न चितवन झर्‍यो ।’

आन्दोलन एउटै हो, पार्टी उही हो भन्नु मात्रै थियो । परिवारका सदस्यहरु छिन्नभिन्न भए । कहिलेकसो आउने खबरबाहेक देख्न भेट्नै मुश्किल पर्ने । तर सबै खबरहरु खुशी बोकेर कहाँ आउँछन् र ? २०६० साल मध्य चैतको हुरी झैं विवेकले अर्काे खबर पाए भाइ कुमारको जीवन पनि युद्ध लड्दालड्दै सकियो ।

‘बुवाको निधन भएपछि म काठमाडौंतिर सरुवा भएँ । आमा चितवन पार्टीमा जोडिनुभयो । २०६० सालतिर उहाँ चितवनको जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । यहीबीचमा २०६० चैत ७ गते बेनी आक्रमणमा भाइ कुमारको मृत्यु भयो’ बोल्दाबोल्दै विवेकको गला अवरुद्ध हुन्छ, उनको आवाजको ओज घट्छ, ‘त्यतिबेलाको संसार अर्कै थियो । म बुझ्दिनँथें पनि होला र बा र दाइलाई गुमाउँदा मैले जे महसूस गरेको थिइनँ, भाइको पनि मृत्यु भयो रे भन्ने सुनेपछि सम्हाल्न सकिनँ ।’

पछि कमाण्डरहरुले उनलाई ’रिजर्भ टिम’मा राख्न खोजे । एकै परिवारको धेरै क्षति भएकोले होला, उनीप्रति सबैले सहानुभूति देखाउँथे । तर विवेक ’फर्स्ट एसल्ट’मै लड्न रुचाउँथे । दुश्मनसँग आमनेसामने हुने मोर्चामै लड्न चाहन्थे ।

आमाको आत्महत्या

विवेक परिवारबाट सदस्यहरु एक एक गरी चोइटिंदै थिए, झर्दै थिए । यो क्रम माओवादी शान्ति प्रक्रियामा आएपछि पनि रोकिएन । उनकी आमा विष्णुमायाले आत्महत्या गरिन् ।

‘आमाको चितवन पार्टीसँग खटपट भएछ । शान्ति प्रक्रिया शुरु हुनासाथ मामाघर आएर बस्नुभयो । उहाँले पार्टीमा नहिंड्ने बताउनुभयो’ उनले भने, ‘सम्भवतः दुई छोरा र श्रीमान् गुमाउनुको पीडा एकातिर थियो भने पार्टीमा परेको खटपटले उहाँलाई थप पीडा थपियो होला ।’

अप्ठ्यारो विगत, झनै अप्ठ्यारो आगत

विवेकका घरमा ८ जना थिए । चार दाजुभाइ, बुवाआमा र दिदी–भिनाजु,आठै जना युद्धमा पूर्णकालीन सदस्य । त्यसो त उनको जेठान रामहरि भण्डारीको पनि धादिङको पीडास्थित घरमा बसिरहेको बेला राज्यपक्षबाट हत्या भयो ।

अब परिवारमा केही सदस्य मात्र छन् । जेहोस्, उनी घर सम्हाल्दै राजनीतिमा अगाडि बढिरहेका छन् । घर सम्हाल्नभन्दा अप्ठेरो बन्दै गएको छ राजनीति । राजनीतिमा माथि जान चरित्र तल झार्नुपर्ने अवस्था छ । ‘म शहीद परिवार हुँ, मलाई बिग्रिएर राजनीतिमा टिक्नु छैन, तर पनि त्याग र लगानीको हिसाबले राजनीतिमा माथि जान मन छ’ उनी भन्छन्, ‘२५ वर्षभन्दा बढी सक्रिय राजनीति गरें, तर अगाडि बढ्न सजिलो छैन ।’

उनले बुझेका छन्, हिजोको माओवादी र आजको माओवादीमा आकाश र जमीनको फरक छ । बुलेटको राजनीतिबाट ब्यालेटको राजनीतिमा आउँदा उनले पनि जीवनमा धेरै हण्डर ठक्कर भोगेका छन् ।

‘यसबीचमा उतारचढाव आयो, अहिलेको खानपान उठबस फरक भएको छ । नीति र सिद्धान्तमा भने हामी उही स्थानमा छौं । माओवाद नै मानिरहेका छौं’ उनी भन्छन्, ‘तर राजनीति र चुनाव महँगो भएको छ, यही महँगो चुनावी राजनीतिमा होमिने कि बाहिरै बस्ने, मेरो मनमा अन्तरसंघर्ष चलिरहेको छ ।’

त्याग र तपस्याको पहाड खडा गरेर आएका विवेक अहिलेको राजनीतिप्रति व्यक्तिगत रुपमा सन्तुष्ट छैनन् । ‘हिजो त्याग र क्षमता हेरिन्थ्यो, पार्टीप्रतिको लगानी र प्रतिबद्धता हेरिन्थ्यो अहिले त विजय जुलूसमा सहभागीहरुले नै पद हडप्ने अवस्था छ’ उनी विश्वासको मसिनो त्यान्द्रो समाउँदै भन्छन्, ‘आठौं महाधिवेशनले तय गर्ने कार्यदिशाले स्पष्टता हासिल गर्ने अपेक्षा गरेको छु ।’

त्यो सपना, यो जीवन

विवेक ११ वर्षको उमेरबाट विद्यार्थी राजनीति गर्दै सेनाको कमाण्डरसम्म बने । सेना छाडेर भूगोलमा फर्कंदा उनी कम्पनी कमाण्डर थिए । ‘म माओवादीमा हिंडेको धनी र गरीबको छोराले एउटै स्कूलमा पढ्न पाउँछ, बिरामी हुँदा उस्तै उपचार पाउँछ अर्थात् समानता हुन्छ भनेर हो’ उनको बुझाइ छ, ‘तर हेर्दै आउँदा यस्तो भएन । जनताको जीवनसँग जोडिने पार्टी बनेन । पार्टी अनुशासित बनेन । गुट–उपगुट भए । पैसाको चलखेल चल्न थाल्यो । अनेक विकृति विसंगति भित्रिए । युद्धको बेला जस्तै अनुशासित पार्टी बनोस् । बन्नुपर्छ ।’

माओवादीको आठौं महाधिवेशन चलिरहेको छ । उनी पनि सहभागी छन् प्रतिनिधिको रुपमा । ‘यो महाधिवेशनले स्पष्ट कार्यदिशा ल्याउन सकोस् । आगामी दिनमा पार्टीभित्र पैसा र पावरमा होइन संगठन र नीतिमा ध्यान देओस् । कमिटी प्रणालीलाई पछ्याओस्’, बस् विवेकको अपेक्षा यति मात्रै हो ।

सिद्धान्तका धेरै गफ छाँट्न आउँदैन विकेकलाई । ‘म जम्मा पाँच कक्षा पढ्दापढ्दै युद्धमा होमिएँ । होहल्लाको बाहिरी बजार र अहिलेको युगमा मानिसअनुसारका दृष्टिकोण होलान्, म त्यता जान्नँ’ उनी भन्छन्, ‘तर प्रचण्डले नेतृत्व गरेको युद्धमा मैले यति धेरै गुमाइसकें । म यही पार्टीमा रहन्छु, यहीं संघर्ष गर्छु ।’

विवेक कुरा चपाएर बोल्न जान्दैनन् । उनी भन्छन्, ‘मेरो बुवा, दाजुभाइको रगत नबगेको भए म आज माओवादी नबन्न पनि सक्थें । सम्भवतः हामी सबै दाजुभाइ नेपाली सेनातिर हुन सक्थ्यौं । दाइ संयोगले सरकारी सेना बन्न छाडेर जनमुक्ति सेनामा लागे । बुवाको प्रशिक्षणले काम गर्‍यो ।’

माओवादी आन्दोलन विस्तारै जनयुद्धलाई नचिन्ने जमातले कब्जा गर्दै गएझैं लाग्छ उनलाई । ‘अन्तरिम संसददेखि अहिलेसम्म लगातार सांसद बनिरहने, लाभको पदमा पुगिरहने मानिस पनि यही आन्दोलनमा छन्, अहिलेसम्म कुनै अवसर नपाउने मानिस पनि यहीं छन्’ उनी भन्छन्, ‘हामी विजय जुलूसमा मात्र जोडिन आएका होइनौं । हामी त विजयको इतिहास रच्न ज्यानको बाजी लगाएर युद्ध मोर्चामा रगत बगाएका मानिस हौं ।’

विवेकको बुझाइमा राजनीतिप्रति वितृष्णा बढ्नुका पछाडि नेताहरूको कार्यशैली र जीवनशैली जिम्मेवार छ । ‘गाउँबाट सांसद भएर काठमाडौं छिरेका नेता केही महीनामा महँगा गाडी लिएर गाउँ जान्छन्’ उनी भन्छन्, ’काठमाडौंमा त मतलब नहोला तर गाउँमा को कस्तो भन्ने सबैले चिनेका हुन्छन् ।’

पार्टीमा विकृति छन् । तर विवेकहरुको विश्वास मरिसकेको छैन । ‘यो परिवर्तनकै लागि बनेको पार्टी हो, दुनियाँ नसोचेको काम गर्न सक्ने पार्टी आफैंलाई निर्मम समीक्षा गर्दै रुपान्तरण हुनसक्छ भन्ने अपेक्षा अझै छ’ उनी भन्छन्, ‘सन्तुष्टि त छैन । तर सन्तुष्टि नभए पनि हामी शहीद परिवार, घाइते र युद्धमा सहभागी मानिसहरू जाने ठाउँ अन्यत्र कहाँ छ र ?’

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?