+
+

पाठक प्रतिक्रियासंगको साइनो

२०४९ साल असार २६ गते साहित्यकार रत्ननिधि रेग्मीले ‘नेपालीपत्र साप्ताहिक’ पत्रिकामा चरिकोटको बारेमा एउटा लेख छपाएका थिए । उनको लेखमा चित्त नबुझेर मैले २०४९ साल साउन २ गतेको नेपालीपत्रमा त्यसमा टिप्पणी गर्दै पाठक प्रतिक्रिया लेखेँ ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७८ पुष १७ गते १४:००

सत्य युगमा भगवान प्रकट भएको कथा निकै पढेका हौं । पार्वतीले महादेवको आराधना गर्दा डमरु र त्रिशुलसहित गलामा सर्पको माला बेरेर टुप्लुक्क महादेव प्रकट भएको स्वस्थानी ब्रत कथा हरेक बर्ष माघ महिनामा बाचन गर्ने दायित्व मेरै हुने गरेको छ ।

आराधना गरेको होइन, विगतको संस्मरण मनमनै बुन्दै गर्दा टुप्लुक्क प्रकट भए रत्ननिधि रेग्मी । रेग्मी उनै पात्र हुन् जसलाई मैले मेरो पत्रकारिताको यात्रामा उर्जा प्रदायक ठान्दछु ।

पत्रकारिताको गौरव, लेखनले ठूला– ठूला परिर्वतन सम्भव छ । यस्तै कुतकुतीले आफू पनि पत्रकार बन्ने अभिलाषासहित समाचारको कखरा कोर्दै गर्दा विभिन्न पत्रपत्रिकाको पाठक मञ्च मेरो लेखनको पाठशाला थियो ।

समाचार लेखनसंगै विभिन्न पत्रपत्रिकामा पाठक प्रतिक्रिया कोर्न समेत रुचि राख्दथेँ । यसै क्रममा २०४९ साल असार २६ गते साहित्यकार रत्ननिधि रेग्मीले ‘नेपालीपत्र साप्ताहिक’ पत्रिकामा चरिकोटको बारेमा एउटा लेख छपाएका थिए ।

उनको लेखमा चित्त नबुझेर मैले २०४९ साल साउन २ गतेको नेपालीपत्रमा त्यसमा टिप्पणी गर्दै पाठक प्रतिक्रिया लेखेँ । यो क्रम उक्त साप्ताहिकको केही अङ्कसम्मै जारी रह्रयो ।

२०७८ पुसको पहिलो हप्ता उनै रेग्मीलाई सम्झिएर आफ्नो पत्रकारिता यात्राको विगत अनुभूत गरिरहेको थिएँ । संयोग, उनैले फोन गरेर चरिकोटमा भेट्ने प्रस्ताव गर्दा त्यो प्रकटीकरण मेरो लागि अप्रत्याशित तर उत्साहित र अपेक्षितझैं लाग्यो । पत्रिकामा दोहोरी खेलेको झण्डै ३० बर्षपछि उनीसंग भौतिक रुपमै चरिकोटको बेकरी रेष्टुरेन्टमा एक कप चियासंगै विगत सम्झिँदा साँच्चै सुखानुभूति गरेको छु ।

म मेरो पत्रकारिताको सुरुवाती पाइलाको पदचाप र पृष्ठभूमिलाई अक्षरहरुसंग खार्दै थिए । खार्ने साधन पाठक प्रतिक्रिया, साहित्यिक लेखन, पत्रमित्र यस्तै यस्तै थियो । नौनी खार्ने क्रममा आगोका लप्काहरुले तताउदै गर्दा आउने सुगन्ध र बिलाउने जस्तै मेरो पत्रकारिताको यात्रामा धेरै पात्र र प्रवृत्तिहरुसंग मेरो सुखद संस्मरण जोडिएका छन् । जसमध्येका सिलु नायिका नविना श्रेष्ठ र रत्ननिधि रेग्मी पनि हुन् ।

२०४४ साल चैतको कुरा हो । म एसएलसी परीक्षा दिएर नतिजाको प्रतीक्षामा थिएँ । २०४२ सालबाट प्रकाशित फिल्मी म्यागेजिन कामनाको बर्ष ४, अङ्क ४ को नियमित स्तम्भ ‘जसको उत्तर, उसकै हस्ताक्षर’ को लागि नायिका नविना श्रेष्ठलाई मैले, ‘तपाईंमा केटाकेटी पन अझै गएको छैन भन्छन् नि ?’ भन्ने सवाल पठाएको थिएँ । जसको जवाफ नायिका श्रेष्ठले आफ्नै हस्ताक्षरमा, ‘म कान्छी छोरी, त्यस्तो हुन पनि सक्छ’ भनेर दिएकी थिइन् ।

नायिका नविना श्रेष्ठलाई सोधेको सवाल र कामना पत्रिकामार्फत मैले पाएको त्यो जवाफ नै पत्रकारिता क्षेत्रमा मेरो आवद्धताको पहिलो खुड्किला थियो । सायद त्यतिबेला मेरो सवालको जवाफ नआएको भए या मैले सवाल नै नपठाएको भए पत्रकारितामा मेरो पाइला अगाडि बढ्दैन थियो कि ! अहिले धेरै पत्रकार पत्रकारले पाठक प्रतिक्रिया लेख्न हुदैन भन्ने ठान्छन् । तर मेरो पत्रकारिताको श्रीवृद्धिमा भने पाठक प्रतिक्रियाको सिलसिलाले निखार ल्याएको ठान्दछु ।

‘कामना’ फिल्मी म्यागेजिन, ‘नेपालीपत्र’ साप्ताहिक, ‘गोरखापत्र’ दैनिक, ‘जनमञ्च’ साप्ताहिक लगायतका पत्रपत्रिकाहरुमा पाठक प्रतिक्रिया लेख्दै गर्दा २०४८ सालमा त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको ‘मुक्ति मासिक’मा ‘दंग र जंग’ शीर्षकमा ब्यंग्य छापियो । र २०४८ सालमै मुक्ति मासिकको चरिकोट प्रतिनिधिको रुपमा पत्रकारिता सुरु गरेँ । मेरो पत्रकारिताको यात्रामा धेरै उवडखावड छन् । पाठक प्रतिक्रिया, प्रतिनिधि, सम्पादक अनि रिपोर्टर ।

मेरो पत्रकारिताको अविचलित यात्राको अभिभावक कामना प्रकाशन समूहका संस्थापक पुष्करलाल श्रेष्ठ, राजनीतिज्ञ गिरिराजमणि पोखरेल र मुक्ति मासिकका सम्पादक त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा हुन् । लेखनको निश्चित विन्दुहरुमा उहाँहरुको प्रेरणा, उत्साह र हौसला सारथी बनेको थियो ।

‘अर्को जन्म’ र ‘देवता’ उपन्यासका लेखक प्रकाश कोविद, ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’का लेखक पिटर जे कार्थर, ‘बसाई’का लेखक इन्द्रबहादुर राई जस्ता लेखकहरु पनि मेरो पत्रकारिता यात्राको अभिभावकहरु हुन् । जसलाई पढ्दै र अनुभूत गर्दै मैले मेरो लेखनलाई निखारेँ भन्छु ।

साहित्यमा पढेका तीनै शब्दहरुले मलाई समाचार लेखनमा चुस्तता र वाक्य निर्माणमा सहज भएको हो । साहित्य र पत्रकारिताबीच घनिभूत मित्रता छ । साहित्य नभए त पत्रकारिता सूचनामात्र हुनेथियो होला । शब्दको मेल सूचनाले मात्र कहाँ सम्भव छ र, साहित्य पनि त चाहियो ।

मलाई थाहा छ, तीनै उपन्यास र लेखकको मनोभाव पढेर म कहिले टिस्टा रङ्गिन पुगेको छु, कैले मिरिक र घुम पुगेको छु । ज्याकाराण्डाको सुन्दरता र हसनाको सुगन्धले मेरो लेखनीलाई सत्य बनाएको छ ।

पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले कुनै प्रसंगमा भनेका थिए, ‘नेपालमा धेरैले पत्रकारिताको सुरुवात सम्पादकबाट गरेका छन् ।’ हो त मेरो पत्रकारिताको यात्रा पनि सम्पादकबाटै त सुरु भयो । पाठक प्रतिक्रिया र साहित्य लेखनबाट सुरु भएको मेरो यात्रा २०४९ सालमा अरुणीमा त्रैमासिकको सम्पादक भएर अघि बढ्यो । अहिले म सम्पादक पनि छु, रिपोर्टर पनि छु र लेखक पनि ।

प्रविधिको हिसाबले र शैक्षिक तहको हिसाबले अहिलेको पत्रकारिता उत्कृष्ट छ । हामीले हस्तलेखनबाट सुरु गरेको पत्रकारिता अहिले कम्प्युटर टाइपिङ हुँदै अघि बढेको छ । हामी परेर पत्रकार भयौं, अहिले पढेर पत्रकार बन्नेको संख्या अधिक छ ।

तर शिल्पी, सजग र सक्रिय लेखनसहितको पत्रकार भने कमै भेटिने गरेको छ अहिले । विडम्बना के भने रेडियोमा बोल्यो कि पत्रकार, केही थान समाचार छापियो कि पत्रकार । अब त पत्रकारहरु बीच सहकार्य पनि छैन, इस्यूहरुमा सल्लाह पनि छैन र सामूहिकता पनि छैन ।

२०५२ सालतिरको एउटा सम्झना छ । मेरा हरेक लेखन र संस्मरणहरुमा त्यो पलले सधै चिमोट्ने गर्छ । त्यो बर्ष (महिना र गते भने सम्झना गर्न सकिन ) अविरल बर्षापछिको पहिरोले दोलखाको सुनखानीमा धेरै धन, जनको क्षति भएको थियो । हामी केही पत्रकार सुनखानी पुगेका थियौं ।

हातले लेखेर फ्याक्समार्फत समाचार पठाउनुपर्ने त्यो समय । सुनखानी पुगेर सदरमुकाम चरिकोट फर्कदा यता विजुली र टेलिफोन दुवै बिग्रिएको । भोलिपल्टको पत्रिकामा समाचार त जसरी नि छपाउनै थियो । तर कसरी ? समाधान थिएन । तत्कालिन जिल्ला विकास समितिका सभापति रुद्रबहादुर खड्काले एउटा सुलह सुझाए । त्यतिबेला खरिढुङ्गामा ओरियण्ट म्याग्नेसाइट सञ्चालनमा थियो । त्यहाँ विजुली र टेलिफोन दुबै चलेको रहेछ । सभापति खड्काले जिल्ला विकास समितिको गाडि दिए खरिढुङ्गासम्म जान ।

सबै पत्रिकाको फ्याक्स नम्बर लिएर म खरिढुङ्गा गएँ समाचार पठाउन । अनि एउटा तयारी समाचारमा टिपेक्स लगाउदै सबै पत्रिकामा पालैपालो फ्याक्स गरिदिए । भोलिपल्ट सबैपत्रिकामा प्राथामिकताका साथ पहिरोका कारण जनधनको क्षतिको समाचार छापिएको देख्दा हामी सबै पत्रकारहरु खुशी र उत्साहित भयो ।

समाचारको लेखाइ हरेक पत्रकारको फरक– फरक हुनुपर्छ, यही हो आम मान्यता । तर त्यतिबेलाको परिस्थिति र घटनाको प्राथामिकताले पत्रकारहरुको सामूहिकता खोजेको थियो । र, हामीले त्यो दायित्व पूरा गर्‍यौं । त्यो बेलाको लेखाइ र विषवस्तुको छनौट पनि कम थिएन । हामी थोरै पत्रकार थियौं, हरेक विषयमा कलम चलाउथ्यौं । न राजनीतिक आग्रह–पूर्वाग्रह, न लेखनीमा कुनै खोट । सबैको हाइ– हाइ ! त्यतिबेलाका पत्रकार साथीहरु मध्यका राजेन्द्र, भोजराज, शम्भुहरु अहिले अन्य पेशामा बढी सक्रिय छन् । फेरि पनि उनीहरुको लेखनी समुन्द्रजस्तै, कतै उर्लदो छाल, कतै शान्त निलो पानी ।

३० बर्षको मेरो पत्रकारिता यात्रामा मेरो लेखनी जसरी अगाडि बढेको छ जीवनको अन्तिम पलसम्म त्यसरी नै अगाडि बढ्छ भन्ने विश्वास छ । किनभने मसंग अहिले पनि पाठक प्रतिक्रियाको ताकत, ब्यंग्य लेखनको सीप र सामूहिकताको संस्कार छ ।

म त्यतिबेला पनि सत्य लेख्न चाहन्छु, जतिबेला मेरा हातहरु बुढ्यौलीले कलम समाउन समेत असहज मानिरहेको हुने छ । म त्यतिबेला पनि सत्य पढ्न चाहन्छु जतिबेला उमेरका कारण मेरा आँखाहरु तिरमिराउन थालिसकेका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?