+
+

तिनाउ–दानव करिडोर प्रभावितले गरे थप आन्दोलनको घोषणा

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष १७ गते १८:३२

१७ पुस, बुटवल । तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यो सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ ।

संघर्ष समितिले पुस २० गते नगरपालिका गेट अगाडि थाल थटाएर प्रदर्शन, पुस २२ गते नगरपालिका गेट अगाडि अर्धनग्न प्रदर्शन र पुस २५ गते नगरपालिकाका वडा कार्यालयसहित नगरपालिकामा तालाबन्दी गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष आत्मबहादुर रानाले माग सुनुवाइ नभएमा जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिए । तिनाउ दानव करिडोर सडक क्षेत्रमा पर्ने सबै घर–टहरा तथा जग्गाका समस्या समाधान गरेर मात्र काम अघि बढाउनुपर्ने उनले बताए ।

आयोजना शुरु हुनुपूर्व उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई करिडोर क्षेत्रमा जग्गासम्बन्धी कुनै विवाद नरहेको भनी झुटो पत्र पठाउँदा अहिले समस्या आएको अध्यक्ष रानाले बताए ।

नगर प्रमुख शिवराज सुवेदीले माग सम्बोधन गर्नुको साटो संघर्ष समितिसँग भेटघाट गर्न समेत नमानेपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघर्ष समितिका सल्लाहकार वीरेन्द्रबहादुर बिकले बताए ।

करिडोर सडक प्रभावित जनताको माग सुनुवाइ गर्नुको साटो नगर प्रमुख सुवेदीले मोतीपुर औद्योगिक क्षेत्र प्रभावितका लागि छुट्याइएको जग्गा करिडोर प्रभावितलाई उपलब्ध गराउने भनेर झुटो कुरा गरेको संघर्ष समितिका उपाध्यक्ष राजु शाहीले बताए ।

अदालतमा मुद्दा पनि

बुटवल उपमहानगरपालिका–१३ मा करिडोर सडकले आफ्नो जग्गा मिचेको भन्दै मुद्दासमेत परेको छ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेपछि अदालतले गत भदौमा सडकको काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । त्यसपछि उक्त क्षेत्रमा सडक निर्माणको काम ठप्प छ ।

यसैगरी वडा नम्बर १४ मा पनि स्थानीय टेकबहादुर श्रेष्ठले सडक निर्माण कम्पनी लामा बानियाँ जेभी, बुटवल–१४ को वडा कार्यालय, बुटवल उपमहानगर तथा सडक डिभिजन कार्यालय बुटवललाई विपक्षी बनाई मुद्दा दायर गरेपछि अदालतले काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

मुद्दा र स्थानीयको विरोधले काम अघि बढाउन समस्या भएको लामा बानियाँ जेभीका प्रोजेक्ट म्यानेजर अनिल गौतमले बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा काम सुरु नै गर्न नपाई स्थानीयले सडक बनाउन अवरोध गरेका छन् ।

तिनाउ–दानव करिडोर निर्माणका लागि २०७७ असोज १२ र १४ गते ठेक्का सम्झौता भएपनि फागुन २८ गतेदेखि मात्रै काम सुरु भएको थियो । तिनाउ करिडोरका लागि ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ ।

तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार किरातेश्वर मैनाचुली अविसा जेभीले तिनाउ क्षेत्रको काम गर्ने छ भने लामा बानियाँ जेभीले दानव नदी क्षेत्रको काम गर्ने छ ।

गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर–जग्गा व्यवस्थापनको जिम्मा लिएका बुटवल उपमहानगरसहित तिलोत्तमा र सैनामैना नगरपालिकाले काम पूरा नगर्दा योजना अलपत्र पर्ने अवस्थामा पुगेको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार तिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०–१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने तय भएको छ ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्ती व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

बुटवलको वडा नंं.२, ५, ७, ९, ११, १३, १४ र १७ मा का तिनाउ तथा दानव नदी किनारमा १५ सय बढी र तिलोत्तमा नगरपालिकातर्फ ५ सय बढी घरधुरी प्रभावित हुने संघर्ष समितिको दावी छ । तर सरकारी निकायले ७ सय भन्दा बढी घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अनुमान गरेको छ ।

बुटवलको तिनाउ पुलमुनिबाट तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भइ तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने गरी यी दुई वैकल्पिक सडक बनाउने योजना अघि सारेको छ ।

यसको लागत ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?