+
+
देउवाको दोस्रो कार्यकाल :

मत दिनेलाई मात्र मनोनयन

सभापति शेरबहादुर देउवाले शनिबार र आइतबार गरी १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा आफूलाई मत दिनेहरुलाई मात्र रोजेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:०९

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका रुपमा पहिलो कार्यकालमा शेरबहादुर देउवामाथि लागेको आरोप हो–सबैको होइन, गुटको सभापति भए । १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै देउवाले भनेका थिए, ‘मलाई भोट हाल्यो–हालेन मतलब छैन, सबैको सभापति हुँ ।’

तर सभापतिका रुपमा गरेका सुरुवाती काम केन्द्रीय सदस्यहरूको मनोनयनले देउवामाथि प्रश्न उठ्न थालेको छ ।

देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरे । सभापतिका उम्मेदवार गुरुङले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए भने पौडेल र शाही देउवाकै प्यानलबाट क्रमशः महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार थिए । उनीहरु दुबै पराजित भएका थिए ।

यसअघि शनिबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका थिए, उनीहरुमध्ये रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियामा भाग नै लिएका थिएनन् । तर आफू उम्मेदवार हुन नपाएपछि डा. शेखर कोइराला समूहमा नखुलेका कारण सभापतिका अर्का उम्मेदवारलाई सघाउ पुगेको नेताहरु बताउँछन् ।

कृष्ण सिटौलाले देउवालाई समर्थन गर्दै उम्मेदवारी नै दिएका थिएनन् भने सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

विजयकुमार गच्छदार र डा. प्रकाशशरण महत उनकै समूहबाट क्रमशः उपसभापति र महामन्त्रीका उम्मेदवार थिए । नेताहरु नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्माले कुनै पदमा उम्मेदवारी दिएका थिएनन्, तर सबै देउवाको पक्षमा थिए ।

एक पदाधिकारीका अनुसार केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि भएको छलफलमा पदाधिकारीहरुले चासो राख्दा सभापतिभन्दा अघि सरेर उपसभापति पूर्णबहादुर खड्काले ‘तपाईंहरु छोड्नुस् न, सभापतिले गरिहाल्नुहुन्छ नि’ भनेर पन्छाउन खोजेका थिए । तर फेरि प्रश्न गरेपछि देउवाले सभापतिका उम्मेदवारहरु र रामचन्द्र पौडेललाई मनोनित गर्ने संकेत गरेका थिए ।

देउवाले उनीहरुबाहेक आफ्नो समूहबाट उपसभापति र महामन्त्रीका उम्मेदवार भएका क्रमशः गच्छदार र डा. महत तथा आफूलाई मत दिने उमा रेग्मी, नारायण खड्का, मीनबहादुर विश्वकर्मालाई पनि मनोनित गरे । आइतबार तीन जना मनोनित गरे, त्यसमा पनि देउवालाई मत दिनेहरु मात्र गरेका छन् ।

कांग्रेसको विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ । तर दुई पटक गरी १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले आफूलाई भोट दिनुलाई नै मनोनयनको मापदण्ड बनाएको त होइन भन्ने प्रश्न उठेको छ ।

किनकी उपसभापतिमा ७ उम्मेदवार थिए, जसमध्ये पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । विजयकुमार गच्छदार र चन्द्र भण्डारीले खड्का र गुरुङ हाराहारी मत ल्याएका थिए । सुजाता कोइराला र महेश आचार्यको मतान्तर पनि धेरै छैन । तर देउवाले केन्द्रीय सदस्य मनोनित गर्दा गच्छदार र कोइराला मात्र रोजे, जसले उनलाई सभापति बनाउन मत दिएका थिए ।

महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई मनोनित गर्दा मिनेन्द्र रिजाल परेनन् । मनोनित दुबै देउवा प्यानलका उम्मेदवार हुन् भने रिजाल, शेखर कोइरालाकाे टिमबाट महामन्त्री लडेका थिए । अर्थात मनोनित दुबै देउवालाई भोट दिनेहरु हुन् ।

‘कसलाई मनोनित गर्ने भन्ने उनको अधिकार हो, हामीसँग परामर्श गर्नुपर्दैन,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘तर आफूलाई भोट दिनेहरुलाई मात्र मनोनित गर्नुले उहाँको विवेकको निर्णयमा प्रश्न उठेको छ । अहिले पनि उहाँ गुटकै सभापति हुन खोजेको संकेत देखिएको छ ।’

सबैको सभापति बन्छु भन्ने सभापति देउवाको अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने बेला आएको बताउँछन्, महामन्त्री गगनकुमार थापा । ‘पार्टी सभापति आफैंले भन्नुभएको कुरा हो, म सबैको सभापति बन्छु । उहाँले भन्नुभएको त्यो कुरा व्यवहारमा लागू होस् र त्यो सार्थक बनोस् भन्ने हामी सबैको चाहना हो,’ उनले अनलाइनखबरसँग भने, ‘वरियता र मनोनयनका सम्बन्धमा धेरै टिप्पणी गर्ने कुरा केही छैन, तर सभापतिज्यूको निर्णयमा उहाँले भनेको कुरा आमकार्यकर्ताले महसुस गर्न पाउनुपर्छ । के बोलेँ भनेर होइन, मैले गरेँ भन्ने कुरातर्फ सभापतिको ध्यान जानैपर्छ ।’

संस्थापन समूहबाट निर्वाचित सहमहामन्त्री महेन्द्र यादव भने सभापतिले एकपक्षीय रुपमा मनोनयन गरेको भन्ने आरोप पूर्वाग्रही भएको टिप्पणी गर्छन् । महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गर्नु सभापति देउवाको उदारता भएको भन्दै उनले भने, ‘अहिले नै सभापतिले एकलौटी गर्नुभयो भनेर भन्नु पूर्वाग्रही हो । अझै २० जना मनोनित गर्न बाँकी छ । सभापतिले सबैलाई समेटेरै लैजानुहुन्छ ।’

देउवाले अब २० जना मनोनित गर्न पाउँछन्, तर केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न १४ जना महिला मनोनित गर्नैपर्ने वाध्यता छ ।

वरियतामा पनि अनुदार

कांग्रेस सभापति देउवामाथि नेताहरुको मर्यादाक्रम निर्धारणलाई लिएर पनि प्रश्न उठेको छ । खासगरी सभापतिमा आफूसँग पराजित भएका डा. शेखर कोइरालालाई २०औं वरियातामा राखेपछि नेताहरुले देउवामाथि अनुदार बनेको आरोप लगाएका छन् ।

महाधिवेशनले चुनेको केन्द्रीय समितिको पहिलो बैठकबाटै केन्द्रीय सदस्यहरुको वरियता तोक्ने परम्परा छ । तर विधानमा यससम्बन्धी कुनै व्यवस्था छैन, पार्टी सभापतिले आफ्नो विवेकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको वरियता तोक्ने प्रचलन छ ।

कांग्रेस नेताहरुका अनुसार यसमा सभापति उदार र अनुदार दुबै भएको रेकर्ड छ । गिरिजाप्रसाद कोइरालासँग पराजित भएका चिरञ्जीवी वाग्ले र नरहरि आचार्य दुबैलाई केन्द्रीय सदस्य मनोनित त गरिएको थियो, तर दोस्रो वरियतामा राखिएको थिएन ।

१२औं महाधिवेशनमा पराजित भएका देउवालाई सभापति सुशीलको कोइरालाले दोस्रो वरियतामा राखेका थिए । देउवा स्वयंले पनि १३औं महाधिवेशनमा आफूसँग पराजित रामचन्द्र पौडेललाई दोस्रो वरियता दिएका थिए ।

तर यो पटक उनले आफूसँग पराजित डा. शेखरलाई दोस्रो वरियता दिएनन्, पदाधिकारी र पूर्वपदाधिकारीभन्दा पछाडि राख्दा २०औं नम्बरमा परे । पूर्वपदाधिकारी भइसकेकाहरु नेताहरु केन्द्रीय सदस्य मनोनित हुँदा शेखर २६औं नम्बरमा धकेलिएका छन् ।

४० प्रतिशत मत पाएका शेखरलाई नेताका रुपमा स्वीकार गर्न आनाकानी गरेको उनी निकट नेताहरु बताउँछन् । ‘पार्टीमा वीपीकै पालादेखि वरियता सम्बन्धमा एउटा प्रचलन रहिआएको छ, त्यसको अवमूल्यन गर्ने काम सभापतिबाट भयो,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘यसरी पार्टी पंक्ति निर्धारणको परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो ।’ वरियता निर्धारणबारे मापदण्ड बनाउनुपर्नेमा उनले जोड दिए ।

सभापति निकट नेताहरु भने वरियतामा अनावश्यक बखेडा झिक्न खोजिएको बताउँछन् । देउवानिकट एक पदाधिकारीले भने, ‘शेखरजी सभापतिको उम्मेदवार त हो, तर उहाँभन्दा लामो राजनीतिक योगदान भएका धेरै नेताहरु कांग्रेस केन्द्रीय कार्यसमितिमा छन् । उहाँलाई अगाडि राख्दा विवाद निकाल्नु उचित छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?