+
+

ब्लाकबेरीका यी फोन बन्द हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:५०

यदि तपाईंले ब्लाकबेरीको फोन चलाउने गर्नुभएको छ भने तपाईंका लागि दु:खको कुरा छ । किनकि चर्चित क्यानेडियन कम्पनी ब्लाकबेरीले मंगलबार अर्थात् जनवरी ४ देखि ब्लाकबेरीका क्लासिक फोन बन्द गर्दैछ । ब्लाकबेरीले यस सम्बन्धमा आधिकारिक घोषणा गरिसकेको छ । कम्पनीले सपोर्ट सिस्टम बन्द गरेसँगै ब्लाकबेरीको फोनहरुमा फोनकल तथा मेसेज सबै बन्द हुनेछ ।

ब्लाकबेरीले केही वर्ष अगाडि नै आफ्नो लोकप्रिय QWERTY किप्याड वाला ब्लाकबेरी अपरेटिङ सिस्टमयुक्त फोनको उत्पादन बन्द गरेको थियो । तथापि ती फोनमा अहिलेसम्मै सफ्टवेयर सपोर्ट दिँदै आएको थियो । जुन सपोर्ट मंगलबारदेखि बन्द गर्दैछ ।

सिएनएनको रिपोर्ट अनुसार ब्लाकबेरी १० सफ्टवेयर, ब्लाकबेरी ७.१ अपरेटिङ सिस्टम वा त्यो भन्दा पूरानो सफ्टवेयर भएका, ब्लाकबेरी प्लेबुक अपरेटिङ सिस्टम २.१ र त्यो भन्दा पूराना ब्लाकबेरीका क्लासिक फोनमा जनवरी ४ देखि बन्द हुनेछन् । त्यससँगै यी फोनबाट न त कल गर्न सकिनेछ न त मोबाइल डाटा, एसएमएस तथा इमर्जेन्सी सेवाहरू नै चलाउन सकिनेछ । ब्लाकबेरीले गत सेप्टेम्बरमा यी फोनहरु बन्द गर्ने घोषणा गरिसकेको थियो ।

ब्लाकबेरी लिमिटेडको नामबाट विश्वभरका उद्योग तथा सरकारहरुका लागि सेक्योरिटी सफ्टवेयरलगायतका सेवा प्रदान गर्ने कार्यमा ध्यान केन्द्रित गर्नका लागि ब्लाकबेरीले पूराना फोनहरु बन्द गर्ने निर्णय गरेको हो ।

आइफोन जस्तै लोकप्रियता

सन् २०१६ पछि ब्लाकबेरी अधिकांस फोन व्यवसायबाट बाहिरियो । तथापि पछिल्ला केही वर्षदेखि कम्पनीले एन्ड्रोइड सफ्टवेयरमा चल्ने फाइभ जी ब्लाकबेरी फोन उत्पादनका लागि टिसिएल तथा सेक्योरिटी स्टार्टअप, अनवार्ड मोबिलिटीलगायतका विभिन्न कम्पनीलाई आफ्नो ब्राण्डको लाइसेन्स बिक्रीलाई जारी राखेको छ । स्मरण रहोस् ब्लाकबेरी फोनको लोकप्रियता केही वर्षअघिसम्म आइफोनको जस्तै थियो । सेक्योरिटी तथा सेफ्टी फिचर्सका कारण ब्लाकबेरी फोनको उच्च माग थियो । एन्क्रिप्सन फिचर ब्लाकबेरी फोनको सबैभन्दा खास विशेषता थियो । तर एन्ड्रोइड फोनको लोकप्रियतासँगै ब्लाकबेरीले आफ्नो पहिचान गुमाउन पुग्यो ।

ओबामाले समेत प्रयोग गर्दथे ब्लाकबेरी

सन् १९९० को दशकको अन्त तथा २००० को सुरुवातमा फिजिकल किबोर्डवाला ब्लाकबेरी मोबाइल फोन यतिधेरै लोकप्रिय थिए कि ब्लाकबेरी फोनलाई क्र्याकबेरीज नामाकरण गरिएको थियो । ब्लाकबेरी फोनको किबोर्डले ती कामकाजी मानिसहरुलाई आकर्षित गरेको थियो जसले डेस्कटप कम्प्युटरमा प्रयोग गरिने केही डिभाइससँगै कार्यालय बाहिर काम गर्नुको लचकता चाहन्थे । वास्तवमा त्यो समयमा ब्लाकबेरी फोन स्टाटस सिम्बोल बनेको थियो । विश्वका सेलिब्रेटीहरूका हातमा यहीँ फोन देखिन्थ्यो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पनि ब्लाकबेरी फोन प्रयोग गर्दथे । सन् २०१२ ताका ब्लाकबेरी फोनका सक्रिय प्रयोगकर्ता ८ करोड थिए । तर विस्तारै त्यो संख्या घट्दै गयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?