+
+

हातहतियार बोकेको यूएईको पानी जहाज हुथी विद्रोहीको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १८:५२

१९ पुस, काठमाडौं। यमनको विद्रोही समूह हुथीले संयुक्त अरब इमिरेट्सको एक पानी जहाज कब्जामा लिएको बताएको छ ।

सोमबार हुथी विद्रोहीका सैन्य प्रवक्ताले हातहतियार बोकेको संयुक्त अरब इमिरेट्स (यूएई) को पानी जहाज आफूहरूले कब्जा गरेको बताएका छन् ।

हुथीका प्रवक्ता याहिआ सरीले अनुमतिबिना यमनको जल क्षेत्रमा प्रवेश गरी उक्साहटपूर्ण कार्य गरेका कारण यूएईको पानी जहाज कब्जा गरेको बताएका हुन् ।

केही घण्टाअघि साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले हुथीमाथि हतियारसहित समुन्द्रमा डाका (पाइरेसी) गरेको आरोप लगाएको थियो । हुथीले कब्जा गरेको पानी जहाजमा स्वास्थ्य सामग्री रहेको गठबन्धन सेनाको दाबी रहेको छ ।

कब्जामा रहेको पानी जहाजा तत्काल रिहा नगरे आवश्यक कदम चाल्ने पनि गठबन्धन सेनाको भनाइ छ । ‘हुथी मिलिसियाले तत्काल पानी जहाज रिहा गर्नुपर्छ अन्यथा गठबन्धन सेनाले यो उल्लंघनसँग जुध्न बल प्रयोगसहितका आवश्यक कदम एवं प्रक्रिया चाल्ने छ’, सोमबार गठबन्धन सेनाका प्रवक्ता ब्रिगेडियर जनरल टुर्की अल मलिकीले भने ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१४ मा राजधानी सानामाथि नियन्त्रण लिएपछि यमन द्वन्द्वमा फँसेको छ । २०१५ देखि साउदी अरबको नेतृत्वमा रहेको अरब गठबन्धन सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गरेको थियो ।

गठबन्धन सेना र हुथी विद्रोहीबीच जारी लडाइँमा परी हजारौं मानिसको ज्यान गएको छ । गठबन्धन सेनाले यमनका बजार, विद्यालय र अस्पतालमा हवाइ आक्रमण गर्न थालेपछि हुथीले समेत साउदी अरबमाथि बारम्बार ड्रोन हमला गरिरहेका छन् ।

जारी लडाइँका कारण झण्डै ४ लाख मानिस विस्थापित भएको बताइन्छ । युद्धकै कारण यमनमा भोकमरी सिर्जना भएको भन्दै सेप्टेम्बरमा विश्वखाद्य कार्यक्रमले १ करोड ६० लाख यमनीहरू भोकमरीको जोखिममा पर्न सक्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?