+
+

राष्ट्रिय सभा निर्वाचन : गण्डकीका ३ सिटमा सत्तारुढ गठबन्धनलाई सहज

अमृत सुवेदी अमृत सुवेदी
२०७८ पुष १९ गते २१:०७

१९ पुस, पोखरा । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन सदस्य चयन हुनेछन् ।

गण्डकीका दिनानाथ शर्मा र शान्तिकुमारी बीसी र समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विकको पदावधि सकिँदैछ । २०७८ फागुन २० गतेसम्म गण्डकीका ३ जनाले ४ वर्षे कार्यकाल पूरा गर्दैछन् ।

रिक्त पदका लागि नेकपा एमालेले कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लिला थनेत र बागलुङका गोविन्द परियारको नाम टंगो लगाएको छ । अन्तिम सिफारिसमा परेका ९ मध्येबाट ३ जनाको नाम टुंगो लगाएको हो ।

सत्तारुढ गठबन्धनको भागवण्डामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक/एक सिट पाएका छन् । कांग्रेसले गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्र र जनता समाजवादी पार्टी उम्मेदवार छान्ने गृहकार्यमै छन् ।

मतभार हेर्दा सत्तारुढ गठबन्धनलाई सहज देखिएको छ ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन् । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ ।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभा सदस्य सहभागी हुन्छन् । स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

गण्डकीमा सबै पार्टीको एकल प्रतिस्पर्धा भएको खण्डमा सबै सिटमा एमालेले जीत हासिल गर्ने स्थिति थियो । ८५ स्थानीय तहको १ सय ७० सीटमध्ये अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा एमालेका छन् ।

स्थानीय र प्रदेश सभा गरी एमाले एक्लैको मतभार २ हजार ५५६ हुन्छ । तर, स्थानीय तहको सबभन्दा ठूलो र प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ५ दलीय गठबन्धन एक ठाउँङ्गा हुँदा उनीहरु बलियो भएका छन् ।

गण्डकीमा एमालेबाट फुटेको एकीकृत समाजवादी कमजोर छ । प्रदेश सभामा एक जना पनि एकीकृत समाजवादीका सांसद छैनन् भने स्थानीय तहमा ८५ मध्ये आँधीखोला गाउँपालिका उपाध्यक्ष एक जनामात्र छन् ।

गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस (२१९६), माओवादी (७९२), जनता समाजवादी (९६), राष्ट्रिय जनमोर्चा (१५० ) र एकीकृत समाजवादी (१८) मिल्दा मतभार ३ हजार २ सय ५२ हुन आउँछ । यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि गठबन्धनको प्रदेश सरकारमा मन्त्री छन् । उनले पनि गठबन्धनका उम्मेदवारलाई मत हाल्दा ३३०० मतभार हुने देखिएको छ ।

बागलुङ नगरपालिकाको उपप्रमुख र म्याग्दी बेनी नगरपालिकाको उपप्रमुखमा राप्रपाले जितेको छ ।

स्थानीय तहको निर्वाचन हुँदा २ जनाले स्वतन्त्र रुपमा जितेका थिए । तर, स्वतन्त्र चुनाव जितेका मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा पछि कांग्रेस प्रवेश गरे भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेप्तेन गुरुङ (राजु विष्ट) एमाले प्रवेश गरेका छन् ।

यस्तो छ अंकगणित

राजनीतिक पार्टी पालिकाका १७० जनाको मतभार प्रदेश सभाका ५९ जनाको कुल मतभार
नेकपा एमाले ७०  जना (१२६०) २७ जना ( १२९६) २५५६
नेपाली कांग्रेस ८२ जना (१४७६) १५ सीट (७२०) २१९६
नेकपा माओवादी १२ जना (२१६) १२ जना (५७६) ७९२
राष्ट्रिय जनमोर्चा ३ जना (५४) २ जना (९६) १५०
जनता समाजवादी २ जना (९६) ९६
एकीकृत समाजवादी १ (१८) १८
राष्ट्रिय प्रजातन्त्र पार्टी २ जना (३६) ३६
स्वतन्त्र ४८
लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?