+
+

बुटवलको व्यापार मेलामा ३० करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:५०

बुटवल, १९ पुस । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएका छन् ।

समापन समारोहमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको हुँदा सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताए । अध्यक्ष पाठकले बैकिङ तरलताको समस्या दीर्घकालीन रुपमा समाधान गर्न र व्यापार घाटा न्यूनीकरणमा विशेष योजना र नीति बनाउन सरकारसँग माग गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले पराधीन अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन राष्ट्रिय पुँजीमार्फत् औद्योगिकरण र व्यापार विविधीकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए ।

आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले चुनौतिपूर्ण अवस्थामा मेला सफलतापुर्वक सम्पन्न भएको र ५ लाख दर्शकको लक्ष्य राखिएकोमा ८ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका र ३० करोड रुपैयाँ बढीको कारोबार भएको बताए । मेलाले स्वदेशी उत्पादनको पहिचान र बजार प्रवद्र्धनसँगै लोक संस्कृति प्रवद्र्धनमा टेवा पु¥याएको गैरेले बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षत्री, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसीलगायत व्यापार मेलाबाट बचेको रकमको केही अंश बुटवलको विकास र सामाजिक काममा लगानी गर्न सुझाव दिए ।

समापन समारोहमा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जीसीले सबैको सहयोग, सुझावबाट मेला सोचेभन्दा उत्कृष्ट र सफल भएको बताए । मेलामा स्वदेशी र विदेशी उत्पादनका ४७० स्टल रहेका थिए । मेला समापनका अवसरमा मेलाका उपसमिति संयोजकहरू, उत्कृष्ट स्टल, सहयोगी संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?