+
+
राष्ट्रियसभा निर्वाचन :

गठबन्धनको चाहना क्लिन स्वीप, एमालेलाई प्रदेश १ मा झिनो आश

प्रदेश व्यूरो प्रदेश व्यूरो
२०७८ पुष २० गते २१:१८

१९ पुस, काठमाडौं । नेकपा एमालेकी नेता निरकुमारी कुँवरले मंगलबार निर्वाचन कार्यालय, हेटौंडामा पुगेर राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गरिन् । अर्का उम्मेदवार गोपाल शाक्य र पार्टीका नेताहरुसहित आयोगको कार्यालयमा पुगेकी उनले खादा पहिरिएकी थिइन् । तर, उम्मेदवारी दर्ता गर्दै गर्दा न उनमा कुनै उत्साह थियो, न अरु नेताहरुमा ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र स्थानीय पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । वागमती प्रदेशको प्रदेशसभा र स्थानीय तहमा एमाले पहिलो दल हो, तर सत्तारुढ दलहरुले गठबन्धन गरेर उम्मेदवारी दिएकाले एमालेको हार निश्चित जस्तै छ ।

एमाले उम्मेदवार निरुलाई पनि त्यो थाहा छ, तर पार्टीले उम्मेदवारका रुपमा सम्झिएकोमा खुसी छन् ।

सुदूरपश्चिम पुगेकी उनलाई पार्टीका नेताले फोन गरेर ‘तपाईंको नाम फाइनल भयो, मनोनयन दर्ता गर्नुस्’ भनेका थिए । ‘मेरो नाम आयोभन्दा आश्चर्य भयो । किनकी अकस्मात भयो नि !,’ उनले भनिन्, ‘पार्टीले सम्झियो, खुसी लाग्यो ।’

१९ जना राष्ट्रियसभा सदस्यका लागि आगामी १२ माघमा हुने निर्वाचनको मंगलबार उम्मेदवारी दर्ता थियो, जसमा ४३ जनाले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्वीपक्षीय ।

राष्ट्रिय सभाको चुनावमा प्रदेश सांसद, तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको मतको ४८ मतभार हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ हुन्छ ।

चार बर्षे कार्यकाल सकिएर अहिले चुनाव हुन लागेका १९ मध्ये ८ वटा एमाले तर्फको सिट हो । सरकारमा सहभागी सबै दलबीच भागवण्डा गरेर उम्मेदवारी दिएको गठबन्धन सबै १९ सिटमा क्वीनस्वीप गर्न चाहन्छ । मतभार हेर्दा प्रदेश १ मा बाहेक अन्यत्र गठबन्धनको जित सुनिश्चितजस्तै छ । तर प्रदेश १ मा भने एमाले र राप्रपाबीच गठबन्धन भए सत्तारुढ गठबन्धनका उम्मेदवार अप्ठ्यारोमा पर्न सक्छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘अहिले रहेकामध्ये केही सिटहरु गुम्न सक्छन् । तर एमालेले गठबन्धनको सामना गर्छ र आफ्नो उपस्थिति देखाउँछ ।’

प्रदेश १ मा एमाले– राप्रपा समीकरणको प्रयास

३ सदस्यका लागि निर्वाचनमा महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती देवी राई, एमालेकी सुमित्रा सुवेदी भण्डारी र राप्रपाकी रञ्जु प्याकुरेल उम्मेदवार छिन् ।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ गठबन्धनबाट जसपाका हेमराज राई र एमालेका सोनाम गेल्जेङ शेर्पा तथा अन्यतर्फ गठबन्धनबाट कांग्रेसका गोपालकुमार बस्नेत, एमालेका गुरु बराल र राप्रपाका अमरबहादुर विष्ट उम्मेदवार छन् ।

प्रदेशमा जम्मा मतभार ९ हजार ३४८ छ । ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आवद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ४ हजार ५२४ मतभार छ । राप्रपासँग १२० मतभार छ ।

सत्तारुढ गठबन्धनसँग मतभारको अन्तर निकै कम भएकाले एमालेले यो प्रदेशमा जितको आश राखेको छ । तर त्यसका लागि एमालेले राप्रपासँग गठबन्धन गर्नुका साथै सत्ता गठबन्धनका केही मतदातालाई प्रभावमा पार्नुपर्ने हुन्छ ।

राप्रपा पनि एमालेसँग सहकार्य गर्न इच्छुक छ । सहकार्यका लागि उसको शर्त छ, एक सिट दिए बाँकी दुई सिटमा सहयोग गर्छौं ।

राप्रपाको केन्द्रीय सदस्य प्रल्हाद शाह एमालेसँग सहकार्यको विषयमा छलफल भइरहेको बताउँछन् । उनले भने, ‘एमालेसँग सहकार्यको ढोका खुलै छ । हाम्रो एक जना उम्मेवारलाई सहयोग गर्ने अवस्था रह्यो भने सहकार्य हुनसक्छ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहकार्यबारे सम्वाद भइरहेको बताउँछन् । ‘सरसल्लाह सबै दलसँग भइहाल्छ, तर अहिले यस्तै भन्ने भइसकेको छैन,’ उनले भने, ‘केही दल (राप्रपा)सँग सहकार्यको सम्भावना छ ।’

तीन प्रदेशमा त्रिपक्षीय भिडन्त, बाँकीमा दुई पक्षीय

अन्य प्रदेशमा सत्ता गठबन्धन जित हुनेमा ढुक्क देखिन्छ भने एमालेले पनि हार मानेको छ । तथापि तीन प्रदेशमा त्रिपक्षीय र बाँकीमा दुई पक्षीय प्रतिस्पर्धा हुनेछ ।

प्रदेश २ मा महिला र अन्यतर्फ सत्ता गठबन्धन, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को उम्मेदवारी परेको छ ।

महिलातर्फ गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, एमालेकी विना देवी र लोसपाकी रुपाकुमारी यादवले उम्मेदवारी दर्ता गरेकी छन् । अन्यतर्फ गठबन्धनबाट जसपाका मोहमद खालिद र एमालेका उसमान अन्सारी उम्मेदवार छन् । लोसपाले अन्यतर्फ श्यामसुन्दर सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेपनि उनी उम्मेदवारी दिन गएनन् ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि हेर्दा जम्मा मतभार ९ हजार ८८८ रहेको प्रदेश २ मा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित देखिन्छ । सत्ता गठबन्धनको मतभार ७२५४ छ भने लोसपाको १५६० र एमालेको मतभार ९४२ छ ।

बागमती प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा छ, तर सत्तारुढ गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

महिलातर्फ सत्तारुढ गठबन्धनबाट एकीकृ समाजवादीकी गोमादेवी तिमिल्सिना, एमालेकी निरकुमारी कुँवर र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, एमालेका गोपाल शाक्य र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

९ हजार ५१६ मतभार रहेको वागमतीमा गठबन्धनको ४ हजार ९५६ मतभार छ । प्रदेशमा एमालेको ४ हजार १५२ र नेमकिपाको १३२ मतभार छ । यस्तै गण्डकी प्रदेशमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

महिला, दलित अन्यतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । महिलातर्फ गठबन्धनबाट कांग्रेसकी कमला पन्त र एमालेकी लिाल पोखरेल थनेत उम्मेदवार छिन् । दलिततर्फ गठबन्धनबाट माओवादी केन्द्रका भुवन सुनार र एमालेबाट अर्जुनकुमार सुनाम तथा अन्यतर्फ गठबन्धनबाट माओवादीका सुरेश आले मगर र एमालेबाट पूण्यप्रसाद पौड्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

जम्मा मतभार ५ हजार ८९२ मतभार रहेको गण्डकी प्रदेशमा सत्ता गठबन्धनको ३ हजार २३४ मतभार छ । एमालेको २ हजार ५३८ मतभार छ । यस्तै, लुम्बिनी प्रदेशमा पनि महिला, दलित र अन्यतर्फ हुने निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा छ ।

महिलामा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे र एमालेबाट भारती उपाध्याय खनाल, दलिततर्फ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र एमालेबाट कृष्ण सुनार तथा अन्यतर्फ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेबाट रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन् ।

३८८८ मतभार रहेको यो प्रदेशमा पनि सत्तागठबन्धन सहज अवस्थामा छ । गठबन्धनसँग ४ हजार ३१४ मतभार छ भने एमालेको ३ हजार २३४ मतभार छ ।

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फ हुने निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा छ ।

महिलातर्फ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा महत, अपाङ्गता वा अल्पसंख्यकतर्फ गठबन्धनबाट माओवादीका नरबहादुर विष्ट र एमालेबाट पदमबहादुर माझी उम्मेदवार बन्दा अन्यतर्फ गठबन्धनले एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेले चुडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

यो प्रदेशमा जम्मा मतभार ४ हजार ५२४ हो । २ हजार ८९८ मतभार भएको गठबन्धनको जित सुनिश्चित जस्तै छ । एमालेको १ हजार १३४ मतभार छ ।

सुदुरपश्चिम प्रदेशमा महिला, दलित र अन्यतर्फ चुनाव हुनेछ र सत्तारुढ गठबन्धन र एमाले प्रतिस्पर्धामा छन् ।

महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्मा (थापा), दलिततर्फ माओवादी केन्द्का जगतबहादुर पार्की र एमालेका नरेशकुमार विश्वकर्मा तथा अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्र र एमालेका डिल्लीराज भट्ट उम्मेदवार छन् ।

जम्मा मतभार ५ हजार ६६४ रहेको यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ । उसको ३ हजार ७८० मतभार छ भने एमालेको १ हजार ७८८ मतभार मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?