+
+

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:३२

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ ।

सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए

युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर ल्याएको थियो ।

श्रेस्तेदार राणाका अनुसार न्यायाधीश भरत लम्सालको इजलासमा थुनछेक बहस हुनेछ । उप्रेतीलाई बुधबार हिरासतमा राखिएको छ ।

गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि ३ लाख धरौटी बुझाएर उनी छुटेका थिए ।

२२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्ता मध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए ।

अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा ८ जनालाई दोषी ठहर गरेको थियो ।

मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?