+
+

३ दिनमा बेलहिया नाकाबाट आएका १५४ जनामा कोरोना संक्रमण पुष्टि

परीक्षण र नाकामा कडाइ गर्न माग

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष २३ गते १३:२५

२३ पुस, बुटवल । पछिल्लो तीन दिनमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।

ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्ला दिनहरुमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।

बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए ।

भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको ढकालले बताए । तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । भारतका नयांदिल्ली, कोलकत्ता, बनारस लगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ ।

संक्रमण दर बढेसंगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान सांघुरो हुंदा परीक्षणमा समस्या भएको ढकालले बताए । एन्टिजेट परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरेका छन् । अहिले नाकामा एन्टिजेन परीक्षणका लागि जनशक्ति पर्याप्त रहेको ढकालले बताए । बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।

चेकजाँच प्रभावकारी बनाउन माग

यसअघि पनि नेपालमा भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेका छन् । मुख्य भन्सार नाका वाहेक अन्य नाका र खुला सीमामा कडाई गर्न पनि व्यवसायीले माग गरेका छन् ।

उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कोरोना महामारीका कारण २ वर्षसम्म व्यवसाय थला परेको भन्दै फेरि पनि नाकामा लापरबाही भए संक्रमण फैलिने र लकडाउन भए व्यवसाय धराशायी हुने बताए । ‘सरकारी निकाय संवेदनशील बन्न आवश्यक छ’–उनले भने–‘ भारतबाट भित्रिने संक्रमणलाई रोक्न नसक्ने हो भने त्यसको असर अर्थतन्त्रमा पर्छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?