+
+

श्यामसुन्दर राजवंशी : स्वाध्ययनबाटै बनेका ‘निर्विकल्प’ लिपि विशेषज्ञ

शंकरमान राजवंशीको स्कुलिङमा पढेका श्यामसुन्दरसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने सोचेर पहिले नै दुई जना अन्तर्वार्ता नै दिन आएनन् । बाँकी दुई जनामध्ये अब्बल ठहरिएर लिपि विशेषज्ञको पदमा नियुक्त भएको राजवंशी बताउँछन्

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ पुष २४ गते १९:१६

२४ पुस, काठमाडौं । नेपाली इतिहास लेखनमा सबै इतिहासकार एउटै ढर्रामा रमाइरहँदा प्रामाणिक तथ्यसहितको फरक मत राख्ने इतिहासकारहरु कमै थिए । भारतीय विद्वान भगवानलाल चन्द्र इन्द्राजीले खोलेको लिपि अध्ययनको बाटोलाई धेरै विद्वानहरुले अघि बढाए । त्यसमध्ये श्यामसुन्दर राजवंशीका बाबुछोराको योगदान पनि यो क्षेत्रमा अतुलनीय रहेको छ ।

जीवनभर न त कुनै तालिम, न त विश्वविद्यालयको नियमित पढाइ । घरमै गरेको स्वाध्ययनबाटै विशेषज्ञ बनेका राजवंशी परिवार फरक तथ्यसहित सधैं फरक मतको नेतृत्वमा रहे । विश्वासिलो प्रमाण बोकेर पनि राजवंशी बाबुछोराले मार्केटिङको पछि लागेनन् । त्यसैले उनीहरु सीमित व्यक्तिबाहेक अरुको नजरमा सधैं ‘गुमनाम’ नै रहन पुगे ।

कुनै तालिम र विश्वविद्यालयको डिग्रीभन्दा पनि घरभित्रै चिन्तन र साधनालाई बढी विश्वास गर्ने श्यामसुन्दरसामु इतिहास संशोधन मण्डलका विद्यार्थी समेत रहेका पिता शंकरमान राजवंशी नै एकमात्रै आधार थिए । उनकै हात समातेर पुरातत्वको बाटोमा पाइला चालेका राजवंशी यतिबेला नेपालभर जुनसुकै ठाउँमा अभिलेख भेटेपनि पहिलो रोजाइका विशेषज्ञ बनेका छन् ।

पहिले इतिहास संशोधन मण्डलमा धनबज्र बज्राचार्य, गौतमबज्र बज्राचार्य र शंकरमान राजवंशी लिपि विशेषज्ञ थिए । धनबज्रले २०२५ सालमा चाँगुमा बार समेत उल्लेख भएको अभिलेख भेटे । त्यतिबेलै शंकरमान राजवंशी सहितका विद्वानहरु तिथि गणनामा देखिएको अन्यौल हटाउने कसरतमै थिए । सो अभिलेखमा बार उल्लेख भएको पाइएपछि बारको गणना गर्न थालियो । त्यसपछि लिच्छविकालमा दुईवटा संवत्मध्ये पहिलो शक दोस्रो मानदेव संवत् थियो भन्ने नयराज पन्त र शकपूर्व २२ को लिच्छवि संवत् र अंशुवर्मा संवत् भन्ने शंकरमान राजवंशीबीच स्पष्ट दुई मत बाहिर आयो । गुरु नयराज पन्तको मत चर्चित हुँदै गयो, चेला शंकरमानको मत एकाधबाहेक चर्चामा आएन । तर गोकर्णको बालुवा गाउँको अभिलेख भेटिएपछि नयराज पन्त र शंकरमान राजवंशी दुवैले भनेको कुरा पुष्टि भएन । त्यसको चुरो कुरा पछि शंकरमान राजवंशीले शकपूर्व २ मा लिच्छवि संवत् शुरु भएको भनेर सकार्नु भएका छन् ।

शंकरमान राजवंशीको स्कुलिङमा पढेका श्यामसुन्दरसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने सोचेर पहिले नै दुई जना अन्तर्वार्ता नै दिन आएनन् । बाँकी दुई जनामध्ये अब्बल ठहरिएर लिपि विशेषज्ञको पदमा नियुक्त भएको राजवंशी बताउँछन्

प्रशस्त प्रमाण भएर पनि लिपि अध्ययनको विषयमा विपक्षी धारमा रमाउनेहरुको चर्चा कमै हुन्छ । यही चर्चा कम हुनेमध्येका एक हुन्, राजवंशी । तर विपक्षी धारमा रहँदै गर्दा पनि इतिहास अध्ययनमा देखिएका विवाद समाधान गर्ने सूत्र उनैबाट भेटिएको छ । लिच्छविकालमा एउटै मात्रै संवत् चल्यो र त्यही संवत्सँगै लिच्छविकालको शुरुआत भयो भन्ने उनको मत हो । त्यो मतलाई पछिल्लो समय पुस ५ गते पाटन दरबार संग्रहालय अगाडि भीमसेन मन्दिर नजिक भेटिएको अभिलेखले पनि पुष्टि गरेको छ ।

एकैपटक लिपि विशेषज्ञको पद पाएका राजवंशी

वि.सं. २०३९ को अन्तिमतिर प्रवीणता प्रमाणपत्र तह (आईए) सकेपछि श्यामसुन्दर राजवंशीको मन सरकारी सेवातिर घुमिरहेको थियो । एकदिन आफ्नो योग्यताको प्रमाणपत्र बुझाउन जाँदै गरेको देखेर बाबु शंकरमानले संस्कृति तथा पुरातत्व क्षेत्रमा लाग्न आग्रह गरे । त्यसपछि उनी बाबुले बनाएको पुरातत्वक्षेत्रको विरासतलाई अघि बढाउन लागे ।

लिपिसम्बन्धी कुनै शैक्षिक उपाधि हासिल नगरेको भएपनि घरमा बाबुछोरा विमर्श गर्दा श्यामसुन्दरलाई लिपिको बारेमा सामान्य जानकारी भइसकेको थियो । त्यसैमाथि शंकरमान थिए पुरातत्व क्षेत्रमा नाम कमाइसकेका विद्वान । श्यामसुन्दरलाई शंकरमानले पुरातत्व विभागमा जागिर खान आग्रह गरे । सरकारी जागिरको लागि अन्यत्र धाउन थालिसकेका श्यामसुन्दरले बाबुको आग्रह नकार्न सकेनन् । इतिहास र संस्कृतिको बारेमा स्वाध्यायन गरेर केही ज्ञान बटुलेका राजवंशीले २०४० साल माघबाट लिपि विशेषज्ञको रुपमा पुरातत्व विभागमा सेवा शुरु गरे ।

त्यतिबेला सिधै लिपि विशेषज्ञको पद पाउनुको पछि पनि अनौंठो संयोग भेटिन्छ । तत्कालीन लिपि विशेषज्ञ हेमराज शाक्यले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाएपछि पुरातत्व विभाग लिपि विशेषज्ञविहीन भएको थियो ।

सो पदका लागि निवेदन आह्वान गरियो । श्यामसुन्दरसँगै चार जनाले सो पदका लागि निवेदन दिएका थिए । तर शंकरमान राजवंशीको स्कुलिङमा पढेका श्यामसुन्दरसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने सोचेर पहिले नै दुई जना अन्तर्वार्ता नै दिन आएनन् । बाँकी दुई जनामध्ये अब्बल ठहरिएर लिपि विशेषज्ञको पदमा नियुक्त भएको राजवंशी बताउँछन् ।

एकातिर घरमा शैक्षिक माहोल थियो भने अर्कोतिर उनले आईए सक्नेबित्तिकै लिपि विशेषज्ञको पद पाएका थिए । घरमा इतिहास, संस्कृति र पुराना संवत्का बारेमा विमर्श चल्थ्यो । उनी बाबु शंकरमानसँगै बसेर तिथि गणना होस् या त अरु लिपि अध्ययनमा अभ्यास गरिरहन्थे । सामान्य जानकारी हुँदैमा ‘विशेषज्ञ’ पद पाएका राजवंशीलाई अब भने साँच्चिकै विशेषज्ञ बन्नुथियो ।

उनले २०५४ सालमा खुलेको अधिकृत पदका लागि आवेदन भरे । त्यतिबेला एक जना आन्तरिक र चार जना खुल्ला प्रतिस्पर्धाको लागि आवेदन खुलेको थियो । उनी सोही वर्ष खुल्ला प्रतिस्पर्धाबाट अधिकृतमा नाम निकालेपछि पाटन संग्रहालयमा काम शुरु गरे । त्यसको केही समयपछि पुरातत्वका लिपि विशेषज्ञ शुक्रसागर श्रेष्ठ बढुवा भएपछि खाली रहेको लिपि विशेषज्ञ पदमा राजवंशी सरुवा भए । त्यहाँबाट झनै बढ्यो राजवंशीको लिपि अध्ययनप्रतिको लगाव ।

नेपाली लिपि अध्ययन नेपालीले नै गर्नुपर्नेभन्दै विदेशीमा लिपि र भाषाको ज्ञान भएपनि उनीहरुलाई यहाँको संस्कृतिको ज्ञान नहुने भएकाले नेपालमा भेटिएका अभिलेख पढ्न नेपाली नै अग्रसर हुनुपर्ने श्यामसुन्दर राजवंशीको मत छ

प्रमाणपत्र तहसम्म उनको मुख्य विषय इतिहास थियो । राजवंशी भन्छन्, ‘लिपि जान्नको लागि केवल लिपि र भाषाको मात्रै ज्ञानले हुँदैन, यहाँको संस्कृति, इतिहास र परम्पराबारे पनि बुझ्नुपर्छ । मसँग शैक्षिक उपाधि इतिहासको मात्रै थियो ।’ सेवाको ३५ वर्षसम्म पुरातत्व विभागमा काम गरेका राजवंशीसँग अहिले पनि कुनै तालिम र अनुभवको प्रमाणपत्र छैन । उनीसँग जति छ आफैंले घरमा सिकेको स्वाध्ययनको ज्ञान छ, यही ज्ञानले उनलाई जीवनको उत्तरार्धमा ‘निर्विकल्प’ लिपि विशेषज्ञको रुपमा चिनाएको ।

दुवै पुस्ता फरकमतका पक्षधर

राजवंशी परिवारको दुई पुस्ताले इतिहास तथा पुरातत्व क्षेत्रको अध्ययनमा आफ्नो जीवन बिताए । तर बाबुछोरा दुवैको मत धेरै मान्छेले अंगीकार गर्ने मतभन्दा फरक हुन्थ्यो ।

वि सं. २००० को दशकको अन्तिमतिर खुलेको इतिहास संशोधन मण्डलले नेपालको प्रामाणिक इतिहास लेखनलाई व्यवस्थित गर्न थाल्यो । ‘अपूर्णताको दोष भएपनि अशुद्धिको दोष हुनुहुँदैन’ भन्ने मूल आशय लिएको संशोधन मण्डलले धेरै दिग्गज उत्पादन गर्‍यो । त्यसमध्ये लिपि अध्ययनमा स्व. नयराज पन्त, स्व. धनबज्र बज्राचार्य, स्व. शंकरमान राजवंशी र गौतमबज्र बज्राचार्यले लिपिमा आफूलाई अब्बल बनाउँदै लगे । त्यही बेलादेखि नै शंकरमान राजवंशीले इतिहासको तिथि गणना पद्धतिमा मौलिक मत राख्दै आएका थिए । यतिसम्म कि आफ्नै गुरु नयराज पन्तले तयार पारेको तिथि गणना पद्धतिमा पनि उनको फरक मत थियो । त्यसलाई साथ दिएका थिए, छोरा श्यामसुन्दर राजवंशीले ।

पन्तले लिच्छविकालमा शक संवत् र मानदेव संवत् दुईवटा संवत् चलेको दाबी गरिरहँदा शंकरमानले त्यो कुरा मिल्दैन भनेका थिए । २०४३ सालमा नयराज पन्तले ‘लिच्छवि संवत्को निर्णय’ भन्ने पुस्तकमार्फत् दुई किसिमको तिथिको बारेमा वकालत गरेका थिए । तर  राजवंशीको फरक मत २०३० सालदेखि राख्दै लिच्छवि संवत्को निष्कर्ष नामक पुस्तक प्रकाशित थियो । शंकरमान राजवंशीले शकपूर्व २२ मा लिच्छवि संवत शुरु भएको भन्ने दाबी गरेका थिए । तर त्यसलाई आधार मानेर हिसाब गर्दा तिब्बती र भारतीय घटनाक्रमले मेल खाइरहेको थिएन । त्यसले धेरै इतिहासकारहरु राजवंशीको मतमा पनि सहमत हुन सकिरहेका थिएनन् । त्यही बेलामा श्यामसुन्दरले शकपूर्व २ मा लिच्छवि संवत् चलेको भन्ने मत राखेर सोही अनुसार हिसाब गर्न बुबा शंकरमानलाई आग्रह गरे । त्यसमा शंकरमान राजवंशीले पनि सहमति राखेपछि यही तथ्यलाई प्रामाणिक हिसाबले श्यामसुन्दरले अघि बढाउँदै आएका छन् ।

संशोधन मण्डलका विद्यार्थीहरु समेत तिथि गणनामा प्रश्न उठाउन हच्किने शंकरमानको तिथि गणनामा प्रश्न उठाएपछि श्यामसुन्दर विशेषज्ञतालाई धेरैले विश्वास गर्ने आधार बढ्दै गयो । गोकर्ण बालुवा गाउँको अभिलेख र पुस ५ गते पाटनमा भेटिएको अभिलेखसम्मले श्यामसुन्दरको मतलाई पुष्टि गरिसकेको छ । ढिलै भएपनि यी अभिलेखले आफ्नो मतलाई पुष्टि गर्दा खुसी लागेको बताउँछन् राजवंशी ।

विदेशीले पढेर हुँदैन, नेपाली नै लिपि पढ्न सक्ने हुनुपर्छ’

श्यामसुन्दर राजवंशीको निवृत्तिसँगै अहिले पुरातत्व विभाग र पुरातत्व क्षेत्रका अध्येताहरु राजवंशीपछि लिपि कसले पढ्ने भन्नेमा चिन्ता व्यक्त गर्छन् । ३५ वर्षे सेवा अवधि सकेर श्यामसुन्दर राजवंशी सेवा निवृत्त हुँदैगर्दा पुरातत्व विभाग लिपि विशेषज्ञविहीन भएको छ ।

श्यामसुन्दर भन्छन्, ‘नेपालमा लिपि बुझेकाहरु त धेरै छन्, तर अभिलेखबाट लिपि उतार्न सक्ने कति छन् ? भन्ने मलाई पनि यकिन छैन ।’ ३५ वर्ष लिपि पढ्दैगर्दा पुरातत्व विभागका कर्मचारीलाई लिपिको ज्ञान किन दिन सक्नुभएन ? भन्ने प्रश्नमा राजवंशी भन्छन्, ‘यो निकै झण्झटिलो र धेरै विषय जान्नुपर्ने भएकोले मान्छेले झण्झट उठाउन चाहँदैन । त्यसैले पनि जोकोही अध्ययन गर्न मान्दैनन् ।’

नेपाली लिपि अध्ययन नेपालीले नै गर्नुपर्नेभन्दै विदेशीमा लिपि र भाषाको ज्ञान भएपनि उनीहरुलाई यहाँको संस्कृतिको ज्ञान नहुने भएकाले नेपालमा भेटिएका अभिलेख पढ्न नेपाली नै अग्रसर हुनुपर्ने उनको मत छ ।

त्यसो त पुरातत्व विभागमा अहिलेमात्रै नभएर दुई दशक अघिदेखि नै लिपि अध्ययनमा श्यामसुन्दरको अभाव टार्न सक्ने कोही थिएनन् । २०४९ तिरको कुरा हो, मालीगाउँमा घर खन्ने क्रममा जयवर्माको मूर्ति भेटियो । त्यसको मुनि एकलाइनको अभिलेख लेखिएको थियो । त्यतिबेला विभाग प्रशासनसँगको चित्त दुखाइका कारण राजवंशी घरायसी बिदामा थिए । तर जय बर्माको मूर्ति मुनि रहेको सो अभिलेख पढ्न सक्ने पुरातत्व विभागमा कोही पनि कर्मचारी भेटिएनन् । तत्कालीन पुरातत्वको नेतृत्व त्यो महत्वपूर्ण अभिलेख पुरातत्व विभागले नै पढोस् भन्ने चाहन्थ्यो । त्यसपछि बिदामा बसेका राजवंशीलाई भारतमा संग्रहालयको तालिममा पठाउने विषयमा छलफल गर्नको लागि भन्दै कार्यालय बोलाइयो । त्यही मेसोमा अभिलेख पनि पढ्न लगाइएको थियो । राजवंशी भन्छन् ‘त्यतिबेला संग्रहालय शास्त्रको तालिमको लागि भनेर बोलाइएको थियो, त्यही बेलामा अभिलेख पनि पढ्न लगाइयो । तर पछि त्यो तालिममा जाने अवसर मैले पाइनँ ।’

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?