+
+

एमाले जिल्ला अधिवेशन : बाग्लुङमा १० बुँदे पक्षको वर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १६:४९

२६ पुस, पोखरा । नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् ।

शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो ।

सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले पराजित गरे । अध्यक्ष पदका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा विजयी भएका केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मत मात्र  पाए ।

बागलुङमा यसअघिका जिल्ला अध्यक्ष पनि १० बुँदे पक्षधर इन्द्रलाल सापकोटा थिए । एमालेको तत्कालीन माधवकुमार नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै इन्द्रलाल सापकोटाले नेतृत्व गरिरहेका थिए । प्रदेशसभामा पनि नेपाल समूहका सापकोटा मात्र थिए । २ भदौमा माधवकुमार नेपालले नयाँ पार्टी बनाउँदा सापकोटा भने पार्टी एकताका लागि भएको १० बुँदेको पक्षमा उभिए ।

केन्द्रीय सदस्य भएपछि सापकोटाले केही समयअघि पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । बागलुङका एक एमाले नेताका अनुसार कमिटीमा सम्भव भए सहमतिबाटै र नभएको पदमा चुनावबाट दशबुँदे पक्षधरलाई नेतृत्वमा ल्याइएको छ, यसले पार्टीको विवाद मिलानमा नयाँ सन्देश दिएको छ ।

बागलुङ १० बुँदे पक्षधरको जितको अर्को कारण गण्डकीका दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ पनि हो । एक नेताका अनुसार प्रष्ट प्यानल बनेपछि गण्डकीका निवर्तमान मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङले १० बुँदे पक्षधरको टिमलाई साथ दिएका थिए ।

‘एक त शुरुदेखि नै उहाँहरु एकताबद्ध हुनुहुन्थ्यो । त्यसमाथि खगराज कमरेड र पीएस कमरेडको लडाइँले उहाँहरुलाई फाइदा पुग्यो,’ बाग्लुङका एक एमाले नेताले भने, ‘पीएस कमरेडले केसीको टिमलाई साथ दिएको पक्का हो ।’

उपाध्यक्ष र सचिवमा पनि दशबुँदे पक्षका नेताहरु क्रमशः लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध चयन भएका छन् । यस्तै उपसचिवमा गणेशबहादुर थापा र डम्मर छन्त्याल विजयी भएका छन् । उपसचिवका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा थापाले २९९ मत ल्याउँदा श्रीसले २२८ मत ल्याएका थिए ।

५ जिल्लामा नेतृत्व टुंगो

बागलुङको मतपरिणाम सार्वजनिक भएसँगै गण्डकी प्रदेशका ५ जिल्लामा एमालेको नेतृत्व चयन पूरा भएको छ ।

एमालेको जिल्ला अधिवेशनले गोरखामा प्रेम गुरुङ, लमजुङमा कृष्ण अधिकारी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ र म्याग्दीमा देवेन्द्र कटुवाललाई अध्यक्ष चयन गरेको छ ।

चुनावी प्रक्रियाबाटै नेतृत्व छान्ने तयारी भइरहेको कास्कीमा भने अझै नेतृत्व चयन भइसकेको छैन । कास्की जिल्ला अध्यक्षका आकांक्षी मनबहादुर गुरुङलाई पृथ्वी सुब्बा गुरुङ र  दामोदर बैरागीलाई खगराज अधिकारीको साथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?