+
+

बिक्रमको अलराउण्ड प्रदर्शन र साहबको छक्कामा आर्मीको सनसनीपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १३:४१
म्यान अफ दि म्याचको पुरस्कार लिँदै बिक्रम सोब

३० पुस, काठमाडौं । फास्ट बलर बिक्रम सोबको अलराउण्ड प्रदर्शनबाट प्रेरित त्रिभुवन आर्मीले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

बिक्रमलाई साथ दिँदै अर्का बलर शाहब आलमले अन्तिम बलमा छक्का प्रहार गरेपछि आर्मीले सनसनीपूर्ण जित हात पारेको हो । यस जितपछि समूहको चारै खेल खेलिसकेको आर्मी ५ अंक जोडेर दोस्रो स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यद्यपि सेमिफाइनल पुग्न आर्मीले अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।

आर्मीको जितमा विक्रम सोबले ६ विकेट लिनुका साथै ब्याटिङमा अविजित २९ रन योगदान गरे । शाहबले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १२ रन जोडे ।

१५ औं ओभरमा ७५ रन हुँदा ६ विकेट गुमाएको आर्मीलाई विक्रम सोबले धैर्यपूर्ण ब्याटिङ गर्दै जितसम्म पुर्‍याए । सोबले १५औं ओभरमा सुदूरपश्चिमका शेर मल्ललाई २ छक्का र १ चौका प्रहार गर्दै आर्मीको जितको आधारमा बनाए । त्यसपछि आर्मीले १६ औं ओभरमा ४ रनमात्र जोड्दा तुलबहादुर थापाको विकेट गुमायो ।

१८औं ओभरमा ५ र १९ औं ओभरमा ६ रन जोडेको आर्मीलाई जितका लागि अन्तिम ओभरमा ७ रन चाहियो । विकास अग्रिको बलिङमा शुरुको ५ बलमा ५ रन जोडेको आर्मीलाई खेल जित्न अन्तिम बलमा २ रन चाहियो । अनि क्रिजमा रहेका शाहबले छक्का प्रहार गर्दै आर्मीको जित सुनिश्चित गरे ।

आर्मीका लागि ओपनर हरि चौहानले ३३ रन योगदान गरे । सुदूरपश्चिमका आदित्य महातारले ४ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।

त्यसअघि विक्रम सोबले घातक बलिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रनमा अलआउट भएको थियो । ७२ रनमा ३ विकेट मात्र गुमाएको सुदूरपश्चिमले अन्तिम ४३ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७, बसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका बिक्रम सोबले ४ ओभरमा ८ रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका आर्मीका बिक्रम सोब म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?