केही समय मत्थर भएको कोरोना भाइरस संक्रमणदर फेरि बढेको छ । अहिले स्वास्थ्य प्रदेशका कार्यालयहरुलाई ‘अलर्ट’ रहन, हुन कुराकानी भइरहेको छ । भेन्टिलेटर, अक्सिजनको अवस्था कसो छ भनेर जानकारी लिने भइराखेको छ ।
अर्को भनेको हामीले नाकामा कडाइ गरेर निगरानी बढाएका छौं । त्रिवेणी नाका, आबुँखैरेनी (मुग्लिन) नाका, राम्दी नाका गरेर तीन वटा नाकामा हेल्थ डेस्क र निगरानी कक्ष राख्ने तयारी भइरहेको छ । साथसाथै, कोभिडको विषयमा जनचेतनामूलक सन्देश पनि दिइरहेका छौं ।
नाकाबाट प्रदेश भित्रिने प्रत्येक गाडीहरूमा चेकजाँच गर्ने र सुरक्षित ठाउँमा जान अनुरोध गरिरहेका छौं । शंकास्पद त्यस्तो केही भेटिएमा त्यहीं ओरोलेर सम्बन्धित ठाउँमा पठाएर उपचार गराउने भन्ने निर्णय पनि भएको छ ।
आँबुखैरेनी नाकाको हेल्थडेस्कमा ३ जना स्वास्थ्यकर्मी राखिसकेको अवस्था छ । तेस्रो भेरियन्टको चर्चासँगै उहाँहरुलाई दुई महीनाअघि नै राखिसकेका थियौं । त्यसपछि कोरोना केही मत्थर भएकोबेला थियो । अब राम्दी र त्रिवेणी नाकामा पनि राख्ने योजना छ ।
त्रिवेणी नाका छिमेकी राष्ट्रसँग जोडिएको भएकाले केन्द्र सरकारसँगै समन्वय गरेरै गर्नुपर्छ कि भन्ने पनि छ । किनकी त्यहाँबाट आउनेहरु गण्डकी प्रदेशमामात्रै आउने होइनन्, त्यहाँबाट बागमतीमा पनि जान्छन्, लुम्बिनीतिर पनि जान्छन् ।
राम्दीमा भने तत्कालै हामीले एउटा हेल्थडेस्क राखेर स्वास्थ्यकर्मी पठाएर तुरुन्त दक्षिणबाट आउनेहरुलाई सुरक्षित तवरले गण्डकी प्रदेशमा छिर्ने, बनाउने वातावरण बनाउन सकियो भने केही सुरक्षित हुन सकिन्थ्यो कि भन्ने हो ।
कोरोना रोकथामका लागि बुस्टर डोजको कुरा पनि छ । तर, बुस्टर डोजका लागि हामीसँग सिरिन्जको अभाव छ । गण्डकी प्रदेश अन्य प्रदेशभन्दा भ्याक्सिन म्यानेजमेन्टको सन्दर्भमा भने अब्बल प्रदेश हो । खोप भण्डारणका लागि पनि हामीसँग भण्डार कक्ष छ ।
त्यसका साथै गण्डकीमा हामीले सिंगल डोज ९१ प्रतिशत, डबल डोज ७८ प्रतिशतलाई खोप दिइसकेका छौं । बाँकी भने खोप नलगाए पनि हुन्छ भन्नेहरुमात्रै हुनुहुन्छ । तर, अहिले खोपकार्डबिना सार्वजनिक ठाउँमा आउजाउ गर्न नदिने भइसकेपछि खोप लगाउने अवस्था फेरि सुरु भएको छ ।
अहिले भनेको अलिकति सिरिन्ज अभाव हो । यसको व्यवस्था गर्न सक्यौं भने बुस्टर डोज लगाएर भए पनि गण्डकी प्रदेशका नागरिकलाई सुरक्षित राख्न सक्छौं भन्ने छ । यस विषयमा पनि निरन्तर छलफल भइराखेको छ ।
कोभिडविरुद्ध लड्न जनशक्तिको व्यवस्थापन पनि गर्दै आइरहेका छौं । केही समयअघि मात्रै पनि कोभिडको सन्दर्भमा ३१५ जना विज्ञापन मागेर नियुक्त गरिसकेका छौं । स्टाफ नर्स, एनेसथेसिया लगायत अन्य कोभिडसँगै सम्बन्धित डाक्टरहरुको म्यानेज गरिरहेका छौं ।
तर, यो गण्डकीमा मात्रै नभएर यो समस्या पनि संघबाटै उत्पन्न भइदियो । राम्रा र विज्ञ स्वास्थ्यकर्मी काठमाडौं केन्द्रित भए । हुन त काठमाडौं पछिको स्वास्थ्यमा पोखरा आउँछ । तर पनि काठमाडौंतिर बढी केन्द्रित हुने समस्या हटेको छैन । संघले पनि कर्मचारीहरुलाई केन्द्रिकृत मानसिकताबाट चलाइराखेको छ । यसले अलिअलि समस्या परिराखेकै छ ।
तर, त्यसो भन्दैमा समस्यादेखि भाग्दै हिँड्ने पनि होइन । हामीले विभिन्न तालिम सञ्चालन गरेरै भए पनि जनशक्ति उत्पादन गरिरहेका छौं । कम्तिमा भेन्टिलेटर, अक्सिजन मेसिन चलाउन सक्ने आदि जनशक्ति हामीले नै उत्पादन गर्छौं । आवश्यक पर्यो भने फेरि सूचना निकालेर आवश्यक स्वास्थ्यकर्मीको करार दरबन्दी गरेर अघि बढ्न तयार छौं ।
पहिलो र दोस्रो लहरमा गण्डकीमा अक्सिजनको केही समस्या थियो । तर, अहिले प्रायः जिल्लामा अक्सिजन प्लान्ट पुगिसकेको छ । गण्डकीको मनाङ र मुस्ताङमा मात्रै थोरै समस्या भएको हो । त्यहाँ पनि अक्सिजन प्लान्ट पुर्याउने पुरानै योजना थियो ।
तर, राष्ट्रिय लाइनसँग त्यहाँको बिजुली नजोडिएर सोलारबाटै काम गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । यी दुई जिल्लाबाहेक अरुमा समस्या छैन ।
(अनलाइनखबरकर्मी विकास रोकामगरसँग गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4