+
+

शिक्षक अस्पताल चितवनमा बनाउन अध्ययन समितिको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २०:१२

५ माघ, काठमाडौं । शिक्षक अस्पतालका ठाउँ खोज्न गठित अध्ययन समतिले चितवनको भरतपुर सिफारिस गरेको छ ।

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि चितवनको भरतपुर महानगरपालिका-१५ भगवानपुर उपयुक्त हुने भनी सिफारिस गरेको हो ।

समतिले चितवनसंगै भक्तपुरको सुर्यविनायक नगरपालिका-८ जागती, सुर्यविनायक नगरपालिका-४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

अध्यनपश्चात समितिले भरतपुर महानगरपालिका-५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्ष निकालेको हो।

समितिका संयोजक डा. विमल शर्मा चालिसले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा चितवन किफायति हुने देखिएको बताए।

३०० शैया क्षमताको संघीय शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्छ ।

साथसाथै वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउन पनि समितिले मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषय मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । ‘प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ । र अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’ मन्त्री पौडेलले भनेका छन् ।

शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न सरकारले गत कात्तिक २२ गते डा. चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउने घोषणा गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?