+
+

अनिल खरेलको उत्कृष्ट पुनरागमन

अब भने अनिल क्रिकेटका लागि तयार भएका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले पनि त्यही संकेत गर्छ । ‘यू-१९ राष्ट्रिय प्रतियोगिताहरु नभएपछि सिधै सिनियर टिममा पर्न गाह्रो छ । हाम्रो प्रदेशमा अली प्रतिस्पर्धा पनि छ, त्यसले सिनियरमा आउन समय लाग्यो,’ अनिल भन्छन्, ‘यस (प्रधानमन्त्री कप)लाई पुनरागमन रुपमा पनि लिन सकिन्छ ।’ प्रधानमन्त्री कपमा राम्रै प्रदर्शन गरेका उनलाई आश छ, राष्ट्रिय टोलीको ढोका खुल्नसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १९:४४

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले समूह चरण पार गर्न सकेन । तर टोलीका युवा स्पीनर अनिल खरेल प्रतियोगिताकै उत्कृष्ट बलर बन्न सफल भएका छन् । यसले अनिलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणको ढोका खोल्ने सम्भावना बढेको छ ।

नेपाल अर्को महिना ओमानमा हुने टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको तयारीमा छ । त्यहीकारण एकदिवसीय प्रधानमन्त्री कपको फर्म्याट परिर्वतन गरेर टी-२० बनाइएको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको छ ।

नकआउट चरण पुग्न नसकेको लुम्बिनीले समूह चरणका चारमध्ये दुई खेल जित्यो भने दुईमा हार व्यहोर्‍यो । कुल १३ ओभर बलिङ गरेका अनिलले मात्र ७८ रन दिएर १० विकेट लिए । त्यही कारण राष्ट्रिय टिमबाट खेलिसकेमा सिनियर बलरहरु समेतलाई उछिन्दै अनिल प्रतियोगिताकै उत्कृष्ट बलर बने ।

प्रतियोगितामा सर्वाधिक १४ विकेट नेपाल पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले लिएका छन् भने एपीएफका अविनाश बोहोराले १२ विकेट लिएका थिए । तर दुवैले अनिलले भन्दा २ खेल बढी खेलेका थिए । एपीएफकै किशोर महतोले पनि १० विकेट लिएका छन्, तर उनले पनि ६ खेल खेलेका छन् ।

त्यो फुच्चे अनिल

२१ वर्षका अनिल नेपाली क्रिकेटका लागि नयाँ नाम भने होइन । सन् २०१४ मा मलेसियामा भएको एसीसी यू-१६ प्रिमियर क्रिकेटमा १३ वर्षका अनिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाललाई उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका उनले त्यो प्रतियोगितामा ५ खेल खेल्दै १३ विकेट लिएका थिए । १३ वर्षकै उमेर सनसनी मच्चाएका अनिल प्रोमिसिङ प्लेअरको अवार्ड जित्न सफल भए ।

उनको उत्कृष्ट प्रदर्शन १६ रन खर्चेर ६ विकेट लिनु थियो । जुन प्रतियोगिताकै उत्कृष्ट स्पेश थियो । प्रतियोगिताका उत्कृष्ट बलर भने नेपालकै जितेन्द्र सिंह बनेका थिए, जसले सर्वाधिक १५ विकेट आफ्नो नाममा लेखाएका थिए ।

त्यो बेला अनिलसंगै नेपाली टिममा रहेका आसिफ शेख र पवन सर्राफले राष्ट्रिय टोलीमा स्थान बनाइसके । सुमित महर्जन, रविन्द्र जंग र सुशान्त थापा पनि घरेलु क्रिकेटमा खेलिरहेका छन् । अनिल भने क्रिकेटमा छाउन सकेका थिएनन् ।

प्रधानमन्त्री कपमा प्रदर्शन

अनिलले तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेट खेलेका हुन् । यसअघि खासै राम्रो गर्न नसकेपनि यस पटक भने बेस्ट बलर बन्ने प्रदर्शन गरे ।

प्रतियोगिताको पहिलो खेलमा उनले १ विकेट लिए । मुलपानीमा बागमती प्रदेशविरुद्ध अनिलले ३ ओभरमा १७ रन खर्चिए । उक्त खेलमा लुम्बिनी पराजित भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश २ विरुद्ध भएको दोस्रो खेलमा भने अनिलले धातक बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन मात्र खर्चेर ५ विकेट लिँदै प्रदेश २ को इनिङ्स ध्वस्त पार्दा लुम्बिनीले पहिलो जित हात पार्‍यो ।

मुलपानीमा भएको एपीएफ विरुद्धको तेस्रो खेलमा भने उनले विकेट लिन सकेनन् । फेरि टीयू मैदानमै भएको गण्डकीविरुद्ध चौथो खेलमा अनिल चम्किए । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । यो खेल पनि लुम्बिनीले नै जित्यो ।

४ खेलमा १० विकेट लिएका अनिल बेस्ट बलर बन्दा खुसी छन् । तर टिम सेमिफाइनल पुग्न नसकेकोमा सन्तुष्ट छैनन् । ‘टिम राम्रै भएजस्तो लाग्थ्यो तर पहिलो खेलमै बागमतीसँग हार्‍यौ । सेमिफाइनल पुगेको भए हामी अझै खुशी हुन्थ्यौं,’ अनिलले भने ।

उमेर समूहको प्रतियोगिता नहुँदा गाह्रो भयो

एसीसी यू-१६ प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल भविष्यका लागि सम्भावना बनेको खेलाडीको रुपमा देखिएका थिए । उनीसँगै खेलेका अन्य खेलाडीहरु राष्ट्रिय टिमसम्मै पनि पुगिसके । तर अनिल भने बिचमा हराएको जस्तै भए ।

उनका अनुसार एकातिर पढाईका दबाव थियो । स्कुल लेभलका प्रतियोगिताहरु खेले पनि राम्रोसँग प्रशिक्षण गर्न पाएनन् । त्यही बेला यू-१९ प्रतियोगिताहरु पनि भएनन् । भन्छन्, ‘सिनयर टिममा पर्न यू-१९ नै हेर्ने हो । त्यो नहुँदा पनि पछि परेँ जस्तो लाग्छ ।’

११-१२ को परिक्षा दिएपछि प्रशिक्षणहरु समय दिए । फ्रेन्चाइज लिगहरुमा प्रयास गरे । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा उनी इमर्जिङ प्लेअर घोषित भएका थिए । गत वर्ष मेयर्स कपमा काठमाडौं मेयर टिमबाट खेलेका उनको प्रदर्शन ठिकठाक रह्यो । पछिल्लो संस्करणको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स टिममा थिए । तर धेरै खेल्ने अवसर पाएनन् । उनले चितवन टाइगर्स विरुद्ध खेल्दै ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए ।

अब तयार छु

अब भने अनिल क्रिकेटका लागि तयार भएका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले पनि त्यही संकेत गर्छ ।

‘यू-१९ राष्ट्रिय प्रतियोगिताहरु नभएपछि सिधै सिनियर टिममा पर्न गाह्रो छ । हाम्रो प्रदेशमा अली प्रतिस्पर्धा पनि छ, त्यसले सिनियरमा आउन समय लाग्यो,’ अनिल भन्छन्, ‘यस (प्रधानमन्त्री कप)लाई पुनरागमन रुपमा पनि लिन सकिन्छ ।’

प्रधानमन्त्री कपमा राम्रै प्रदर्शन गरेका उनलाई आश छ, राष्ट्रिय टोलीको ढोका खुल्नसक्छ ।

टी-२० ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाउन सक्छ भन्ने लागेको छ । भन्छन्, ब्याट्सम्यान हावी भइरहेका बेला स्पीनरमा सर्वाधिक विकेट लिएकाले क्याम्पमा पर्नुसक्छु जस्तो लाग्छ । परेँ भने अझ मिहिनेत गर्छु ।’

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण सुरु गरिसकेका छन् । तर प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने नयाँ खेलाडीहरुलाई पनि समावेश गर्ने बताएकाले अनिल आशावादी हुनु स्वभाविक हो ।

बुटवलकै मणिमुकुन्दमा ब्याचलर दोस्रो वर्ष व्यवस्थापन संकायमा अध्ययनरत अनिल भन्छन्, ‘अहिले धेरै कुरा सिकेको छु । अब चाँही खेल्ने रेडी नै भा’छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?