+
+

सुनाकोठीको चोरिएको मूर्ति खोज्न अनुसन्धान टोली गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १९:२१

१० माघ, ललितपुर। ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनले भने, ‘प्राविधिक सहित अनुसन्धानका लागि टोली गठन गरेका छौं, अनुसन्धानका टुल्सहरु प्रयोग गरेर खोजी सुरु गरिसकेका छौं ।’ ललितपुर महानगरको वडा-२७ मा रहेको मन्दिरबाट बालकुमारीमाईको मूर्ति आइतबार चोरी भएको थियो । चोरीमा संलग्नले चारवटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ ।

प्रदेश सांसद राजकाजी महर्जनले कल ट्रेसिङ्ग लगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘ सुनाकोठीमा अप्रिय घटना भएको छ, सुनाकोठीवासी दुखमा हुनुहन्छ, राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरेर मूर्ति खोजी गर्नुपर्छ ।’

आस्थाको केन्द्र, धार्मिक, ऐतिहासिक सम्पत्तिको चोरीले सुनाकोठीवासी मर्माहत भएको प्रदेश सांसद दिनेश महर्जनले बताए । उनले भने, ‘तदारुकता र जिम्मेवारीवोधसहित खोजीमा लागौं।’

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घटना निन्दनीय भएको बताए । ‘बालकुमारी माईको मूर्ति चोरी हुँदा हाम्रो मन रोएको छ, माईलाई आफ्नै घरमा फर्काउन अनुसन्धानलाई चुस्त बनाऔं ।’

महानगरका तर्फका मूर्ति खोजीका सबै खालको सहयोग गर्न तयार रहेको नगर प्रमुख महर्जनले प्रष्ट पारे। उनले भने, ‘म सामाजिक, आर्थिक, राजनीतिक रुपमा सहयोग गर्न तयार छु, अनुसन्धान चुस्त हुनुपर्‍यो, जतिसक्दो छिटो मूर्ति सुनाकोठीमा राख्न पाइयोस्।’

वडा नं २७का वडा अध्यक्ष बाबुराज महर्जनले मूर्ति हराउँदा सुनाकोठीबासीको मुटु छियाछिया भएको बताए । उनले अनुसन्धानका लागि सबैखालको सहयोग गर्न तयार रहेको वचनबद्धता व्यक्त गरे । वडा नं २६का अध्यक्ष सुरेश महर्जनले आस्थाको धरोहर बालकुमारी माईलाई आफ्नै घरमा फर्काउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै अनुसन्धानलाई चुस्त बनाउन आग्रह गरे ।

ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्र समेत लागेको जानकारी दिए । उनले भने, ‘अनुसन्धान चुस्त हुन्छ, सुरक्षा संयन्त्र यसमा संवेदनशील भएर लागेको छ ।’ उनले स्थानीय सरकार, प्रदेश सरकारलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहर रहेका ठाउँमा सिसिटी टिभी जडान गर्न अनुरोध गरे ।

उनले भने, ‘ सुरक्षा क्षेत्रमा सिसिटी जडानका लागि मनग्य आर्थिक स्रोत हुँदैन, स्थानीय र प्रदेश सरकारले यसमा ध्यान दिए, मन्दिर, पाटीको मात्रै नभएर सम्पूर्ण क्षेत्रको नै सुरक्षा हुन्छ ।’ बैठकमा बालकुमारी गुठीका गुठीयार, भलाद्मी लगायत सुनाकोठीबासीकोसमेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?