+
+

सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु

रासस रासस
२०७८ माघ ११ गते १३:३७

११ माघ, डोटी । पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्व सुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ छ । विवाह गरेर पराइँ अर्थात् माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन् ।

विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ दिने चलन छ । आफ्ना माइती नभएका अर्थात् आमा, बुबा, दाइ, भाउजु नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको दिपायलसिलगढी नगरपालिका-४ गैराकी स्थानीयवासी बाटुली विकले बताइन् ।

उनले भनिन्, ‘महिनाभरि माइतीले छोरीलाई रोटी (त्यारमाडो) दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त यो महिनाभरि रोएरै बस्नुपर्ने हुन्छ, माइती सम्झिँदा रुन मात्रै मन लाग्छ ।’ माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् । माघ महिनाभरी यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको जोरायल गाउँपालिका–३ कीयसोदा मल्लले जानकारी दिइन् ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको बुढापाका बताउँछन् ।

यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरि यहाँ कोसेली बोकेर छोरी-ज्वाइँको घर गइरहेका आमा भेटिने गरेका छन् । यहाँ माघ महिनालाई धार्मिक महिनाका रुपमा लिने गरिन्छ । यस महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने विश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका स्थानीयवासी मानबहादुर धामीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?