+
+

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेलाई झिनो आश

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ ११ गते १९:०६

११ माघ, विराटनगर । प्रदेश १ मा तीन जना राष्ट्रियसभा सदस्यका लागि बुधबार मतदान हुँदैछ । तीन पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जना उम्मेदवार छन् ।
प्रदेश १ म मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच हुनेछ । एमाले भन्दा झिनो मतले सत्तारुढ गठबन्धन अगाडि रहेका कारण प्रदेश १ मा दुई पक्षबीच कडा प्रतिस्पर्धा हुनेछ ।

एमाले नेताहरुका अनुसार अन्य प्रदेशमा हार्ने निश्चित भएपनि प्रदेश १ मा जित्ने सम्भावना छ । सम्भावना जीवित रहेका कारण एमालेका नेताहरुले मतदाता रिझाउने प्रयास गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार उम्मेदवार र नेताहरुले तारन्तार फोन गरिरहेका छन् ।

प्रदेश १ को ठूलो दल एमालेले अन्यतर्फ मोरङका गुरु बराललाई उम्मेदवार बनाएको छ । महिला कोटा तर्फ झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

पाँच दलीय सत्ता गठबन्धनबाट अन्य कोटामा गोपाल बस्नेत (नेपाली काङ्ग्रेस), महिला कोटामा जयन्ती राई (नेकपा एकीकृत समाजवादी) र अल्पसंख्यक कोटामा हेमराज राई (जसपा) उम्मेदवार बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य कोटामा अमरबहादुर बिष्ट, र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवार बनाएको छ । निर्वाचनका लागि बुधबार बिहान ९ बजेबाट मतदान शुरु हुने निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

एमालेलाई राप्रपा र गठबन्धनको आस

सत्ता बाहिर रहेको दल नेकपा एमाले आफ्ना उम्मेदवारलाई राप्रपाले सहयोग गर्ने आशामा छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ सांसद जीवन घिमिरले राप्रपाका उम्मेदवारले जित्ने अवस्था नभएकाले सहयोग गर्ने बताउँछन् । उनी आफ्ना दलका उम्मेदवारले चुनाव जित्ने दाबी गर्छन् । ‘हामी चुनाव जित्ने अवस्थामा छौं,’ उनले भने ।

राप्रपाले पनि अनौपचारिक रुपमा सहयोग गर्ने उनको दाबी छ । राप्रपा प्रदेश १ अध्यक्ष राम थापा भने केन्द्रको निर्देशन भन्दा दायाँबायाँ नहुने बताउँछन् । राप्रपाले प्रदेश १ मा आफ्ना उम्मेदवारबाहेक अन्यलाई मतदान नगर्ने थापाले बताए ।

‘हामीले आफ्ना उम्मेदवारलाई भोट हाल्छौं,’ उनले भने, ‘केन्द्रको निर्देशन भन्दा बाहिर जादैनौं ।’ एमालेलाई सहयोग गर्ने हल्ला निराधार भएको उनको भनाइ छ ।
सत्ता गठबन्धन आफ्नो भोट सुरक्षित गर्ने प्रयासमा छ । एमालेले गठबन्धनका मतदाताबाट आश गरेको छ । मतभार अन्तर थोरै भएका कारण दुवै पक्षलाई अन्तरघातको डर छ ।

नेकपा एमालेभित्र १० बुँदे पक्षधर पेलिएका छन् । जिल्ला अधिवेशनमा पनि पेलिएको महसुस गरेको समूहले अन्तर्घात गर्ने डर एमाले नेतृत्वलाई छ । सत्ता गठबन्धनमा पनि अन्तर्घातको डर छ ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो गठबन्धनबाट अन्तर्घातको सम्भावना नरहेको दाबी गर्छन् । ‘हामी मतदानको तयारीमा छौं,’ उनले भने,‘ निर्वाचनका बेला यस्ता (अन्तर्घात) हल्ला आउँछन्, तर गठबन्धन एक ढिक्का छ ।’

नेकपा एमालेको आफ्नै मतदाता मतदानमा सहभागी नहुने सम्भावना छ । एमाले प्रदेश सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा दोषी ठहर भएका कारण फरार छिन् ।

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दामा दोषी ठहर भएकी सांसद खातुनलाई २०७६ पुस ९ गते उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला सुनाएको थियो । फैसलापछि उनी सम्पर्कविहीन छिन् । पक्राउ पर्ने भएकाले उनी मतदानमा सहभागी हुने अवस्था कम छ ।

विराटनगरकी उपमेयर आउने सम्भावना कम

निर्वाचनमा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की सहभागी नहुने सम्भावना छ । टाउकोको जटिल शल्यक्रिया गरेकी कार्की मेडिसिटी अस्पताल काठमाडौंँबाट सोमबार मात्रै डिस्चार्ज भएकी छन् । उनी काठमाडौंस्थित घरमा आराम गरिरहेकी छन् ।

उपमेयर कार्की मतदान प्रक्रियामा सहभागी हुने सम्भावना कम रहेको विराटनगरका मेयर भीम पराजुलीले बताए । ‘उहाँको भर्खरै डिस्चार्ज भएको छ, काठमाडौँ घरमा आराम गरिरहनुभएको छ,’ मेयर पराजुलीले भने, ‘स्वास्थ्यका कारण मतदानमा सहभागी हुने सम्भावना धेरै कम छ ।’

यस्तो छ अंक गणित

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

९२ प्रदेशसभा सदस्यको मतभार ४ हजार ४१६ छ । २७२ स्थानीय तह प्रमुख र उपप्रमुखको मतभार ४ हजार ८९६ छ । प्रदेश १ मा ३ सय ६४ मतदाताको जम्मा मतभार ९ हजार ३१२ हुनेछ ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ छ । एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले पछाडि छ ।

एक सांसद र चार प्रमुख/उपप्रमुख रहेको राप्रपासँग १ सय २० मतभार छ ।

प्रदेश १ मा ९६ प्रमुख/उपप्रमुख र २१ प्रदेश सांसद रहेको कांग्रेसको कुल मतभार २ हजार ७३६ छ ।

१५ जना प्रदेश सभा सदस्य र १६ प्रमुख/उपप्रमुख रहेको नेकपा माओवादी केन्द्रको मतभार १ हजार ८ छ । १० सांसद र १० प्रमुख उपप्रमुख रहेको नेकपा (एकीकृत समाजवादी) को मतभार ६६० छ ।

३ सांसद र चार प्रमुख/उपप्रमुख रहेको जनता समाजवादी पार्टीको मतभार २१६ छ । सत्ता गठबन्धनको सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक सांसद अर्थात ४८ मतभार छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?